
News Summary
Generated by OK AI. Editorially reviewed.- वैदेशिक रोजगारीमा रहेका नेपालीले दशैंतिहारमा घर फर्कन हवाई टिकटको मूल्यवृद्धिले समस्या भोगिरहेका छन्।
- वायुसेवा कम्पनीहरूले डिमान्ड बढी भएकाले टिकट भाडा बढाएको र नियामक निकाय मौन रहेको श्रमिकहरूले आरोप लगाएका छन्।
- नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय स्तरमा हवाई टिकट मूल्य नियमन गर्न नसकिने जनाएको छ।
२० भदौ, काठमाडौं । वैदेशिक रोजगारीका लागि गएका लाखौं नेपालीका लागि दशैंतिहार जस्ता चाडपर्व घर फर्केर मनाउनु सधैं सजिलो हुँदैन । विशेषगरी पछिल्ला वर्ष देखिएको हवाई टिकटको मूल्यवृद्धिले उनीहरूको खुसी थप महँगो बनाइरहेको छ ।
वैदेशिक रोजगारमा रहेका श्रमिकले पठाएको पैसा चाडपर्वमा परिवारसँग बसेर प्रयोग गर्न चाहन्छन् । तर, दोब्बर महँगो हवाई टिकटका कारण उनीहरूको सपनामा घाउ थपिएको छ ।
११ वर्षपछि घर फर्किँदै मिनेश
ताप्लेजुङका मिनेश मदेन ११ वर्षदेखि मलेसियामा काम गर्दै आएका छन् । यसपालि दशैंतिहारमा घर आउने योजना उनको थियो । त्यसकै लागि उनले समयमै टिकट पनि काटे ।
‘एक महिना अगाडि १ हजार रिंगेटमा टिकट काटेको थिएँ, अहिले त साथीहरूले १३ सयदेखि १४ सयसम्म तिरेर पनि पाउन सकेका छैनन्,’ अनलाइनखबरसँगको सम्पर्कमा आएका मिनेशले भने ।
उनका लागि टिकट त महँगो छ नै, त्यससँगै परदेशमा साथीहरूले भोगेको दु:खले उनलाई अझै भावुक बनाएको छ ।
कुवेतबाट सीताराम र दुर्गाको अनुभव
कुवेतमा रहेका सीताराम चापागाईंले तीन महिनाअघि नै घर फर्किने टिकट काटेका थिए । उनले दुईतर्फी टिकटका लागि १ सय ७० कुवेती दिनार (केडी) तिरेका थिए । तर, अहिले टिकट काट्नेहरूले न्यूनतम २ सय ७० देखि ३ सय केडीसम्म तिर्नुपर्ने अवस्था छ ।
उस्तै अनुभव छ दुर्गा हुमागाईंको । उनले पनि केही समयअघि १ सय ७० केडीमै टिकट सुरक्षित गरेका थिए । तर, उनका साथीहरूले अहिले टिकट पाउनै मुस्किल भएको छ ।
‘२ सय ७० देखि ३ सय केडी दिनुपर्छ रे, त्यो पनि सजिलै पाइरहेका छैनन्,’ दुर्गाले भने ।
चितवनका हरि शर्मा वैदेशिक रोजगारीका लागि साउदी अरब गएको ८ वर्ष पूरा भयो । तर, अहिलेसम्म उनले घर परिवारसँग दशैंतिहार सँगै मनाउन पाएका थिएनन् । विभिन्न बाध्यताले उनलाई घर फर्किने मेसो मिल्न सकेको थिएन ।
यो पटक भने उनी निकै उत्साहित छन् । घरपरिवारमा आमा, बुबा, श्रीमती, छोराछोरीसँगै दशैंतिहार मनाउने भन्दै उनले एक महिना अगाडि ४२ हजार रुपैयाँ तिरेर हवाई टिकट काटेका थिए ।
तर, अहिले भने ८९ हजारदेखि १ लाख ५९ हजार रुपैयाँसम्मको हवाई टिकट रहेको शर्माको भनाइ छ । साथीहरूले भने अहिले डेढ लाखसम्म तिरेर घर फर्किने टिकट काटिरहेको बताए ।
‘दशैंतिहारमा घर जान भनेर धेरै साथीहरू टिकट काटिरहेका छन् । कोहीले एक डेढ महिना अगाडि नै काटेकाले नर्मल पैसा पर्यो । तर, अहिले काट्नेले त डेढ लाखसम्म तिरेका छन्,’ शर्माले भने ।
चाडपर्वमा विदेशबाट घर फर्कने नेपालीलाई वायुसेवा कम्पनीहरूले अस्वाभाविक रूपमा भाडा बढाइदिने गरेको अनुभव श्रमिकहरूको साझा पीडा बनेको छ । मलेसिया तथा खाडी मुलुकबाट दशैंतिहार मनाउन आउने श्रमिकहरू दोब्बर–तेब्बर बढी महँगो हवाई टिकट काटेर आउन बाध्य हुने गरेका छन् ।
प्रमुख गन्तव्यबाट नेपाल आउने उडानमा चाडपर्वका बेला सिट पाउन मुस्किल मात्र होइन, पाए पनि अत्यधिक महँगो हुने गरेको श्रमिकहरूको गुनासो छ ।
‘हामीलाई जबरजस्ती लुटेको जस्तो लाग्छ,’ कतारमा कार्यरत रमेश मगर भन्छन्, ‘मासिक तलब १२ सय रियाल छ, तर टिकटमा नै दुई महिनाको तलब खर्च हुन्छ भने परिवारलाई के दिनु ?’
