+
+
Shares

जेनजी विद्रोह ऐतिहासिक : हरिबोल गजुरेल

ओली–देउवा भ्रष्ट्राचारको संरक्षकको आरोप

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २६ गते १७:४६

२६ भदौ, विराटनगर । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले जेनजी पुस्ताले इतिहास रचेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले युवाहरूको साहस, जागरण र बलिदानले नयाँ युगको सुरुवात गरेको भन्दै सलाम व्यक्त गरेका हुन् ।

गजुरेलले आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको अघिल्लो सरकारको १८ महिने कार्यकालको बचाउ गरेका छन् ।

‘प्रचण्डले नेतृत्व गरेको सरकारले १८ महिना सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य एजेन्डा बनाएर काम गर्‍यो,’ उनले भनेका छन्, ‘भ्रष्टाचारविरुद्ध ठाडो कारबाही भयो, विकास र सामाजिक सुरक्षा योजनाहरू लागू भए, र जनताको विश्वास जित्ने प्रयास स्पष्ट देखियो ।’

उनले सोही सरकारलाई ढाल्न एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा मिलेको आरोप लगाए ।

‘भ्रष्टाचारका संरक्षक केपी शर्मा ओली र शेरबहादुर देउवाले मिलेर त्यो सरकार ढालिदिए । उनीहरुको जनविरोधी कदमले प्रतिगमनको बाटो खोल्यो,’ गजुरेलले भनेका छन् ।

उनले ओली सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको आलोचना गर्दै त्यसले देश–विदेशका सबै उमेर समूहका नागरिकलाई गम्भीर असर पारेको बताए ।

प्रमुख प्रतिपक्षीको भूमिकामा रहँदा आफूहरूबाट कमजोरी भए पनि चुप नलागेको बताउँदै गजुरेलले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फिर्ता गराउन दबाब दिएको, पार्टीको औपचारिक बैठकमार्फत ओलीको राजीनामा माग गरेको र भदौ २३ को नरसंहारको विरोध गरेको स्मरण गराए ।

उनले आफ्नो पार्टी दमनको भण्डाफोर गर्दै र सहिदहरूलाई श्रद्धाञ्जली दिँदै जेन–जी आन्दोलनसँग ऐक्यबद्ध रहेको पनि बताएका छन् ।

उपमहासचिव गजुरेलले जेन–जीको आन्दोलनमा यथास्थितिवादी र पश्चगामी शक्तिहरूले घुसपैठ गरेर आफ्नो स्वार्थ पूरा गर्न खोजिरहेको भन्दै युवाहरूलाई सचेत रहन आग्रह गरेका छन् ।

‘आज पनि युवालाई भ्रमित गरेर जनयुद्ध र जनआन्दोलनका उपलब्धिलाई समाप्त गर्ने षड्यन्त्र चलिरहेको छ । यसमा जेन–जी युवाहरू अझ सजग हुनुपर्छ’, उनले भने।

अन्तमा, उनले पूँजीवादी दुष्चक्रले निम्त्याएको संकटबाट समाजवादले मात्र मुक्ति दिन सक्ने बताउँदै यो ऐतिहासिक जिम्मेवारी पूरा गर्ने शक्ति जेन–जी नै भएको बताए ।

राजनीतिप्रति सचेत युवा पुस्ताको जागरणलाई ऐतिहासिक अवसरको रूपमा लिँदै उनले भने, ‘तपाईंहरूको क्रान्तिकारी ऊर्जा र हाम्रो अनुभव मिलेर हामी फेरि नयाँ इतिहास रच्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?