+
+
Shares
कर्णाली प्रदेश कमिटीलाई प्रचण्डको भर्चुअल सम्बोधन :

पार्टीभित्र द्वन्द्व सिर्जना गर्ने षडयन्त्र भइरहेको छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते ९:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेश कमिटीका नेता–कार्यकर्ताहरुलाई पार्टी एकता र संगठन विस्तारमा केन्द्रित हुन निर्देशन दिनुभयो।
  • प्रचण्डले माओवादीको बढ्दो लोकप्रियताले प्रतिक्रियावादी र दलालहरूलाई आतंकित बनाएको र पार्टीभित्र द्वन्द्व सिर्जना गर्ने षडयन्त्र भइरहेको बताउनुभयो।
  • उहाँले स्थानीय तह, स्ववियु, पत्रकार महासंघ र नेपाल पर्वतारोहण संघको निर्वाचनमा माओवादी निकट उम्मेदवारहरूको विजयलाई जनविश्वासको प्रतीकको रूपमा लिनुपर्ने उल्लेख गर्नुभयो।

११ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुट–उपगुटमा नलागी पार्टी एकता र संगठन विस्तारमा केन्द्रित हुन कर्णाली प्रदेश कमिटीका नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

माओवादीप्रति जनताको भरोसा पुन: बढ्दो क्रममा रहेकाले पार्टीभित्र द्वन्द्व सिर्जना गर्ने षडयन्त्र भइरहेको बताए ।

कर्णाली प्रदेश कमिटीको पूर्ण बैठकलाई भर्चुअल माध्यमबाट बुधबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘माओवादीको बढ्दो लोकप्रियताले प्रतिक्रियावादी र दलालहरूलाई आतंकित बनाएको छ । त्यसैले पार्टीभित्र द्वन्द्व सिर्जना गर्न विभिन्न षड्यन्त्रहरू भइरहेका छन् ।’

उनले थपे, ‘गुटबन्दी, अराजकता र अनुशासनहीनताको अन्त्य गर्दै पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने स्पष्ट संकल्प स्थायी समितिले गरिसकेको छ । तपाईंहरुले आफ्नो क्षेत्रमा पनि त्यसैअनुसार गर्नुहोला ।’

पछिल्ला विभिन्न निर्वाचनहरूमा कांग्रेस र एमाले मिल्दा समेत माओवादी केन्द्र निकट उम्मेदवारहरू जितेको भन्दै उनले त्यसलाई जनविश्वास पुन: प्राप्त हुँदै गएको उदाहरणको रुपमा ब्याख्या गरे ।

स्थानीय तह, स्ववियु, पत्रकार महासंघ र हालै सम्पन्न नेपाल पर्वतारोहण संघको निर्वाचनमा माओवादी केन्द्र निकट उम्मेदवारहरूको विजयलाई जनविश्वासको प्रतीकको रूपमा लिनुपर्ने प्रचण्डले बताए ।

शिक्षा विधेयक लगायत विभिन्न राष्ट्रिय मुद्दामा माओवादी केन्द्रले लिएको अडानले जनस्तरमा सकारात्मक सन्देश पुगेको उल्लेख गर्दै उनले विशेषत: शिक्षक समुदायमा माओवादी केन्द्रप्रति समर्थन बढेको जिकिर गरे । ‘कांग्रेस र एमालेको गलत सोचको विरुद्धमा हामीले लिएको अडानका कारण लाखौँ शिक्षकहरूले समर्थन देखाएका छन्,’ उनले भने ।

प्रचण्डले वाईसीएल, विद्यार्थी संगठन लगायत जनवर्गीय संगठनहरूलाई श्रम र उत्पादनसँग जोड्न गरिएको प्रयास सफल भइरहेको दाबी गर्दै संगठन विस्तारलाई अझ तीव्र बनाउनु पर्नेमा जोड दिए । ‘अब घर–घरमा पुग्ने, टोल–टोलमा संगठन निर्माण गर्ने कार्यलाई तीव्र बनाउनु पर्छ,’ उनले भने ।

अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशका नेता–कार्यकर्ताहरुलाई पनि पार्टी एकता र संगठन विस्तारमा अग्रसर हुन निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?