
२० भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकको भूमि प्रयोग गरेर भारत र चीनले गर्न खोजेको व्यापारिक सम्झौताबारे आफूले स्पष्ट रुपमा चीनसँग कुरा राखेको बताएका छन् ।
शुक्रबारबाट सुरु भएको पार्टीको विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले आफू जुनसुकै देशको भ्रमणमा जाँदा पनि राष्ट्रको हितलाई फाइदा हुनेगरी मात्रै दृष्टिकोण बनाउने र आफ्ना कुरा प्रष्ट राख्ने गरेको जिकिर गरे ।
‘यसपल्ट म चीन जाँदा पनि चीनका राष्ट्रपति सी चिनफिङसँगको औपचारिक वार्तामा मैले अरु कुरासँगै लिपुलेक सन्दर्भमा भारत र चीनबीच भएको सम्झौता, हाम्रो भूमिबाट दुईवटा देशले व्यापारिक आदानप्रदान गर्ने भन्ने कुरा गर्न मिल्दैन भन्ने कुरा मैले स्पष्ट ढंगले राखेको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘यो कुरा रेकर्डेड छ । अडियोमा छ, भिडियोमा छ, नोट, टिपोटहरूमा छ ।’
त्यस्तै, चिनियाँ राष्ट्रपति सीले पनि भारत र नेपालबीचको विषय भएकाले कुटनीतिक रुपमा सल्ट्याउन भनेको उनले बताए ।
‘चिनियाँ राष्ट्रपतिले त्यसको जवाफ दिँदा हामी नेपालको सार्वभौमसत्ताको सम्मान गर्छौं, यसबाट तपाईंहरूलाई जुन आशंका हुन गएको छ त्यसमा हाम्रो ध्यान छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कुनै राष्ट्रिय सार्वभौमसत्तामा तलमाथि हुन दिइने छैन । त्यसमा हामी सम्पूर्ण रुपमा समर्थन गर्छौं । यो भारत र नेपालको विषय हो तपाईंहरू वार्ताबाट समाधान गर्नुहुन्छ भन्ने आशामा छौं ।’
प्रतिक्रिया 4