
२६ भदौ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेर अहिले निस्केका टोपबहादुर रायमाझीले आफू कारागार फर्कन तयार रहेको बताएका छन् ।
कारागार प्रशासन स्रोतकाअनुसार रायमाझीले टेलिफोन सम्पर्क गरी आफू कुनै पनि कारागार फर्कन तयार रहेको बताएका हुन् । रायमाझीले नै आफू आउन तयार रहेको बताए पनि अहिले नआउन भनिएको कारागार स्रोतले बतायो ।
‘ठीक छ हाम्रै सम्पर्कमा रहनु होला । परिस्थिति सबै मिलेपछि खबर गर्छौं भनेर भनेका छौं,’ कारागार प्रशासन स्रोतले भन्यो ।
रायमाझी सुन्धारास्थित केन्द्रीय कारागारमा थिए । ३८ सय कैदीबन्दी रहेको यो कारागारबाट ३३ सय जति फरार भएका थिए । सुन काण्डमा मुख्य नाइके चुडामणि उप्रेती गोरे पनि फरार भएका थिए ।
यसरी फरार भएका मध्ये केही कैदीबन्दी भने कारागार फर्किसकेका छन् । केही फर्कने क्रममा रहेको बताइएको छ । भुटानी शरणार्थी काण्डमै कारागारमा रहेका पूर्वसचिव टेकनारायण पाण्डेले पनि आफू कारागार फर्कन तयार रहेको सन्देश पठाएको कारागार प्रशासनले बताएको छ ।
नख्खु कारागारबाट निस्केका कैदीबन्दीहरूले मंगलबार राति १० बजेतिर आएर सुन्धारा तोडफोड गरेको सुरक्षा स्रोत बताउँछ । त्यसपछि सुरक्षाका लागि खटिएको नेपाल प्रहरी त्यहाँबाट भागेर आर्मी हेडक्वाटर पुगेको थियो ।
अनि बल्ल नेपाली सेना कारागार पुगेको थियो । त्यतिन्जेलसम्म करिब ३३ सय कैदीबन्दी फरार भइसकेका थिए ।
प्रतिक्रिया 4