+
+
Shares

प्रचण्डले किन दिइरहेछन् माओवादीबाट बिचौलिया लखेट्ने अभिव्यक्ति ?

माओवादीमा युद्धकालमा जस्तै अहिले पनि बिचौलियाले खेलेको, दलाल पूँजीवादीसँग उठबस रहेको, प्रतिक्रियावादी र विदेशी शक्तिको आडमा उचालिएको जस्ता आरोप लगाउने अभ्यासले निरन्तरता पाएको छ ।

सुदर्शन खतिवडा सुदर्शन खतिवडा
२०८२ भदौ ११ गते ८:०७

११ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार पार्टीका कतिपय नेताहरू दलाल पूँजीवाद, बिचौलिया र चन्दा प्रवृत्तिमा फसिरहेको आरोप लगाए ।

आइतबार पार्टी मुख्यालयमा आर्थिक उत्पादन विभागको बैठकमा प्रचण्डले भने, ‘हाम्रो पार्टीका कतिपय नेताहरू शान्ति प्रक्रियामा आइसकेपछि समाजवादी बन्नुपर्नेमा बिचौलिया टाइपका, दलाल टाइपका बनेका कारण त्यस्तो प्रवृत्तिले पार्टीलाई कमजोर बनाइरहेको छ । अब पार्टीका हरेक सदस्यले सोच र शैली दुवैमा आमूल परिवर्तन गर्नैपर्छ ।’

उनले थप अगाडि बढेर भने, ‘दलाल, नोकरशाही र बिचौलियासँग सम्बन्ध राख्नेहरूलाई माओवादी केन्द्रमा धेरै दिन स्थान छैन । त्यस्ता प्रवृत्ति लामो समय माओवादी पार्टीमा रहिरहन सक्दैन ।’

पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङलाई पार्टी राजनीतिमा फर्काएपछि प्रचण्डले यही विभागको जिम्मेवारी दिएका छन् । उनैलाई छेउमा राखेर उनले ‘दलाल, नोकरशाही र बिचौलियासँग सम्बन्ध राख्नेहरूलाई पार्टीमा बस्न नदिने’ धम्की दिए पनि ती को हुन् भनेर खुलाएनन् ।

यद्यपि पछिल्ला विवादका शृंखला जोड्ने हो भने प्रचण्डको अभिव्यक्ति पार्टीका उपमहासचिव जनार्दन शर्मा प्रभाकर लक्षित हो भनेर निष्कर्ष निकाल्नु कुनै गल्ती हुँदैन । आजकल हरेक मञ्चमा दुई नेताहरू बीच घोचपेच चलिरहेकै हुन्छ ।

केही हप्ताअघि जनार्दन शर्माले प्रचण्ड सहितकै मञ्चबाट सोधे, ‘सिकाउनु पर्‍यो नि त मलाई षड्यन्त्र गर्न ? तालिम दिनुपर्‍यो नि त मलाई षड्यन्त्र गर्न ? (ताली र जयजयकार) मुखमा रामराम बगलीमा छुरा गर्न सिकाउनु पर्‍यो नि त मलाई !’

उनले अगाडि थपे, ‘कार्यकर्तालाई सोध्नु न मैले भनेको छु कहिल्यै ? प्रचण्डको कुरा कहीं नराम्रो सुन्नुभएको छ ? दाबी गरेर मलाई प्रमाणित गर्न कसैले सकेको छैन । म चुनौती दिन्छु अहिले पनि कसैले साबित गर्छ भने …’

जवाफमा प्रचण्डले भने, ‘कमरेड प्रभाकरले नि ममाथि अत्याचारका अत्याचार भनिराख्न जरूरी छैन । तपाईंले बहस गरेर राम्रै भयो ।’

