
१८ भदौ, काठमाडौं । आफ्नो औपचारिक चीन भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन १४ भदौमा चीन गएका थिए ।
उनी केहीबेरअघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको उनको सचिवालयले जनाएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ र उपराष्ट्रपति हान झेङसँग गत मंगलबार बेइजिङमा भेटवार्ता गरेका थिए ।
शांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले बहुपक्षतामा जोड दिएका थिए ।
सन् २००१ मा स्थापना गरिएको एससिओ विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनमध्ये एक हो । यस संगठनमा चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य छन् ।
अफगानिस्तान र मंगोलिया पर्यवेक्षक राष्ट्रहरू हुन् । नेपालसहित टर्की, श्रीलंका, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स संगठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन् ।
शिखर सम्मेलनमा सहभागी हुने क्रममा प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायत विश्वका नेताहरूसँग भेटवार्ता गरेका थिए ।
करिब २५ मिनेट भएको यो भेटमा प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनले एकअर्कालाई भ्रमणको निम्तो दिएका थिए ।
प्रधानमन्त्री ओलीले मालदिभ्सका राष्ट्रपति तथा कम्बोडिया, लाओस, भियतनामका प्रधानमन्त्रीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री ओली नेतृत्वको २३ सदस्यीय प्रतिनिधि मण्डलमा पत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका उपाध्यक्ष एवम् सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा, सरकारी अधिकारी, पत्रकार लगायत सहभागी थिए ।
प्रतिक्रिया 4