+
+
Shares

जेनजी आन्दोलनमा ढले धनगढीका गौरव, आमा-बुबाको बुढेसकाल अन्धकार

बिहानै डेराबाट निस्किएको बताएपछि परिवारको मनमा चिसो पस्यो । सोधीखोजी गर्र्दै गए । राति ११ बजेतिर मात्रै गौरवको मृत्युको खबर पाए ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८२ भदौ २६ गते २१:४५

२६ भदौ, काठमाडौं । सोमबार बिहान धनगढी-५ तारानगरका २३ वर्षीय गौरव जोशी डेराबाट निस्किए । काठमाडौंमा परिवारसँगै डेरामा बस्दै आएका उनी बिहानै पढ्न जाने र त्यहीँबाट जेनजीले गर्ने प्रदर्शनमा जाने भनेर डेराबाट निस्किएका थिए । तर विडम्बना, त्यो दिन उनको जीवनकै अन्तिम दिन बन्न पुग्यो ।

काठमाडौं सहित देशभरि चलेको जेनजी आन्दोलन साँझतिर हिंसात्मक भयो । प्रहरीको गोली सिधै गौरवको टाउकोमा लाग्यो । उनी त्यहीँ ढले । घटनास्थलमै ढलेका उनलाई हतार–हतार ट्रमा सेन्टर लगियो । ट्रमा सेन्टरको इमर्जेन्सीमा डाक्टरहरूले सीपीआर दिए । उनको मुटुको धडकन सानो थियो । तर, केही समयमै त्यो धडकन समेत बन्द भयो । र, चिकित्सकले मृत घोषणा गरे ।

उनको उपचारमा संलग्न एक चिकित्सकले अनलाइनखबरसँगको कुराकानीमा भने, ‘टाउकोको पछाडिको भाग पूरै ड्यामेज भइसकेको थियो । हामीले सीपीआर दिएर सास फिर्ता ल्याउन प्रयास गर्‍यौं । तर, सकिएन ।’

मृत घोषणा गरिएपछि राति नै टिचिङ अस्पताल लगियो । र, उनको शव यतिबेला टिचिङ अस्पतालको शवगृहमा छ ।

टिकटकबाट भेटिएको पीडादायी खबर

गौरवको मृत्युको खबर परिवारमा भने अनौठो तरिकाले पुगेको थियो । धनगढीमा रहेकी भतिजी सोनिया जोशी टिकटकमा भिडन्तका भिडियो र तस्वीर हेरिरहेकी थिइन् । त्यही बेला रक्ताम्य अनुहारको एउटा तस्वीर देखियो । त्यो तस्वीर प्रष्ट देखिएको थिएन । उक्त अनुहार काठमाडौंमा रहेका आफ्ना काका गौरवको जस्तो लाग्यो ।

त्यसपछि उनले काकालाई फोन गर्दा स्विच अफ थियो । म्यासेज गरिन्, कुनै रिप्लाई आएन । त्यसपछि गौरवसँगै काठमाडौंमा बस्दै आएकी उनकी फुपु आयुषालाई फोन गरिन् । आयुषाले गौरव बिहानैदेखि डेराबाट निस्किएको बताइन ।

बिहानै डेराबाट निस्किएको बताएपछि परिवारको मनमा चिसो पस्यो । सोधीखोजी गर्र्दै गए । राति ११ बजेतिर मात्रै गौरवको मृत्युको खबर पाए ।

गौरवका भतिज लोकराज जोशीले घटनापछि घरपरिवार विक्षिप्त अवस्थामा रहेको बताए । घरको सम्पूर्ण जिम्मेवारी बोकेर सुखद् भविष्यको कल्पना गरेर विदेश जान लागेका काकाले आन्दोलनमा ज्यान गुमाउन पुगेको उनको भनाइ छ ।

‘घरको एक्लो छोरो विदेश गएर उच्च शिक्षा पढ्छु र रोजगारी प्राप्त गरी वृद्ध आमाबाको अनुहारमा खुसी ल्याउने सपना कोर्दै थिए । उहाँ नै नरहँदा हजुरआमा र बाजेलाई के भनेर सम्झाउने, के देखाएर सान्त्वना दिने ?,’ लोकराजले भने, ‘यो एकदमै कारुणिक र दु:खद अवस्था छ । आफू नै नरहँदा परिवारको भविष्यको सहारा नै रहेन । घरमा अरू कसैको रोजगारी छैन । अब के हेरेर चित्त बुझाउने ?’

