
२३ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर दर्जन बढीको मृत्यु भइसकेको छ । १०० बढी भाइते छन् । केही पत्रकारसमेत घाइते भएका छन् । तीमध्ये एक हुन्, शम्भु दंगाल ।
दंगाल संघीय संसद्को दुई नम्बर गेटको अपोजिट पुल छेउको कर्नरमा थिए । नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन चर्किँदो थियो ।
उनी भन्छन्, ‘भिडियो खिचिरहेको थिएँ । प्रहरीले अश्रु ग्यास फालिरहेको थियो । गोली पनि चलाएछ, मेरो पनि गोलीगाँठोमा गोली लाग्यो ।’
आफू भएतिर गोली चल्छ वा चलाइँदैछ भन्ने उनलाई थाहा थिएन । गोली लागेपछि ढले । ‘मेरा नजिक युवाहरू आए, मैले आफू पत्रकार भएको बताएँ । केही युवाहरूले एभरेस्ट हस्पिटल पुर्याए,’ उनले सुनाए ।
दंगाल एभरेस्ट हस्पिटल पुग्दा त्यहाँ अरू पनि घाइते थिए । उनी भन्छन्, ‘एभरेस्ट हस्पिटलमा पुग्दा अरू पनि धेरै घाइते रहेछन् । बेड भरिभराउ भइसकेको रहेछ । भुइँमै सुताएर ब्यान्डेज लगाइदिए ।’
उनका अनुसार ‘अस्पतालमा स्वास्थ्यकर्मी पनि कम रहेछन्, अर्कोतिर तनावमा देखिन्थे । भुइँमै सुताएर राखे, केहीबेरमा इमर्जेन्सीमा लगेर एक्सरे गरे ।’
एक्सरेपछि हड्डीमा समस्या देखियो भनेर ट्रमा सेन्टरमा रिफर गरे । एम्बुलेन्स आउन ५ मिनेट जति लाग्यो । त्यतिन्जेल दंगाल सहितका केही घाइतेहरू भुइँमै थिए ।
एउटा एम्बुलेन्समा तीनजना घाइते राखेर ट्रमा सेन्टर लगियो । ट्रमामा पनि बेड प्याक भइसकेको रहेछ । केहीबेर भुइँमै राखे ।
दंगाल भन्छन्, ‘ट्रमामा पुग्दा कोही आँखा फुटेका, कोही शरीरका विभिन्न ठाउँमा गोली लागेकाहरू थिए ।’ इमर्जेन्सीमा समेत एक्सेर गर्न लाइन लाग्नुपरेको उनले सुनाए ।
प्रतिक्रिया 4