
२० भदौ, काठमाडौं । बैंक घोटाला प्रकरणमा करिब १२ करोड जरिवाना र १० वर्ष कैद सजाय तोकिएका दुई व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानरपालिका–१४ का ५८ वर्षीय सुरेन्द्रकुमार प्रधान र भक्तपुरको सूर्यविनायक नगरपालिका–५ का ५० वर्षीय अरविन्द्र श्रेष्ठ छन् । उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।
उनीहरू एच एन्ड बी डेभलपमेन्ट बैंक घोटाला प्रकरणका दोषी रहेको प्रहरीले बताएको छ । प्रधानलाई ९ करोड २१ लाख ५० हजार जरिवाना र ७ वर्ष कैदको फैसला भएको सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले बताए ।
त्यसैगरी श्रेष्ठविरुद्ध २ करोड ५० लाख जरिवाना र ३ वर्ष कैदको फैसला भएको थियो । लामो समयदेखि उनीहरू फरार हुँदै आएका थिए ।
बैंकका कर्मचारीको मिलेमतोमा गुड फर पेमेन्टका नाममा ठूलो रकम घोटाला गरिएको अनुसन्धानबाट खुलेको थियो । २०६९ सालमा यो बैंकको घोटाला प्रकरण बाहिर आएको थियो । त्यसपछि विशेष छानबिन समिति बनाएर छानबिन गरिएको थियो ।
प्रतिक्रिया 4