+
+
Shares

एमालेमा ७० वर्ष नाघेकालाई मानार्थ सदस्यता दिने र सदस्यता शुल्क नलिने प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते ११:४०

२२ भदौ, काठमाडौं । नेकपा एमालेमा ७० वर्ष नाघेकालाई मानार्थ सदस्यता दिने र सदस्यता शुल्क नलिने प्रस्ताव आएको छ । समूहगत छलफलमा विधान महाधिवेशन प्रतिनिधि कमल पाठकले यस्तो प्रस्ताव राखेका हुन् ।

‘७० वर्ष नाघेकालाई राज्यले सम्मान गर्छ । हामी पनि मानार्थ सदस्यता राखौं । मर्ने बेलासम्म लेवी उठाउने कुरा गलत छ’, नेता पाठकले भने ।

एमालेमा दुई प्रकारका पार्टी सदस्यता प्रस्तावित छ । पार्टी सदस्य र संगठित सदस्य गरेर दुई खाले सदस्यता रहने व्यवस्था प्रस्ताव गरिएको हो ।

दुवै सदस्यताका लागि एमालेको नीति विचारलाई समर्थन गर्ने र तोकेबमोजिम सदस्यता शुल्क तिर्नुपर्छ । यस्तो प्रस्तावमा संशोधन गरेर मानार्थ सदस्यता पनि थप्ने र मानार्थ सदस्यसँग शुल्न नलिने व्यवस्थाको प्रस्ताव नेता पाठकले गरेका हुन् ।

अर्कोतर्फ एमालेमा उमेर हदको व्यवस्था हटाउने प्रस्ताव छ । हाल सबै तहको कमिटीमा निर्वाचित हुन ७० वर्षे उमेर हदको व्यवस्था छ । यसलाई हटाउने प्रस्ताव अघि सारिएका बेला नेता पाठकले एमालेमा ७० वर्ष नाघेकालाई मानार्थ सदस्ता दिने र सदस्यता शुल्क नलिने प्रस्ताव गरेका हुन् ।

एमालेले हरेक कमिटीको सदस्य वा पदाधिकारीमा उम्मेदवार बन्नका लागि माथिल्लो कमिटीको स्कुल विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी भएको हुनुपर्ने व्यवस्था प्रस्तावित छ । एमालेले हरेक नेतालाई पार्टीको नीतिसँग साक्षात्कार हुनुपर्ने नीतिलाई कार्यान्वय गर्न यस्तो व्यवस्था प्रस्ताव गरेको हो ।

ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदै छ । विभिन्न प्रतिवेदनमाथि छलफल गर्न गठित समूहहरूले समूहगत सुझाव पेस गरेपछि अध्यक्ष केपी शर्मा ओलीसँगै जवाफ दिने कार्यतालिका छ ।

शनिवार १० वटा समूहमा भएको छलफल आज समूह नेताले प्रस्तुत गर्नेछन् । त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रस्तावमा उठेका प्रश्नहरूको जवाफ दिनेछन् । त्यसपद्धि प्रस्ताव र प्रतिवेदनहरू संशोधनसहित पारित हुनेछ र आजै विधान महाधिवेशन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?