
१९ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुभव नभएका कार्यकर्ताहरू महत्वपूर्ण जिम्मेवारीमा पुग्दा अनुशासनको पक्ष कमजोर बन्न पुगेको बताएका छन् ।
विधान महाधिवेशनका निम्ति तयार राजनीतिक प्रतिवेदनमा ओलीले वैचारिक स्तर र संगठनात्मक अनुभव कमजोर भएका कार्यकर्ताका कारण पार्टीमा समस्या आएको उल्लेख गरेका हुन् ।
‘वैचारिक राजनीतिक स्तर र संगठनात्मक अनुभव कमजोर भएका कार्यकर्ताहरू कमिटीको महत्वपूर्ण जिम्मेवारीमा पुग्दा त्यसबाट पार्टी पद्धति र अनुशासनको पक्ष कमजोर बन्न पुगेको छ’ प्रतिवेदनमा लेखिएको छ, ‘पछिल्लो समयमा त्यस्ता कार्यकर्ताहरूबाट समर्थनमा होस् वा विरोधमा, अनुशासनको सीमा भत्काउने प्रवृत्ति देखिन्छ ।’
ओलीले पार्टी अवसरवाद र अराजकता गुटबन्दीको स्रोत बनेको पनि उल्लेख गरेका छन् । ‘मिसन चौरासीको सफलताका लागि अवसरवाद र संगठनात्मक अराजकताका विरुद्ध संघर्षमा सफलता हासिल गर्नु अपरिहार्य छ,’ राजनीतिक प्रतिवेदनमा भनिएको छ ।
पार्टीभित्र स्थानीय तहसम्मै गुटबन्दीको जोखिम बढेको पनि चिन्ता गरिएको छ । ‘नीति र नेतृत्वका प्रश्नमा पछिल्लो समय पार्टीमा खासै समस्या नभए पनि स्थानीय तहका अन्तरविरोधले गुटबन्दीको स्वरुप ग्रहण गर्ने जोखिम बढेको छ’, प्रतिवेदनमा भनिएको छ ।
प्रतिक्रिया 4