उनले चेतावनीपूर्वक थपे, ‘प्रचण्डको अगाडि पर्दा सबैले मिठा र राम्रा कुरा गर्ने, हाम्रो महान् नेतृत्व भन्ने, कोठाबाट निक्लेर गएपछि धारे हात लगाउने संख्या बढेको छ । मलाई त्यो थाहा हुन्थ्यो । को कोले के के गरिराख्या छन् थाहा नहुने भन्ने कुरा हुँदैन ।’

अर्को कार्यक्रममा प्रचण्डको सचिवालयबाटै जनार्दनले पार्टी फुटाउन खोज्यो भनेर प्रचार भइरहेको आरोप जनार्दनले लगाए । ‘पार्टी फुटको प्रचार भयो भनेर मैले जहाँ भनिरहेको छु, त्यही ठाउँबाट त्यही वरिपरिबाट हेडक्वार्टरकै वरिपरिबाट भा’छ । सिधै कुरा छ मेरो । उहाँको भूमिका कति छ/छैन त्यो उहाँले भन्नुहोला ।’

उनले प्रश्न गरे, ‘तपाईंहरूले मलाई दलाल जस्तो देख्नुहुन्छ ? भन्नुस् । म दलाल जस्तो छु ? म यो पार्टी फुटाउने जस्तो देख्नुहुन्छ तपाईंले ?’

जवाफमा प्रचण्डले भने, ‘मेरो सचिवालयमा बस्नेहरूले बढी प्रचार गरे भन्ने छ । त्यसको पनि अध्ययन गरौं । हामी अध्ययनको लागि अनुसन्धानको लागि तयार छौं ।’

उनले थपे, ‘अहंकारतिर लाग्न चाहिं हुँदैन । म यस्तो छु, म त्यस्तो छु भन्न थालियो भने …।’

आरोप–प्रत्यारोपको शृंखलाले यो हप्ता पनि निरन्तरता पायो ।

बुधबार प्रचण्डले देशको राजनीतिको खाँबो आफूले छाडे गर्ल्यामगुर्लुम भत्किहाल्छ कि जस्तो लाग्ने गरेको बताए ।

‘हुनत म अहिले सरकारको नेतृत्वमा पनि छैन, प्रमुख प्रतिपक्ष दलको नेता छु’ उनले भने, ‘तर यस्तो लाग्छ– देशको राजनीतिको खाँबो मैले छोडिदिएँ भने भत्किहाल्छ कि जस्तो पनि लाग्छ । गर्ल्यामगुर्लुम ढल्ने हो कि जस्तो लाग्छ र पूरै जिम्मा मेरै काँधमा भए जस्तो ।’

उपमहासचिव जनार्दन शर्मा प्रभाकर

विरोधी पार्टीका नेताहरूबाट प्रचण्ड अभिव्यक्तिको आलोचना हुनुअगावै शनिबार जनार्दनले सार्वजनिक मञ्चबाटै प्रचण्डलाई जवाफ दिए– ‘शेषनागले पृथ्वी बोक्ने कुरा दन्त्य कथा भइसक्यो !’

‘शेषनागले कहीं पृथ्वी बोकेको पनि छैन । शेषनागले पृथ्वी बोकेको पनि हुँदैन । त्यो त दन्त्य कथा हो । शेषनागले पृथ्वी बोकेको छ, त्यसले यसो हल्लाइदियो भने भूकम्प आउँछ भन्ने त दन्त्यकथा हो’ शर्माले भनेका छन्, ‘आज त विज्ञानले अर्कै पुष्टि गरिसक्यो । त्यसकारणले यो पृथ्वी चल्छ, केही ढल्दैन ।’

अघि बढेका जनार्दन

साउनको तेस्रो हप्ता चलेको माओवादीको स्थायी समितिको बैठकमा जनार्दनले पार्टी पुनर्गठन, नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको कुरा उठाए । उनलाई आत्मालोचित हुन पार्टी अध्यक्ष प्रचण्डले नै निर्देशन दिएका छन् । तर जनार्दनको जवाफ छ, ‘जसले गल्ती गरेको छ उसले आत्मालोचना गर्छ ।’

