News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको दोस्रो विधान महाधिवेशन २० भदौदेखि २२ भदौसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुँदैछ।
- महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र ३ सय १५ जना आयोजक गरी कुल २ हजार ३४१ जनाले भाग लिनेछन्।
- एमालेले प्रविधिमैत्री बनाउन क्यूआर स्क्यान प्रणालीबाट प्रतिनिधि पहिचान गरी प्रवेश र उपस्थिति विवरण संकलन गर्ने व्यवस्था गरेको छ।
१९ भदौ, काठमाडौं । देशकै दोस्रो ठूलो दल नेकपा एमालेको दोस्रो विधान महाधिवेशन भोलिबाट सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुने विधान महाधिवेशनलाई लक्षित गर्दै ठाउँठाउँमा प्रवेशद्वार बनाइएको छ ।
ललितपुरको सातदोबाटोदेखि गोदावरीस्थित महाधिवेशनस्थलसम्म मात्रै १८ वटा स्वागत द्वार बनाइएको छ ।
शुक्रबार सुरु भएर २२ गतेसम्म चल्ने विधान महाधिवेशनमा एमालेले यसअघिका अन्य कार्यक्रममा जस्तै अध्यक्ष केपी शर्मा ओलीलाई आकर्षणको केन्द्र बनाएको देखिन्छ ।
काठमाडौं उपत्यका छिर्ने नाका भक्तपुर, थानकोट, कलंकीसहित आकाशे पुलमा समेत पोस्टर, झण्डा राखेर विधान महाधिवेशनलाई एमालेले महाउत्सवको छनक दिएको छ ।
गोदावरीको बसपार्कमा मुल प्रवेशद्वार बनाएर प्रतिनिधिलाई महाधिवेशनस्थल पुगेको आभास गराउन ५०० मिटरको दूरीमा तीन वटा गेट बनाइएको छ ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नारासहित हुन लागेको विधान महाधिवेशनको तयारी लगभग सकिएको मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले जानकारी दिए ।
बिहीबार अपरान्ह महाधिवेशनस्थलमा अनलाइनखबरसँग कुरा गर्दै भने, ‘साजसज्जादेखि व्यवस्थापनको ७० प्रतिशत काम सकिएको छ, राति १२ बजेभित्र सबै सक्छौं ।’
महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजक समितिका थप ३ सय १५ जना गरी कुल २ हजार ३४१ जनाले भाग लिनेछन् ।
२ हजार ८४० सिट क्षमताको गोदावरीको सनराइज सम्मेलन केन्द्रमा ४ वटा प्रवेशद्वार छन् । मञ्च व्यवस्थापन समितिका संयोजक श्रेष्ठका अनुसार, पहिलो द्वारबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मात्रै प्रवेश गराइनेछ । अन्य पदाधिकारी, मन्त्री, मुख्यमन्त्री सबै दोस्रो र तेस्रो प्रवेशद्वारबाट प्रतिनिधिसँगै छिर्नुपर्ने उनले बताए ।
‘महाधिवेशन हलमा एक नम्बर गेटबाट अध्यक्ष केपी शर्मा ओलीलाई मात्र प्रवेश गराउँछौं, दुई नम्बर गेटबाट अन्य, नेता तथा प्रतिनिधिहरू प्रवेश गर्नेछन्,’ उनले भने ।
अन्तिम प्रवेश द्वारबाट क्याटरिङका लागि खाद्यान्न, खाने पानी ढुवानीका लागि खुला गरिएको छ ।
क्यूआर स्क्यान गरेर मात्रै प्रवेश, एटेडेन्स डेटा राखिने
एमालेले विधान महाधिवेशनलाई प्रविधिमैत्री बनाउन खोजेको छ । कार्यक्रमलाई व्यवस्थित गर्न र अनाधिकृत प्रवेश रोक्न प्रविधि उपयोग गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक श्रेष्ठले बताए ।
‘कार्ड त सबैले बोकेर आउनुहुन्छ तर, हाम्रो प्रतिनिधि हो कि हैन भनेर पहिचान गर्न र प्रवेश सहज बनाउन क्यूआर स्क्यानको व्यवस्था गरेका हौं,’ उनले भने । त्यसका लागि पार्टी प्रचार कमिटीले प्रतिनिधिहरूको डेटा डिजिटलरूपमा संकलन गरेर सिस्टम निर्माण गरिसकेको उनले बताए ।
प्रतिनिधि पहिचान गरी प्रवेश दिन ६ वटा कम्प्युटरका बुथ बनाइएको छ । त्यही बुथबाट क्यूआर स्क्यान गरी प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवकहरू महाधिवेशन हल प्रवेश गर्न पाउनेछन् ।