श्रमिकहरूले वायुसेवा कम्पनीहरूलाई मात्र नभई सरकार र नियामक निकाय समेत जिम्मेवार नबनेको बताएका छन् । उनीहरूको आँखामुनि श्रमिकमाथि दोब्बर भाडा असुल गरिँदा पनि राज्य मौन बसिरहेको श्रमिकको भनाइ छ ।
चाडपर्वमा घर आउन चाहने धेरै साथी टिकटको मूल्य चुकाउन नसकेर परदेशमै बस्न बाध्य हुने गरेको मगरको भनाइ छ ।
वैदेशिक रोजगारी गरेर पठाएको रकम प्राय: ऋण तिर्ने वा परिवारको खर्च धान्न प्रयोग हुन्छ । तर, टिकटमा नै अत्यधिक रकम खर्च हुँदा परिवारको आर्थिक योजनामा ठूलो असर पर्ने गरेको देखिन्छ ।
दशैंतिहार जस्ता चाडपर्व केवल धार्मिक नभई सामाजिक बन्धन बलियो बनाउने अवसर पनि हुन् । तर, श्रमिकहरू हवाई टिकटका कारण आउन नसक्दा पारिवारिक सम्बन्ध कमजोर हुने सम्भावना बढ्ने गरेको देखिन्छ ।
नियामक निकायको मौनता
नेपाल नागरिक उड्डयन प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई भाडा नियन्त्रणमा प्रभावकारी पहल नगरेको आरोप श्रमिकहरू लगाउँछन् ।
वायुसेवा कम्पनीहरूले ‘डिमान्ड बढी भएकाले’ भन्दै भाडा बढाउने गरे पनि कुनै सीमा तोक्ने नियामक संयन्त्र सक्रिय नहुँदा समस्या जटिल हुँदै गएको हो ।
सरकारले विशेषगरी चाडपर्वमा विदेश–नेपाल गन्तव्यका उडानमा टिकटको मूल्यतर्फ कडा निगरानी गर्नुपर्ने शर्माको भनाइ छ ।
चाडपर्व लक्षित ‘विशेष उडान’ सञ्चालन गरेर श्रमिकलाई सस्तो टिकट उपलब्ध गराए राहत मिल्ने उनको भनाइ छ ।
वैदेशिक रोजगारी मार्फत श्रमिकहरूले खर्बौ रुपैयाँ रेमिट्यान्स पठाउँछन् । तर, दशैंतिहार जस्ता चाडपर्व मनाउन घर फर्किंदा हवाई भाडामा समेत ठगिने गरेका छन् ।
‘हामी भूतबंगलामा बस्ने होइन, आफ्नै देशमा परिवारसँग चाडपर्व मनाउने अधिकार छ । तर, हवाई कम्पनीहरूले दोब्बर भाडा तिर्न बाध्य बनाएर हाम्रो पीडामा व्यावसायिक नाफा कमाइरहेका छन् । सरकार मौन रहँदा हामी हरेक वर्ष यसरी लुटिन बाध्य हुन्छौं,’ शर्माले भने ।
दशैंतिहार भनेको खुसी र परिवारसँगको पुनर्मिलनको समय हो । तर, लाखौं नेपाली श्रमिकका लागि त्यो खुसी अझै महँगो सौदा बन्न पुगेको छ । वायुसेवा कम्पनीको व्यावसायिक दबाब र नियामक निकायको मौनता सम्बोधन नगरेसम्म प्रवासी नेपालीको पीडा घट्ने छैन ।
प्राधिकरणले भने अन्तर्राष्ट्रिय स्तरमा हवाई टिकटमा नियमन गर्न नसकिने जनाएको छ । अन्तर्राष्ट्रिय स्तरको हवाई टिकटको मूल्य निर्धारण वा नियमन एउटा मात्रै निकायले गर्ने नभई यसमा विभिन्न संस्थाहरू तथा नियमको आधारमा हुने गरेको छ । जसले गर्दा हवाई भाडामा नियमन गर्न नसकिने प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया 4