पार्टीभित्र अराजकता मच्चाएको आरोप लागेका जनार्दनले भने, ‘म आलोचित हुन तयार छु । पार्टी पुनर्गठित, नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको कुरा उठाएबापत म जे कारबाही भोग्नुपर्छ तयार छु ।’

यतिमै नरोकिएका उनले प्रश्न गरे– ‘तर, ३१ लाख भोटबाट ११ लाख भोटमा पार्टीलाई सीमित गर्ने नेतृत्व आलोचित हुनुपर्छ कि पर्दैन ?’

झन्डै चार दशकदेखि पार्टी सत्ताको नेतृत्व गर्दै आएका प्रचण्डले भने माओवादीलाई कमजोर बनाउन प्रतिक्रियावादीहरूले अनेक षड्यन्त्र र जालझेल गरिरहेको आरोप लगाए । सधैं झैं प्रचण्डले भयको खेतीपाती गर्दै भने, ‘प्रतिक्रियावादीहरू माओवादी फुटाउन ज्यान फालेर लागेका छन् । पार्टीलाई एकताबद्ध गर्न नसके प्रतिक्रियावादीले प्राप्त उपलब्धिलाई समेत उल्ट्याउने खतरा छ ।’

खुल्लमखुला घोचपेच र आरोप–प्रत्यारोप अद्यापि जारी छ । न जनार्दनले आत्मालोचना गरे, न माओवादी संस्थापनले उनलाई कारबाही गर्न सक्यो ।

जनार्दनले कोशी, कर्णाली र सुदूरपश्चिमको आफूपक्षीय भेला सकिसकेका छन् भने ललितपुरको बखुण्डोलमा रहेको सम्पर्क कार्यालयबाट आफ्नो समूहको गतिविधि बढाइरहेका छन् ।

प्रचण्ड–भयलाई चिरेर आक्रामक रूपमा गुटगत गतिविधि बढाइरहेको जनार्दन समूहले विद्यार्थी संगठन लगायत केही जनवर्गीय संगठनमा देखाएको नतिजाले संस्थापन झस्किएको अनुमान गर्न सकिन्छ ।

संस्कृति नै बनेको कम्युनिष्ट अभ्यास

कांग्रेसलाई कम्युनिष्टहरूले भारतीय दलाल भन्ने र कांग्रेसभित्रै पनि संस्थापनले प्रश्न उठाउनेलाई भारतीय दलाल र राजाको एजेन्ट भन्ने अभ्यास नयाँ नभएको माओवादी केन्द्रका नेता राम कार्की बताउँछन् ।

माओवादी केन्द्रका नेता राम कार्की

‘कम्युनिष्ट आन्दोलनमा करिब–करिब संस्कृति नै बनेको एउटा खराब प्रवृत्ति अलिकति मतभेद हुनासाथ आफ्नो विरोधमा उभिनेहरूलाई सीआईडी, विदेशबाट सञ्चालित एजेन्ट, दरबारिया आदि भन्ने आरोप लगाउने चलन रहेको छ’ उनले भने, ‘त्यसलाई प्रमाणित पनि गर्न नपर्ने, कहिलेकाहीं एकदम अप्ठ्यारो पर्‍यो भने त्यसलाई फिर्ता लिने तर त्यतिबेलासम्म आरोप लाग्नेको चरित्रहत्या भइसकेको हुन्छ ।’

उनले थपे, ‘खुकरीले हान्ने, तर चोट लागिसकेपछि सरी भनेर के गर्नु ? चोट लागिसकेको हुन्छ !’

