+
+
Shares

बक्यौता ऋणी संख्या घटेपछि लघुवित्तहरूको नाफा बढ्यो ३२ प्रतिशत  

२०८१/८२ मा कर्जाको साँवा–ब्याज भुक्तानी गर्न नसक्ने लघुवित्त क्षेत्रका ऋणी संख्या ६ लाख २४ हजार जनामा झरेको छ । अघिल्लो आव यस्तो संख्या ६ लाख ८९ हजार थियो ।  

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते १८:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गत आर्थिक वर्ष २०८१/८२ मा लघुवित्त क्षेत्रका डिफल्ट ऋणी संख्या ६ लाख २४ हजारमा झरेको छ।
  • लघुवित्त क्षेत्रले गत आव ८ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा गरेको छ, जुन अघिल्लो आवभन्दा ३२ प्रतिशत बढी हो।
  • गत आव लघुवित्त क्षेत्रको कुल बचतकर्ता संख्या ६१ लाख ८४ हजार पुगेको छ र कुल बचत रकम १ खर्ब ९९ अर्ब ७५ करोड रुपैयाँ छ।

१० भदौ, काठमाडौं । लघुवित्त क्षेत्रको असुलीमा सुधार आएको छ । गत आर्थिक वर्ष लघुवित्त क्षेत्रमा समयमै कर्जा भुक्तानी गर्न नसक्ने ऋणी संख्या घटेसँगै नाफामा देखिएको सुधार हेर्दा असुली बढेको देखिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आव २०८१/८२ मा कर्जाको साँवा–ब्याज भुक्तानी गर्न नसक्ने लघुवित्त क्षेत्रका ऋणी संख्या ६ लाख २४ हजार जनामा झरेको छ । अघिल्लो आव यस्तो संख्या ६ लाख ८९ हजार थियो ।

गत आव डिफल्ट ऋणी संख्या घटेसँगै लघुवित्त क्षेत्रको नाफामा पनि उच्च सुधार आएको छ । गत आव लघुवित्तहरूले ८ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा गरेका छन् । यो नाफा अघिल्लो आव २०८०/८१ को तुलनामा ३२ प्रतिशत धेरै हो ।

अघिल्लो आव लघुवित्तहरूले कुल ६ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा गरेका थिए । लघुवित्तको कर्जा नोक्सानी व्यवस्थामा आएको कमीसँगै डिफल्ट ऋणी घटेर नाफामा सुधार आएको हो ।

कोरोना महामारी लगत्तै आर्थिक मन्दीका कारण सर्वसाधारणको आम्दानीमा गिरावट आएपछि ग्रामीण भेगमा वित्तीय सेवा प्रदान गर्ने लघुवित्त वित्तीय संस्थाहरूमा समेत समस्या बढेको थियो ।

अर्थतन्त्रमा देखिएको समस्याको असरले २०७९/८० मा लघुवित्तको नाफा पौने ५ अर्बसम्म झरेको थियो । त्यसभन्दा अघिल्लो वर्ष लघुवित्तको खुद नाफा १२ अर्बभन्दा माथि थियो ।

एउटै व्यक्तिले बैंक, विकास बैंक, फाइनान्स, लघुवित्त र सहकारीबाट कर्जा लिने अभ्यासले लघुवित्त र सहकारीलाई धेरै असर गरेको हो । त्यसको असर अझै पनि पूर्ण समाधान हुन सकेको छैन । लघुवित्त क्षेत्रमा देखिएको समस्याका सन्दर्भमा केन्द्रीय बैंकले अध्ययन नै गरेर सुधार कार्यक्रम अघि बढाउँदै आएको छ । त्यसले पनि यस क्षेत्रको असुलीमा सुधार देखिएको हो ।

गत आव लघुवित्तको पुरानो कर्जा नोक्सानी व्यवस्था फिर्तासँगै कर्जा नोक्सानी व्यवस्था रकम घटेपछि नाफामा सुधार आएको हो । गत आव लघुवित्तको कुल कर्जा नोक्सानी व्यवस्था बापत रकम २६ अर्ब ३१ करोड रुपैयाँ छ । अघिल्लो आव यस्तो रकम २६ अर्ब ९७ करोड थियो ।

गत आव लघुवित्तहरूको कर्जा नोक्सानी व्यवस्थाबाट फिर्ता भएको रकम २२ अर्ब ३८ करोड छ । यसले पनि नाफामा सुधार आउनमा महत्त्वपूर्ण योगदान गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा भने थोरै हो । अघिल्लो आव यस्तो रकम २४ अर्ब ५९ करोड थियो ।

गत आव जोखिम व्यवस्था रकम फिर्ता उच्च हुँदा कर्जा नोक्सानी बढाउन नपर्ने तथा ब्याज आम्दानीमा आएको सुधारले समग्र क्षेत्रकै नाफा बढेको हो । गत आव बैंक तथा वित्तीय संस्थाको कर्जा ब्याजदर समेत एकल अंकमा झरेको थियो । कर्जाको ब्याजदर घट्दा लघुवित्त क्षेत्रको नाफामा सुधार आएको हो ।

लघुवित्तले परिचालन गर्ने स्रोत भनेको बैंक तथा वित्तीय संस्था नै हुन् । वित्तीय क्षेत्रको ब्याजदरमा आएको परिवर्तनले पनि लघुवित्तको आम्दानी प्रभाव पर्छ ।

गत आव लघुवित्त क्षेत्रको कुल ब्याज आम्दानी ६२ अर्ब ७९ करोड छ । उक्त अवधिमा लघुवित्तको ब्याज खर्च ३१ अर्ब ५१ करोड बराबर छ । अघिल्लो आव लघुवित्तको ब्याज आम्दानी ५८ अर्ब ८३ करोड थियो ।

गत आव लघुवित्त क्षेत्रका ऋणी संख्यामा समेत सुधार आएको छ । गत आव लघुवित्त क्षेत्रको कुल ऋणी संख्या २७ लाख ६ हजार पुगेको छ । अघिल्लो आव २६ लाख ६३ हजार थियो । लघुवित्त क्षेत्रमा समस्या देखिएपछि ऋणी संख्या समेत घटेको थियो । तर, पछिल्लो समय ऋणी संख्यामा समेत देखिएको सुधारले लघुवित्त क्षेत्र सुधारोन्मुख छ भन्ने स्पष्ट हुन्छ ।

राष्ट्र बैंकका अनुसार गत आवसम्म लघुवित्त क्षेत्रका कुल बचतकर्ता संख्या ६१ लाख ८४ हजार पुगेको छ । अघिल्लो आव ६० लाख १५ हजार मात्रै थियो ।

गत आव लघुवित्तको बचतकर्ताको कुल बचत रकम १ खर्ब ९९ अर्ब ७५ करोड रुपैयाँ छ । यो रकम अघिल्लो आवको तुलनामा करिब २२ अर्ब धेरै हो । अघिल्लो आव यस्तो बचत १ खर्ब ७७ अर्ब थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?