
१६ भदौ, काठमाडौं । पर्साको धोबिनी गाउँपालिकामा सोमबार दिनभर तनाव भयो । विकास निर्माण लगायत योजना तथा कार्यक्रमबारे सूचना माग गर्न स्थानीय नागरिक गाउँपालिका कार्यालय पुगेका थिए । कार्यालय परिसर बाहिर स्थानीयको भिड लागेपछि जनप्रतिनिधिले कार्यालय भित्रबाट गेटमा ताला लगाएका थिए ।
सूचना दिनुका साटोभित्रबाट गेटमा ताला लगाएर जनप्रतिनिधि बसेपछि आक्रोशित स्थानीयले गेटबाहिरबाट सोमबार दिउँसो २ बजेतिर अर्को ताला लगाएको स्थानीय सुनिल साहले अनलाइनखबरलाई जानकारी दिए ।
दुवै पक्षबाट गेटमा ताला लागेपछि स्थानीयले गाउँपालिका कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरेको उनले बताए ।
गाउँपालिकाले सञ्चालन गरेका विभिन्न योजना तथा कार्यक्रमसम्बन्धी सूचना माग्दा गाउँपालिका अध्यक्षले कुनै चासो नदेखाएको र कामकारबाही पारदर्शी नभएकोले आफूहरू सूचना माग्न सोमबार कार्यालय पुगेको उनले बताए ।
अध्यक्ष चौहानले वीरगञ्जमा कोठामा बसेर गाउँसभा गर्ने तयारी गरिरहेको र त्यसो नगर्न आफूहरूले खबरदारी गर्दा पनि अटेरी गरेको साहको आरोप छ ।
‘वडा वडाबाट योजना तर्जुमाको काम समेत भएको छैन । वीरगञ्जमा कोठामै बसेर गाउँसभा गर्ने तयारी अध्यक्ष चौहानले गरिरहेका छन् । स्थानीयले गाउँमै गाउँसभा गर्न दबाब दिइरहेका छन्,’ साहले भने । आफूहरूले सार्वजनिक सुनुवाइमार्फत गाउँपालिकाले गरेका गतिविधि बाहिर ल्याउन माग गर्दा समेत अध्यक्ष चौहानले नसुनेको उनको आरोप छ ।
गेटमा भित्र र बाहिरबाट ताला लागेपछि गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानसहित अन्य जनप्रतिनिधि र कर्मचारीहरू दिनभरि कार्यालय भित्रै थुनिएका थिए ।
घटनाबारे जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय पोखरियाको टोली धोबिनी गाउँपालिकाको कार्यालय पुगेको थियो ।
साँझ मात्रै सहमति
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक स्वरूप शर्माका नेतृत्वमा प्रहरीको टोली गाउँपालिकाको कार्यालय पुगेको थियो । त्यसपछि दुवै पक्षबीच सहमतिका प्रयासस्वरूप वार्ता भएको थियो । दिनभरि चलेको वार्ता साँझ मात्रै सहमतिमा पुगेको हो ।
स्थानीयले माग गरे अनुसारको सूचना आगामी सोमबारभित्र उपलब्ध गराउने लिखित प्रतिबद्धता अध्यक्ष मदनप्रसाद चौहानले गरेपछि गेटमा लागेको ताला खोल्न स्थानीय सहमत भएका हुन् ।
पर्साका एसपी गौतम मिश्रका अनुसार गाउँपालिका अध्यक्षले स्थानीयले माग गरे अनुसारको सूचना उपलब्ध गराउने र चाँडै गाउँसभा गर्ने सहमति गरेपछि विवाद समाधान भएको हो । विवाद समाधान भएसँगै गेटमा लागेको ताला खुलेको उनले बताए ।
वार्तामा अध्यक्ष चौहानले प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएका कारण तत्काल सूचना उपलब्ध गराउन नसकिएको बताएका थिए । नयाँ प्रशासकीय अधिकृत हाजिर भइसकेको भन्दै उनले मागअनुसार सूचना उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
विपक्षीले लगाएको आरोपमा सत्यता छैन : अध्यक्ष चौहान
अध्यक्ष चौहानले वार्तापछि दुवै पक्षबीचको विवाद समाधान भइसकेको र अवस्था सामान्य बनिसकेको बताए ।
वार्ताका लागि सीमित व्यक्ति आउन आग्रह गर्दा उनीहरूले नमानेपछि गाउँपालिका कार्यालयको सुरक्षाका लागि भित्रबाट ताला लगाउन बाध्य बनेको उनले बताए ।
उनले भने, ‘छलफलका लागि १० जना प्रतिनिधि आउनुस् भन्दा उहाँहरूले मान्नु भएन । हुल बाँधेर आउँदा सुरक्षाको दृष्टिले पनि उचित हुँदैन थियो । गाउँपालिकाको सम्पत्तिको सुरक्षाका लागि पनि भित्रबाट गेटमा ताला लगाउन बाध्य भएका हौं ।’
वीरगञ्जमा गाउँसभा गर्न लागेको भन्ने उनीहरूको कुरामा कुनै सत्यता नभएको उनले बताए ।
उनले भने, ‘गाउँसभा गाउँमै हुन्छ । वीरगञ्जमा पालिका सदस्यहरूबीच अन्य विषयमै छलफल भयो होला । तर त्यस्तो तयारी भनेर गरिएको प्रचारमा सत्यता छैन । विपक्षीहरूले आफूमाथि आरोप मात्रै लगाएका हुन् ।
राम्रो काम गरिरहेको समयमा केही निहुँ नपाएर आफ्नो बदनामा गर्न विपक्षीहरूले विशेषगरी नेकपा एमालेका समर्थकले विरोध गरेको उनको आरोप छ ।
‘सूचना त प्रशासकीय अधिकृतले उपलब्ध गराउने हो नि !, प्रशासकीय अधिकृत भागेर हिँडेका छन् । हामीले नै प्रमुख प्रशासकीय अधिकृत खोजिरहेका छौं । उनीहरूले मागे अनुसारको केही सूचना कर्मचारीले उपलब्ध गराइसकेका छन् । केही सूचना मात्रै दिन बाँकी हो,’ अध्यक्ष चौहानले भने ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट चौहानले गाउँपालिका अध्यक्ष जितेका हुन् ।
प्रतिक्रिया 4