वैचारिक रूपमा असहाय हुँदा त्यसको प्रतिरोध गर्नुको सट्टा हल्काफुल्का आरोप लगाउने पुरानै अभ्यासलाई पार्टीहरूभित्र देखिएको कचिङ्गलले थप बाहिर ल्याएको नेता कार्की बताउँछन् ।

‘नेपालका सबै पार्टीहरूमा कचिङ्गल देखिएको र यसरी पार्टीभित्रको अन्तरविरोध बाहिर आएको हो । तर त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने उपाय कसैसँग छैन । त्यसैले सनातनी कुरा गरेर बसिरहेका छन्’, उनले भने ।  नेता कार्की प्रश्न गर्नेलाई रकमी र मर्यादाहीन खालका आरोप लगाउने अभ्यास कम्युनिष्टहरूको संस्कृति नै बनिसकेको बताउँछन् ।

पुष्पलालबाट अलग भएपछि मोदनाथ प्रश्रित, मदन भण्डारी लगायत रहेको मुक्ति मोर्चा समूहले पनि अत्यन्त मर्यादाहीन खालका आरोप लगाएको उनले बताए ।

कम्युनिष्ट आन्दोलनका सिद्धान्तकार मोहनविक्रम सिंहले पनि निर्मल लामा, पुष्पलाल श्रेष्ठ र झापा संघर्षसँग जोडिएकालाई ‘गद्दारदेखि सीआईएको एजेन्टसम्म हुनसक्ने कुरालाई अस्वीकार गर्न सकिंदैन’ जस्ता अभिव्यक्ति दिएको विगत कार्की स्मरण गर्छन् ।

युद्धकालमा पनि उस्तै

माओवादी युद्धकालमा पनि विदेशीको एजेन्ट र अझ भारतपरस्तको आरोप लगाउने प्रचलन रहेको एक माओवादी नेता बताउँछन् । पार्टीभित्र प्रश्न उठाउने रामबहादुर थापा बादललाई ‘लिनप्याओवादी’ भनिएको प्रसंग माओवादीका दस्तावेजहरूमा उल्लेख छन् ।

मूल विषयलाई विषयान्तर गर्ने अथवा ओझेल पार्ने, प्रश्न गर्ने र फरक मत राख्नेलाई कुनै सिद्धान्तको जामा लगाएर हमला गर्नुका साथै अन्तत: पार्टीबाट निकाल्ने अभ्यास कम्युनिष्ट पार्टीमा पहिलेदेखि चल्दै आएको उदाहरण प्रशस्तै छन् ।

‘पछि रणनीतिक प्रत्याक्रमण भनिने चरणमा माओवादीका केही नेताहरू भारतमा पक्राउ परे’ ती नेताले भने, ‘त्यतिबेला पक्राउ पर्नेहरू सबै प्रचण्ड पक्षका मात्र परेको भन्दै डा. बाबुराम भट्टराई समूहका नेताहरू देवेन्द्र पौडेल लगायतलाई रअसँग मिलेर पक्राउ गराएको आरोप लगाइयो ।’

यस्ता आरोपहरूलाई खुल्लमखुला पार्टी नेतृत्वकै योजना र आडमा पार्टीपंक्तिभित्र सकेजति प्रचार गर्ने र प्रशिक्षण नै सञ्चालन गर्ने अभ्यास गरिएको उनी सम्झिन्छन् ।

खासमा त्यतिबेला तत्कालीन राजासँग मिलेर लोकतन्त्रका लागि लडिरहेका दलहरूलाई तह लगाउने कि दलहरूसँग मिलेर राजतन्त्र विरुद्ध लड्ने भन्ने बहस मूल थियो । शुरुमा भारतपरस्त र दरबारपरस्त भन्दै माओवादी पंक्ति नै दुई कित्तामा विभाजित भयो ।

‘अन्तत: लोकतान्त्रिक गणतन्त्रको पक्षमा पार्टी उभियो र १२ बुँदे समझदारी हुँदै संविधानसभाको निर्वाचनमा देश गयो’, उनले भने ।