प्रतिनिधि, पर्यवेक्षकलाई वितरण गरिएको परिचयपत्र बाहिरको प्रवेशद्वारबाहेक हलभित्र पस्दा पुन: स्क्यान गर्नुपर्ने गरी व्यवस्थापन गरिएको छ ।
त्यहीँबाट स्वयंसेवकले कसलाई कुन द्वार र कुन सिटमा बस्ने भनेर व्यवस्थापन गर्ने गरी हल बाहिर ६ वटा कार्डस्कान बुथ रहनेछन् ।
साथै यसपटक महाधिवेशन हलमा सहभागी प्रतिनिधिको उपस्थिति विवरण (एटेडेन्स डेटा) समेत संकलन गरिने श्रेष्ठले बताए ।
विधान महाविधेशन अन्तर्गतका विभिन्न छलफलमा हलभित्रै उपस्थित रहेको वा बाहिर निस्किएको जस्ता विवरण पार्टीले राख्ने उनको भनाइ छ ।
‘छलफलमै भाग नलिइ पनि यो र त्यो भन्ने प्रतिनिधिहरू पनि हुन्छन्, को को कुन छलफलमा थियो वा खाजा खान बाहिर निस्कियो सबै विवरण हुन्छ,’ उनले भने ।
दोस्रो र तेस्रो प्रवेशद्वारबाट महाधिवेशनस्थल प्रवेश गरेपछि दायाँतिर प्रधानमन्त्री तथा अध्यक्ष ओलीको पूर्ण कदसहित हात उठाएको मस्कट राखिएको छ । हलको कम्पाउण्डभित्रका भित्तामा महाधिवेशनको लोगो, नेकपा (एमाले) र अंग्रेजीमा ‘सीपीएन यूएमएल’ले लेखिएको छ भने भवनलाई चारैतिर पार्टी झण्डा र चुनाव चिन्ह राखेरले सजाइएको छ ।
फाउन्टेन समेत मर्मत गरेर महाधिवेशस्थललाई आकर्षक देखाइएको छ ।
बाँयातिर नेकपाका संस्थापक महासचिव पुष्पलाल, पूर्वमहासचिव मदन भण्डारी र पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको पूर्णकदको तस्विर राखिएको छ । पश्चिमतिर कार्लमार्क्स, एङ्गेल्स र लेनिनको पूर्ण कदसहित तस्विर राखिएको छ ।
हलभित्र २२ सय स्क्वायर फिटको डिजिटल बोर्ड राखिएको छ । एमालेका अनुसार मञ्चमा हलको मञ्चमा १८ जना पदाधिकारीहरु मात्रै बस्ने छन् । मञ्चमा दुई खण्ड बनाइएको छ । अघिल्लो खण्डमा अध्यक्ष ओली र अन्य पदाधिकारी पछिल्लो खण्डमा बस्नेछन् ।
सभाहलको पर्खालसँगै मिडिया सेन्टरको व्यवस्था गरिएको एमालेले प्रचार विभागले जानकारी दिएको छ ।
वाइफाई जोनसहितको मिडिया सेन्टरमा डिजिटल बोर्डको व्यवस्था गरिएको छ ।
बिहान १० बजेभित्र उपस्थित हुन निर्देशन
मञ्च व्यवस्थापन समितिका संयोजक श्रेष्ठका अनुसार शुक्रबार बिहान १० बजेभित्र सबैलाई महाधिवेशन पुगिसक्न भनिएको छ । ११ बजे अध्यक्ष ओलीले दोस्रो विधान महाधिवेशन उद्घाटन गर्ने तयारी रहेको उनले बताए ।
औपचारिक उद्घाटन सकिएपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने तालिका छ । विधान महाधिवेशनमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गर्नेछन् ।
केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहाकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना विभागका प्रतिवेदन पेश गर्नेछन् ।
उद्घाटनसँगै बन्दसत्र एकै साथ सुरु हुने भएकाले दिउँसो १ बजेतिर चिया/खाजाका लागि एक घण्टा ब्रेक समय निर्धारण गरिएको छ । एक घण्टाभित्र एकैपटक ३ हजार जनाले चिया/खाजा खान मिल्ने गरी क्याटरिङको व्यवस्था गरिएको श्रेष्ठले बताए ।
शनिबार सबै प्रतिवेदन माथि प्रतिनिधिहरूले आफ्नो विचार राख्न पाउने गरी १० समूहमा विभाजन गरी छलफल चलाउने तालिका छ । त्यसका लागि भवनको छतमा ४, हल प्रवेशको छेउमा २, हलभित्र २ र बाहिर गरी क्याटरिङ स्थलमा २ वटा समूह छलफलका लागि ठाउँ व्यवस्थापन गरिएको छ ।
सुरक्षाकर्मी र स्वयंसेवक गरी महाधिवेशनस्थल व्यवस्थापनमा खटिने झण्डै ३ हजार ५०० जनालाई खानाको व्यवस्था गरिएको उनले बताए । रातिको आवासको व्यवस्था भने नेता, कार्यकर्ता र प्रतिनिधिहरूलाई व्यक्तिगतरूपमै मिलाउन भनिएको श्रेष्ठ बताउँछन् ।
प्रतिक्रिया 4