
२१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमाले गठबन्धन सरकार बिचौलिया बनाएको आरोप लगाएका छन् ।
नेपाल उद्योग व्यापार महासंघले पोखराको लेकसाइडमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बिचौलियाको धाक र धम्कीका कारण कांग्रेस–एमाले गठबन्धन सरकार बनेको दाबी गरे ।
‘कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको हो,’ उनले भने, ‘हिजो डरले बनेको, आज पनि डरले बचेको सरकार हो । कांग्रेस–एमालेभित्रका इमानदार साथीहरूले यस्तो सरकारमा बस्नु हुँदैन ।’
सरकारप्रति आक्रामक रूपमा प्रस्तुत भएका प्रचण्डले दलाल र पुँजीवादी प्रवृत्तिको प्रतिनिधित्व सरकारले गरिरहेको जिकिर गरे । उनले भने, ‘क्रोनी क्यापिटलिजम र दलाल पुँजीवादको प्रतिनिधित्व अहिले कांग्रेस र एमालेले गरिरहेका छन् । हामी त्यसको वैकल्पिक शक्ति हौं ।’
माओवादी आन्दोलन मध्यम वर्गको पक्षमा भएको बताउँदै प्रचण्डले आफू मध्यम वर्गको प्रतिनिधि भएको बताए । उनले भने, ‘हामी मध्यम वर्गकै प्रतिनिधि हौं । ऋण मिनाह, सहकारी सुधार र तल्लो वर्गको उत्थान हाम्रो प्राथमिकता हो ।’
सहकारीको बचत अपचलन भएको सन्दर्भ कोट्याउँदै अध्यक्ष प्रचण्डले कांग्रेस–एमालेका नेताहरू नै समस्याको जड भएको आरोप लगाए । उनले भने, ‘शक्तिशाली प्राधिकरणमार्फत ठगहरूलाई कारबाही गर्न खोज्यौं, तर सरकार ढालियो। त्यसैले त्यो काम अघि बढ्न सकेन ।’
प्रतिक्रिया 4