युद्धकालमा जस्तै अहिले पनि बिचौलियाले खेलेको, दलाल पूँजीवादीसँग उठबस रहेको, प्रतिक्रियावादी र विदेशी शक्तिको आडमा उचालिएको जस्ता आरोप लगाउने अभ्यासले निरन्तरता पाएको छ ।

मूल विषयलाई विषयान्तर गर्ने अथवा ओझेल पार्ने, प्रश्न गर्ने र फरक मत राख्नेलाई कुनै सिद्धान्तको जामा लगाएर हमला गर्नुका साथै अन्तत: पार्टीबाट निकाल्ने अभ्यास कम्युनिष्ट पार्टीमा पहिलेदेखि चल्दै आएको उदाहरण प्रशस्तै छन् ।

संक्रमणकालीन न्याय सम्बन्धी काममा तीनवटै शीर्ष नेता केपी ओली, शेरबहादुर देउवा र प्रचण्डसँग नियमित अन्तरक्रिया गरिरहेका एक नेता भन्छन्, ‘७० कटेका हाम्रा शीर्ष नेतामा आलोचना होइन चाकरी खोज्ने प्रवृत्ति देखिन्छ ।’

प्रचण्ड नेतृत्व विरुद्ध चुनौती

एकै व्यक्ति कहिलेसम्म नेतृत्वमा रहिरहने ? पार्टीभित्र सबै शक्ति एकै व्यक्तिमा केन्द्रीकरण गर्दा कसरी नेतृत्व तानाशाहमा बदलिन्छ ? जस्ता प्रश्न युद्धकै बेला पनि उठेकै थियो । त्यहीबेला २१औं शताब्दीको जनवाद नामक दस्तावेजमा पार्टी, सत्ता र सेनाको नेतृत्व एकै व्यक्तिले गर्न नहुने र तीन निकायमा नेतृत्व अदलीबदली गर्नुपर्ने सहमति भएको थियो ।

त्यहीबेला डा. बाबुराम भट्टराईले सत्ता (जनसरकार) को नेतृत्व गर्दा प्रचण्डले पार्टी र सेनाको नेतृत्व गरेका थिए ।

डा. बाबुराम भट्टराई

माओवादीको चर्चित धोबीघाट गठबन्धनले पनि प्रचण्डको नेतृत्वलाई चुनौती दिएको थियो । प्रचण्डविरुद्ध बाँकी शीर्ष नेता एकजुट हुँदा सत्ताको नेतृत्व छोड्न प्रचण्ड तयार भएसँगै बाबुराम प्रधानमन्त्री बनेका थिए ।

बाबुरामले नयाँ शक्ति बनाउनुअघि पनि नेतृत्व हस्तान्तरण बारे चर्चा चलेका थिए । माओवादी स्रोतका अनुसार, अन्तिम समयमा प्रचण्डले बाबुरामलाई बोलाएर भने, ‘पार्टी सत्ता (नेतृत्व) हस्तान्तरण गर्न साथीहरूले मान्नुभएन । तपाईंलाई मान्ने देखिएन । हामी आ–आफ्नो बाटो लागौं ।’

यही शृंखलालाई जोड्दै माओवादीका शीर्ष नेताहरू छिन्नभिन्न भइसकेपछि लामो समयपछि जनार्दनले प्रचण्डमाथि खुल्लमखुला नेतृत्व छाड्न चुनौती दिइरहेका छन् ।

पार्टीभित्र प्रतिस्पर्धी देखिनसक्ने अभ्यास

राजनीतिक विश्लेषक कृष्ण पोखरेल पछिल्लो समय राजनीतिक पार्टीहरूभित्र आन्तरिक प्रतिस्पर्धा कमजोर भएको उल्लेख गर्दै कुनै पनि पार्टीभित्र आफ्नो प्रतिस्पर्धीलाई नसहने अवस्था देखिएको टिप्पणी गर्छन् ।

