
१२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली १५ र १६ भदौमा चीनको त्यान्जिनमा आयोजना हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिएपछि १८ गते बेइजिङमा जापानी आक्रमण विरुद्ध विजयको ८०औं वार्षिकोत्सवको सैन्य परेडमा सहभागी हुँदैछन् ।
प्रधानमन्त्रीको यो निर्णयले नेपालको ठूलो विकास साझेदार मानिने जापानले कसरी लिन्छ भन्ने अहिले कूटनीतिक वृत्तमा चासो प्रकट भएको छ । नेपालको एउटा ठूलो विकास साझेदार मुलुकले चासो जनाइरहेको कार्यक्रममा ओलीको उपस्थितिले जापान चिढिनसक्ने चिन्ता प्रकट भइरहेको छ ।
जापानले यो परेडमा सहभागी नहुन यूरोपेली र एसियन मुलुकका सरकार प्रमुखहरुलाई कूटनीतिक रुपमा अनौपचारिक सन्देश पठाएका खबरहरु छन् ।
परराष्ट्र मन्त्रालयले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा ३ सेप्टेम्बरमा हुने यो परेडमा ओली सहभागी हुने उल्लेख छ । सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिने मुख्य उद्देश्य भए पनि ओली बेइजिङमा पुगेर दोस्रो विश्वयुद्धका क्रममा जापानको औपचारिक पराजयको सम्झनामा आयोजना हुने परेडमा समेत सहभागी हुन लागेका हुन् । नेपालको असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको देश हो ।
जापानको क्योदो न्यूजमा कूटनीतिक स्रोतलाई उद्धृत गर्दै सरकारले युरोपियन र एसियाली मुलुकलाई ३ सेप्टेम्बरमा बेइजिङमा आयोजना हुने सैनिक परेडमा सहभागी नहुन भनेको उल्लेख छ ।
‘जापानले आफ्ना विदेशस्थित दूतावासहरू मार्फत अन्य मुलुकलाई सूचित गर्यो कि चीनका कार्यक्रमहरूमा ‘जापान विरोधी भाव’ छन्, र नेताहरूको सहभागिताबारे सावधानीपूर्वक विचार गर्नुपर्छ’ समाचारमा भनिएको छ ।
समाचारमा चीनले सन् २०१५ मा युद्धको ७०औं वार्षिकोत्सवका अवसरमा सैन्य परेड आयोजना गर्दा राष्ट्रपति सी चिनफिङले युद्धपश्चात् जन्मिएका पुस्ताले ‘सही ऐतिहासिक दृष्टिकोण राख्नुपर्छ र इतिहासका पाठहरू मनन गर्नुपर्छ’ भनेको समेत उल्लेख छ ।
त्यसबेला यो टिप्पणी जापानी प्रधानमन्त्री शिन्जो आबेको वक्तव्यपछि आएको भनिएको छ । आबेले युद्धपश्चात् जन्मिएका पुस्ता पूर्वनिर्धारित रूपमा माफी मागिरहन बाध्य हुनुहुँदैन भनेका थिए ।
बेलायती अखबार द गार्डियनले पनि चीनको यो विजय परेडमा पश्चिमा राष्ट्रका प्रमुखहरु सहभागी नहुने भन्दै समाचार लेखेको छ । पश्चिमी दबाबका बीच भ्लादिमिर पुटिन र किम जोङ उन भने सैनिक परेडमा सहभागी हुने भनिएको छ ।
‘चिनियाँ विदेश मन्त्रालयका अनुसार, आगामी हप्तामा हुने परेडमा सहभागी २६ जना विदेशी राष्ट्र तथा सरकार प्रमुखमध्ये पश्चिमी नेताहरू हुने छैनन्’ समाचारमा भनिएको छ, ‘सूचीमा युरोपियन युनियनका सदस्य राष्ट्र स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोलाई मात्र अपवादस्वरूप समावेश गरिएको छ ।’
चिनियाँ सहायक विदेशमन्त्री होङ लेइले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा दोस्रो विश्वयुद्धमा जापानको औपचारिक आत्मसमर्पणको सम्झनामा आयोजना हुने परेडमा सहभागी हुने अन्य व्यक्तिहरूमध्ये बेलारुसका राष्ट्रपति अलेक्जान्दर लुकासेन्को, इरानका राष्ट्रपति मासुद पेझास्कियन, इन्डोनेशियाका राष्ट्रपति प्राबोवो सुबियान्तो र दक्षिण कोरियाको राष्ट्रिय सभाका सभामुख वु वोन–सिक हुने जानकारी दिएका थिए ।
जापानले यसमा सहभागितालाई लिएर प्रश्न उठाएपछि चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नियमित पत्रकार सम्मेलनमा जापानको प्रतिक्रियालाई ध्यानमा राखिएको भन्दै त्यसबारे विरोध गर्दै स्पष्टीकरण सोधिएको भनेका छन् ।
‘कार्यक्रमको उद्देश्य इतिहासलाई सम्झनु, शहीदहरुलाई सम्मान गर्नु, शान्तिलाई कदर गर्नु र उज्ज्वल भविष्यतर्फ अघि बढ्नु हो’ उनले भनेका छन्, ‘इतिहासलाई इमानदारी र सत्यतापूर्वक सामना गर्ने, इतिहासबाट सिक्ने र साँच्चिकै शान्तिपूर्ण विकासमा समर्पित हुने देशहरुलाई यी कार्यक्रममा कुनै शंका हुँदैन वा आपत्ति जनाउँदैनन् ।’
