+
+
Shares

सिभिल अस्पतालको इमर्जेन्सी : मुटु हल्लाउने त्यो दृश्य

उनलाई तत्काल इमर्जेन्सीको रेड जोनमा भित्र छिराइयो । एकैछिनमा उनका साथीहरू रुन थाले ।

मनिषा थापा सुमित्रा लुईटेल मनिषा थापा, सुमित्रा लुईटेल
२०८२ भदौ २३ गते २३:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी प्रदर्शनमा गोली चल्दा धेरै विद्यार्थी घाइते भएका थिए र उनीहरूलाई सिभिल अस्पतालमा ल्याइएको थियो।
  • अस्पतालमा प्रहरीले चार पटक अश्रुग्यास फ्याँक्दा चिकित्सक र बिरामीहरू आत्तिएका थिए।
  • घाइतेमध्ये एक युवकको अस्पतालमा उपचार अघि नै मृत्यु भएको थियो र चिकित्सकहरू उपचारमा व्यस्त थिए।

जेनजीले बानेश्वरमा गरेको प्रदर्शनमा गोली चलेको र धेरै जना घाइतेलाई सिभिल अस्पताल लगिएको जानकारी पाएपछि हामी त्यहाँ पुग्यौँ । लगभग मध्याह्नको २ बजेको थियो । सिभिल अस्पतालको दृश्य हेरिनसक्नु थियो । यस्तो लाग्थ्यो-हामी कुनै अस्पताल होइन युद्धमैदानमा छौँ ।

अस्पतालमा कलिला उमेरका विद्यार्थीहरू ऐय्या र आत्था गर्दै छटपटाइरहेका थिए । उनीहरूको शरीरबाट आलो रगत बगिरहेको थियो । कसैको पाखुरा भाँचिएको थियो, कसैको खुट्टा । कसैको शरीरका विभिन्न भागमा गोली छिरेको प्वाल ।

कतिपय घाइतेहरू विद्यालयकै पोशाकमा थिए । उनीहरू पीडा र भयले चिच्याइरहेका थिए । इमर्जेन्सी वार्डमा थामिनसक्नु घाइते थिए । कति घाइतेलाई अस्पतालको प्यासेजमै भुइँमा सुताएर राखिएको थियो ।

थुप्रै विद्यार्थी घरमा खबर नगरी प्रदर्शनमा सहभागी हुन आएका रहेछन् । त्यसैले उनीहरूको त्यहाँ कोही चिनजानका मान्छे र आफन्त थिएनन् । एकदमै आत्तिएका देखिन्थे । कति जना त बिहानको खानासमेत नखाई प्रदर्शनमा सहभागी भएका रहेछन् ।

अस्पतालमा आएकामध्ये केहीको मृत्यु भइसकेको थियो । कति गम्भीर अवस्थामा थिए ।

अस्पतालमा घाइतेको चाप बढ्दै  थियो । त्यो सम्हाल्न स्वास्थ्यकर्मीहरूलाई निकै हम्मे परिरहेको देखिन्थ्यो । चिकित्सक, स्वास्थ्यकर्मीहरू निकै तनावग्रस्त अवस्थामा थिए ।

त्यत्तिकैमा अस्पताल हाता भित्रै प्रहरीले असुर ग्यास फ्याक्यो । उपचारमा खटिरहेका चिकित्सकहरूले आँखा पोलेर उपचार गर्न सकेनन् ।

चिकित्सकहरू आफ्नो काममा व्यस्त भइरहँदा बाहिर आन्दोलन चर्किरहेको थियो । प्रहरीले ४ पटक अस्पताल हाताभित्र अश्रुग्यास फ्याँक्यो । एक पटक गोली समेत चलायो । अवस्था झन् गम्भीर भयो । घाइते, अन्य बिरामी र चिकित्सक, स्वास्थ्यकर्मी सबै नै आत्तिन थाले ।

त्यत्तिकैमा केही समयपछि चिकित्सक र बिरामीको सहयोगको लागि काठमाडौँ महानगर प्रहरी र आशिका तामाङ आएर पानी र खाना बाँडे । अस्पतालमा बिरामीको चाप बढ्दो नै थियो । त्यस्तोमा प्रहरीको एक हुल अस्पतालभित्र नै छिरेर लाठीचार्ज गर्न थाल्यो । जसमा एक जना चिकित्सक पनि घाइते भए ।

अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मीहरू आफ्नो सम्पूर्ण शक्ति लगाएर घाइतेको उपचार गरिरहेका थिए । यसै क्रममा प्रतिनिधिसभा सदस्य डा.तोशिमा कार्की पनि बिरामीको उपचारमा खटिइरहेको देखियो । उनलाई अस्पतालको र घाइतेको अवस्थाको बारेमा सोध्दा बोल्न मानिनन् । साथै अस्पतालका निर्देशकले पनि यस विषयमा आफू नबोल्ने बताए ।

त्यहाँ भएका घाइते विधार्थीहरूले आफ्नो परिवार तथा साथीहरूलाई खबर गरिदिन अनुरोध गरिरहेका थिए । उनीहरूको आफन्तलाई खबर गर्दिएर सकेजति सहयोग गरेर हामी अस्पतालबाट निस्कने तरखरमा थियौँ । त्यसैबेला एउटा सिसा फुटेको एम्बुलेन्स आइपुग्यो ।

त्यहाँबाट टाउकोमा गोली लागेको अवस्थामा २०-२२ वर्षका युवक निकालियो । साथमा दुई-तीन जाना साथी थिए । उनलाई तत्काल इमर्जेन्सीको रेड जोनमाभित्र छिराइयो । एकैछिनमा उनका साथीहरू रुन थाले । अस्पताल आउनुअघि नै ती युवकको प्राण गइसकेको रहेछ । यो दृश्यले मुटु काप्यो ।

लेखक
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?