
News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगरमा प्रदर्शनकारीले अधिकांश सरकारी कार्यालयमा आगजनी र तोडफोड गरेका छन्।
- कोशी प्रदेशसभा भवन, विभिन्न मन्त्रालय, उच्च अदालत विराटनगर र जिल्ला अदालत मोरङ जलेर नष्ट भएका छन्।
- प्रदर्शनकारीले नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाको घर र नेकपा एमालेको पार्टी कार्यालय जलाएका छन्।
२४ भदौ, विराटनगर। जेनजी प्रदर्शनकारीले विराटनगरमा रहेका अधिकांश सरकारी कार्यालयमा आगजनी गरेका छन् ।
आगजनीका कारण मंगलबार दिनभर विराटनगरको आकाश धुवामय भएको थियो । सवारीसाधन र बजार नखुल्दा जनजीवन अस्तव्यस्त भएको थियो ।
प्रदर्शनकारीले कोशी प्रदेशका मुख्यमन्त्री कार्यालयसहितका मन्त्रालयमा आगजनी र तोडफोड गरेका हुन् । आगजनीबाट मन्त्रालयमा रहेका सवारी र फर्निचर लगायत संरचना जलेर नष्ट भएको छ ।
कोशी प्रदेशसभा भवन जलेर नष्ट भएको छ । प्रदर्शनकारीले सुरुमा प्रदेशसभा भवन आगजनी गरेका थिए ।
प्रदेशसभामा आगजनीपछि प्रदेशका मन्त्रालय र सरकारी खोजीखोजी आगजनी गरे ।
आन्दोलनकारीले आन्तरिक मामिला तथा कानून मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग,कृषि तथा सहकारी मन्त्रालय, पर्यटन, वन तथा वातावरण मन्त्रालयलगायत मन्त्रालय जलाएका छन् ।
उच्च अदालत विराटनगर र जिल्ला अदालत मोरङ पनि जलेको छ । आगलागीका कारण अदालतमा रहेका मुद्दाका कागजात नष्ट भएको छ । प्रदर्शनकारीले मालपोत कार्यालय, जिल्ला बन कार्यालयमा पनि आगजनी गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङ, कोष तथा लेखा नियन्त्रण कार्यालय, हुलाक कार्यालय, विराटनगर महानगरपालिका, आन्तरिक राजस्व कार्यालय, परीक्षा नियन्त्रण कार्यालय, प्रदेश प्रमुखको कार्यालय र निवास लगायत सरकारी संरचना जलाएका छन् ।
प्रहरीका अनुसार विराटनगरका प्राय सबै सरकारी कार्यालयमा आगजनी भएको छ । आगजनीको क्षति संकलन भएको छैन ।
प्रदर्शनकारीको आक्रोशसामु प्रहरी प्रशासन कार्यालय निरिह भएको थियो । सडकबाट करिब २ बजेसम्म सुरक्षाकर्मी थिए । तर,त्यसपछि ब्याक भएपछि प्रदर्शनकारीले आगजनी र लुटपाट गरेका छन् ।
आन्दोलनकारीले नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाको घर जलाएका छन् । यो विपी र गिरीजाप्रसाद कोइराला बसेको यो घर विराटनगर आउने आगन्तुकका लागि पर्यटकीय स्थल पनि थियो ।
आगोले घर जलेर ध्वस्त भएको छ । आन्दोलनकारीले नेकपा एमालेको पार्टी कार्यालय भवन जलाइदिएका छन् । नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डल, जीवन आचार्यको घरमा पनि आगजनी गरेका छन् । विराटनगर महानगरपालिकाका केही वडा र वडाध्यक्षको घर पनि आगजनी भएको छ ।
आन्दोलनकारीको समूहले भाटभटेनी विराटनगरमा लुटपाटपछि आगजनी गरेका छन् ।
सडक र चोकचोकमा टायर बालेर प्रदर्शन गरेको समूहले सरकारी कार्यालय खोजीखोजी आगजनी गर्दा विराटनगरको आकाश धुवामय भएको थियो । सरकारी कार्यालयमा आगजनी हुँदा कार्यालय आसपासका घरमा पनि क्षति भएको छ ।
मंगलबार साझ पनि सडकमा प्रदर्शनकारी छन् ।
प्रतिक्रिया 4