
२० भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताका टाउका जोडेर गरिने र क्षणभरमै भत्किने खालको एकताको पक्षमा नभएको बताएका छन् ।
गोदावारीमा शुक्रबार सुरु भएको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले ‘जनता र राष्ट्रको सर्वोपरि हितमा आधारित एकता’को पक्षमा पार्टी रहेको उल्लेख गरेका छन् ।
‘आज हामी स्वार्थ केन्द्रित अर्थात् टाउका जोडेर गरिने एकतामा होइन अरू कार्यकर्ताहरूलाई जगैदेखि समेट्दै आन्दोलनलाई वैचार, संगठनात्मक र भावनात्मक रूपमा एकताबद्ध बनाउने बाटोमा छौं’ उनले भनेका छन्, ‘आजको सन्दर्भमा यही नै उपयुक्त बाटो हो ।’
तत्काल वाम एकताको सम्भावना नरहेको संकेत गरे पनि ओलीले दस्तावेजमा ‘नेपालको कम्युनिस्ट आन्दोलनको प्रमुख शक्ति हुनेको नाताले आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने दायित्व एमालेकै काँधमा रहेको’ उल्लेख गरेका छन् ।
वाम एकताबारे ओलीले ‘विभाजन, पुनर्गठन, पुनरोदय र निर्णायक शक्तिको निर्माण’ उपशीर्षकमा लेखेका छन्:
नेपालको कम्युनिस्ट आन्दोलनको प्रमुख शक्ति हुनेको नाताले आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने दायित्व एमालेकै काँधमा छ । तर कुन एकता र कुन प्रकारको एकता ? मुख्य प्रश्न यो हो । मुख्य नेताहरुको स्वार्थ केन्द्रित ‘एकता’ गर्ने, त्यसपछि पार्टीको सम्पूर्ण ऊर्जा र समय नेताहरूको ‘व्यवस्थापन’ र गुनासो संबोधनमा खर्चिनुपर्ने र स्वार्थ पूरा नहुँदाको दिन क्षणभरमै भत्किने खालको एकता हामीलाई चाहिएको छैन । जनता र राष्ट्रको सर्वोपरि हितमा आधारित एकता मात्रै जनता र कार्यकर्ताले खोजेको एकता हो । त्यस्तो एकता मात्रै दिगो र उपलब्धिपूर्ण हुन्छ ।
पार्टी एकताका दुईवटा ऐतिहासिक परिघटनालाई हामी तुलना गर्न सक्छौं । २०४७ पुसमा तत्कालीन नेकपा (माले) र नेकपा (मार्क्सवादी) बीच एकता भई हामीले नेकपा (एमाले) बनायौं । त्यस एकतालाई मन नपराउने, आफ्नो स्वार्थलाई केन्द्रमा राख्ने र स्वार्थ सिद्ध भएन भने पार्टीलाई घात गर्ने केही व्यक्ति त्यतिबेला पनि थिए । तर मूल उद्देश्य एकताको भावनामा दृढ र राष्ट्रिय हितमा निष्ठावान भएका कारण केही असन्तुष्ट नेता पलायन भए पनि पार्टी एकता अक्षुण्ण रह्यो । पार्टी एकताको असल दृष्टान्तका रूपमा आज पनि त्यो सन्दर्भ स्मरणीय छ ।
२०५५ जेठमा हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण गर्यौं । एकताको मूल भावना र उद्देश्य सही थियो । तर केही नेताहरूले आफ्नो स्वार्थ पूरा नभएपछि कथित व्यवस्थापनको किचलोमा पार्टीलाई फसाउँदै लगे । पार्टीभित्रको अन्तरविरोधमा खेल्दै गए, पार्टी कब्जा गर्ने हरसम्भव कोसिस गरे । त्यस्ता यावत प्रायस असफल भएपछि अन्ततोगत्वा पार्टीलाई विभाजित गरे । पार्टी पङ्क्तिको ठूलो हिस्सा एकतालाई जोगाइरहन चाहन्थ्यो, तर त्यो प्रयास हुन सकेन । विभाजनलाई अस्वीकार गर्ने नेकपा (माओवादी केन्द्र) का महत्वपूर्ण कमरेडहरू नेकपाको निरन्तरताका रूपमा नेकपा (एमाले) मा नेकपाको निरन्तरताका रूपमा नेकपा (एमाले) मा दृढतापूर्वक टिकिरहनुभयो ।
त्यसैले आज हामी स्वार्थ केन्द्रित अर्थात् टाउका जोडेर गरिने एकतामा होइन अरू कार्यकर्ताहरूलाई जगैदेखि समेट्दै आन्दोलनलाई वैचार, संगठनात्मक र भावनात्मक रूपमा एकताबद्ध बनाउने बाटोमा छौं । आजको सन्दर्भमा यही नै उपयुक्त बाटो हो ।
आज हामी पुनः सामाजिक-आर्थिक रुपान्तरण, सुशासन र राष्ट्रिय स्वाभिमानको यात्रामा समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यका साथ अगाडि बढिरहेका छौं ।
कम्युनिस्ट आन्दोलनले सय वर्ष पूरा गरिरहँदा नेपाललाई समृद्ध, समुन्नत, सामाजिक न्यायले सुसज्जित र समाजवादको प्रारम्भिक अवस्थामा प्रवेश गराउने हाम्रो संकल्प छ ।
प्रतिक्रिया 4