
१७ भदौ, काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि भन्दै कैलालीको गेटा मेडिकल कलेजमा गत आइतबारदेखि सत्याग्रह सुरु गरेका डा. गोविन्द केसीको मुटुको चालमा गडबडी देखिएको उनका सहयोगीले बताएका छन् ।
सहयोगी डा. अमृत जैसीले भने, ‘मंगलबार बिहान गरिएको परीक्षणमा डा.केसीको मुटुको चालमा गडबडी देखिएको छ । ३७ एमजी हुनु भनेको अत्यन्तै न्यून हुनु हो । अनि सुगरको मात्रा पनि कम देखिएको छ ।
‘उहाँको स्वास्थ्य अवस्था क्रमश बिग्रदै गएको छ । मासपेशी दुख्ने, बाउडिने लगायतका समस्या देखिएको छ,’ डा. जैसीले भने, ‘चिकित्सकको सल्लाह अनुसार थप उपचार गर्न मान्नुभएको छैन र अनसनलाई निरन्तरता दिने बताउनुभएको छ ।’
डा. केसीले निजी मेडिकल कलेजको सिट वृद्धि लगायत निर्णयको विरोध गर्दै गत आइतबार दिँउसोदेखि सत्याग्रह सुरु गरेका हुन् ।
चिकित्सा शिक्षा आयोगको साउन ३० बसेको बैठकले निजी मेडिकल कलेजमा एमबीबीएसको सिट १३० सम्म दिने निर्णय गरेको थियो । आवश्यक मापदण्ड नै पुरा नगरेका निजी मेडिकललाई जथाभावी सिट तोक्दा गुणस्तर खस्कनुका साथै स्वास्थ्य सेवामा ह्रास आउने उनको तर्क छ ।
डा. केसी भन्छन्, ‘निजी मेडिकल कलेजहरूको सिट वृद्धि गर्दा नेता र माफियाको झोला भरिन्छ, तर शिक्षाको गुणस्तर खस्किन्छ । गुणस्तर खस्कनुको अर्थ स्वास्थ्य सेवामा ह्रास आउनु हो, जुन आम नेपालीको स्वास्थ्यसँग खेलबाड गर्नु हो ।’
चिकित्सा शिक्षा आयोगका पछिल्ला निर्णयहरूले विद्यार्थी र जनतालाई लाभ नदिई उल्टै शिक्षा–स्वास्थ्य प्रणाली नै धरापमा पारेको डा. केसी बताउँछन् ।
सत्याग्रहसँगै डा. केसीले निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्ने, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने, कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने लगायतका माग राखेका छन् ।
यसैगरी अघिल्ला सम्झौता अनुसार एकीकृत प्रतिष्ठान ऐन, उच्च शिक्षा ऐन, गैरनाफामूलक मेडिकल शिक्षा र दरबन्दी सम्बन्धी प्रावधानलाई कार्यान्वयन गर्न पनि डा. केसीले माग राखेका छन् ।
प्रतिक्रिया 4