‘उहाँ (प्रचण्ड) लाई पनि जनार्दनले मसँग प्रतिस्पर्धा गर्न खोजे भन्ने लागेको होला । त्यसैले उहाँले त्यस किसिमको अभिव्यक्ति दिएका हुनसक्छन्’ उनले भने ।

पार्टीभित्र ‘बिचौलिया, दलाल पूँजीपति र प्रतिक्रियावादीका एजेन्टहरू’ हुर्किएको कुराको जिम्मा प्रचण्डले पनि लिनुपर्ने उनको तर्क छ । ‘पार्टी सुप्रिमो भएपछि त त्यहाँ भएका नराम्रा, राम्रा कुराहरूको पनि केही न केही जिम्मेवारी त नेतृत्व पंक्तिको पहिलो मान्छेलाई नआउने कुरै हुँदैन’, उनले भने ।

यति गम्भीर आरोप लगाएपछि पार्टीमा सबै अधिकार लिएर बसेका प्रचण्डले कारबाही गर्नुको सट्टा धम्की दिएर बस्नु तर्साउने मात्र रणनीति भएको विश्लेषक पोखरेल बताउँछन् ।

‘त्यस्तो छ भने समयमै त्यसलाई पहिचान गरेर सुधार्नु पर्‍यो, होइन भने पार्टीबाट निकालेर कारबाही गर्नुपर्‍यो, तर्साउने भनेको एक खालको साम–दाम–दण्ड–भेदका नीति नेताहरू अपनाउँछन्, प्रचण्डले अपनाएको पनि त्यस्तै होला’, उनले भने ।

अर्का राजनीतिक विश्लेषक डा. सञ्जिव हुमागाईं प्रचण्डको अभिव्यक्तिलाई दुई फरक आयामबाट हेर्नुपर्ने बताउँछन् ।

‘माओवादीका कतिपय नेताहरू शान्ति प्रक्रियामा आइसकेपछि समाजवादी बन्नुपर्नेमा बिचौलिया र दलाल टाइपका बने भन्ने अभिव्यक्ति भित्र अहिलेको माओवादी संगठन र चरित्रमा नै समस्या छ भन्ने स्वीकारोक्ति लुकेको छ’ उनले प्रश्न गरे, ‘यसको जिम्मेवारी अरू नेता कार्यकर्ताले मात्रै लिएर पुग्छ ?’

उनी थप्छन्, ‘प्रचण्ड मात्रै होइन सबै शीर्षस्थ नेताहरूले आफ्नै पार्टी पंक्तिलाई विभाजित गर्ने अभिव्यक्ति दिन तत्काल छोड्नुपर्छ । पटक–पटक प्रधानमन्त्री भएको, झन्डै दुई दशकदेखि सदनमा बसेका नेताले कुनै निश्चित पात्र वा समूहलाई अपराधी करार गर्ने र आफूलाई पानीमाथिको ओभानु बनाउने राजनीतिक संस्कारलाई हामीले निरुत्साहित गर्नुपर्दछ ।’

राजनीतिशास्त्रका प्राध्यापक समेत रहेका हुमागाईं माओले राष्ट्रिय पूँजीपतिहरूलाई पनि सँगसँगै लगेर राष्ट्रिय एकता मार्फत नयाँ चीनको निर्माणको आधारशिला स्थापना गरेको सन्दर्भबाट नेपाली नेताहरूले पनि सिक्नुपर्ने तर्क गर्छन् ।

‘नेपालको आजको प्रमुख खाँचो राष्ट्रिय एकता हो । आफ्नै पार्टीमा एकता नभएका नेताहरूले सिङ्गो राष्ट्रलाई कसरी एकरूप बनाउन सक्छन् ?’ उनले प्रश्न गरे, ‘पार्टीभित्रकै फरक मतलाई सम्मान गर्न नसक्नेले विविधतापूर्ण देशको नेतृत्व कसरी गर्न सक्छन् ?’

लेखक
सुदर्शन खतिवडा

खतिवडा अनलाइनखबर डट कमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?