विगतका वर्षहरूमा चीनमा आयोजित परेडमध्ये यो सबैभन्दा ठूलो र अत्यन्तै योजनाबद्ध हुनेछ । यसमा लडाकु विमान, क्षेप्यास्त्र रक्षा प्रणाली र हाइपरसोनिक हतियार जस्ता अत्याधुनिक उपकरण समेत प्रदर्शन गरिने भनिएको छ ।
सन् १९३० र ४० को दशकमा जापानसँगको लामो युद्धका क्रममा लाखौं चिनियाँ नागरिक मारिएका थिए । १९४१ मा टोकियोले पर्ल हार्बरमा आक्रमण गरेपछि यो युद्ध विश्वव्यापी द्वन्द्वको हिस्सा बनेको थियो । पछि जापानको पराजयको सम्झनामा चिनियाँ कम्युनिष्ट पार्टीले भव्य कार्यक्रम गर्दै आएको छ ।
राष्ट्रपति पौडेलले गरेका थिए अस्वीकार
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सुरुमा यो कार्यक्रममा सहभागी हुनका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध आएको थियो । तर जापानको असन्तुष्टिको संकेत पाएपछि राष्ट्रपति पौडेल चीन भ्रमण जान तयार भएनन् । उनी यो कार्यक्रममा नजानुको अर्को कारण थियो, २०७९ मंसिरमा तत्कालीन कांग्रेस वरिष्ठ नेताको हैसियतमा पौडेललाई जापानमा पाएको राजकीय सम्मान ।
उनलाई जापान सरकारले जापानी सम्राट मेइजिले सुरु गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ दिएको थियो । जापान सरकारबाट उच्च सम्मान थापेको व्यक्ति जापान विरुद्धको विजय परेडमा अतिथिको रुपमा जानु नैतिक रुपमा पनि ठीक नहुने ठानेर उनी भ्रमणमा जान अनिच्छुक भए ।
त्यसपछि उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई लैजाने कि भन्ने चीनबाट कोसिस भएको थियो । तर त्यही बीचमा सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन बैठक तय भयो । उक्त बैठकमा सुरुमा त राष्ट्रपति पौडेल नै जाने कि भन्ने कुरा पनि उठेको थियो ।
तर राजकीय भ्रमण नगरी कुनै कार्यक्रममा मात्र सहभागी हुन राष्ट्रपति जानु ठीक नहुने भन्ने निष्कर्ष निस्केपछि प्रधानमन्त्री ओली नै जाने तय भयो । उक्त सम्मेलनकाे लगत्तै विजय परेड हुने भएकाले ओली त्यहाँ जान पनि तयार भए ।
एससीओ प्लस शिखर सम्मेलनको उद्घाटन चिनियाँ राष्ट्रपति सीले गर्दैछन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य मुलुकका सरकार तथा राष्ट्रप्रमुख समेत उपस्थित हुनेछन् ।
मन्त्रालयका अनुसार, त्यसक्रममा ओलीले चिनियाँ राष्ट्रपति सीसँग अलग्गै भेटवार्ता समेत गर्नेछन् । १७ भदौमा उनले तिआन्जिनमा आयोजना हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन समेत गर्नेछन् ।
त्यसक्रममा उनले विभिन्न मुलुकका नेताहरुसँग समेत भेटवार्ता गर्ने कार्यक्रममा छ । सोही क्रममा उनले चीनका उपराष्ट्रपति हान झेङसँग समेत भेटवार्ता गर्नेछन् । भेटवार्ता सकेपछि १८ गते बेइजिङको परेडमा ओली सहभागी हुनेछन् ।
भ्रमण टोलीमा शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद् छविलाल विश्वकर्मा सहितका उच्च अधिकृतहरु समेत रहेनछन् । चीनबाट फर्किएलगत्तै प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने तयारी छ ।
सैनिक परेडमा हुनेछन् किम र पुटिनसँगै २६ विदेशी नेता
चीनमा हुने यो परेडमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तरकोरियाका सर्वोच्च नेता किम जोङ उन लगायत २६ जना विदेशी पाहुना सेप्टेम्बर ३ मा हुने सैनिक परेडमा सहभागी हुँदैछन् ।
चिनियाँ परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार रूसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि यस कार्यक्रममा सहभागी हुनेछन् ।
चिनियाँ अधिकारीहरूका अनुसार यस कार्यक्रममा २६ विदेशी नेताहरूले भाग लिनेछन्। ती नेताहरूमा टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगान, इन्डोनेसियाका राष्ट्रपति प्रबोभो सुबियान्तो, मलेसियाका प्रधानमन्त्री अन्वर इब्राहिम र भियतनामका प्रधानमन्त्री फाम मिन चिन्ह पनि रहेका छन्।
बीबीसीका अनुसार, यस परेडमा चीनले आफ्ना नयाँ हतियार प्रदर्शन गर्नेछ, जसमा सयौं विमान, ट्याङ्क र एन्टी–ड्रोन प्रणाली समावेश हुनेछन्।
पहिलो पटक चीनको सेनाको नयाँ शक्ति पूर्ण रूपमा परेडमा प्रस्तुत गरिने चिनियाँ सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
प्रतिक्रिया 4