गुम्यो बुढेसकालको सहारा

धनगढी–५ तारानगरका ७८ वर्षीय बासुदेव जोशी र उनकी श्रीमतीका गौरव एकमात्र बुढेसकालका सहारा थिए । पढाइमा अब्बल, विदेश जाने तयारीमा घरको गर्व नै गौरव थिए ।

तर, एकै झट्कामा त्यो सहारा हरायो । प्लस–टु सकेर यूके (बेलायत) जाने तयारीमा थिए । त्यसैका लागि भाषा पढिरहनुभएको थियो । ‘सोमबार बिहानै क्लास पनि जान्छु । त्यहीँबाट आन्दोलनमा जान्छु भनेर निस्किनु भएको रहेछ,’ गौरवका मामा शिशिर भट्टले भने ।

घरको एक्लो छोराको मृत्युपछि परिवारको सहारा चुँडिएको छ भने एक होनहार जेनजीको सपनाको समेत मरण भएको छ । ‘पढाइ सकेर विदेश जान्छु भनेर तयारी गरिरहनु भएको थियो,’ भट्टले भने, ‘मसँग भेट हुँदा पनि देश बिगारे मामा, हामी सबै मिलेर बनाउनुपर्छ भनेर देशका विषयमा कुरा हुन्थ्यो । त्यही राष्ट्रप्रतिको चिन्ताले भान्जाको ज्यान लियो ।’

छोराको मृत्युको खबर ७८ वर्षीय बुबा र आमालाई सुनाउनै सकिएन । मंगलबार दिनभरि छोरालाई चोट लागेको र उपचार भइरहेको भन्दै सान्त्वना दिइरहे । आखिर एकदिन छोराको मृत्युको खबर दिनै थियो । मंगलबार साँझ ठूलो हिम्मत गरेर आफन्तहरूले बुबाआमालाई भने ।

त्यसपछि दुवै जना विक्षिप्त अवस्थामा छन् । सोमबार बिहान दिदीले उनलाई ‘आज आन्दोलन छ, भाषा पढ्न नजाऊ’ भनेकी थिइन् । तर, उनले ‘जान्छु, फर्केर खाना खान्छु’ भनेर कोटेश्वरस्थित डेराबाट निस्किए । डेराबाट निस्किएका गौरब कहिल्यै नफर्किने गरी गए ।

गौरवको मृत्युले केवल एक घर होइन, सिंगो गाउँ–समाज नै शोकमा डुबेको छ ।

गौरवका परिवारले उनको पोस्टमार्टम गर्न नदिने बताउँदै आएका छन् । ‘हाम्रो बच्चाहरूको मृत्यु प्रहरीको गोली लागेर भएको भन्ने थाहा छ । हाम्रा बच्चाहरूको शरीर चिर्न दिँदैनौं,’ भट्टले भने ।

गोली लागेर मृत्यु भएकाका आफन्तहरू एकजुट भएर पोस्टमार्टम गर्न नदिने बताएका छन् । ‘प्रहरीले ताकी–ताकी सिधै टाउकोमा गोली हानेको छ । सहादत प्राप्त गरेका हाम्रा बच्चाहरूको शरीर कसरी चिर्न दिन्छौं ? यसमा सबै जना सहमत छौं,’ भट्टले भने ।

जेनजी आन्दोलन क्रममा हालसम्म ३४ जनाको मृत्यु भइसकेको छ । आन्दोलनको पहिलो दिन सोमबार १९ जनाको मृत्यु भएको थियो । त्यही क्रममा गौरवको पनि टाउकोमा गोली लागेको थियो ।

भट्टले पहिलो दिन मृत्यु भएका अधिकांशको टाउकोमा गोली लागेर मृत्यु भएको बताए । ‘हामीले हेरेका शवमध्ये अधिकांशको टाउकोमा गोली लागेको छ । प्रहरीले घुँडामुनि मात्रै गोली हान्न पाउने भनेको छ । तर, हाम्रा बच्चाहरूलाई सिधै टाउकोमा हानेर मारेका छन्,’ भट्टले भने ।

मृतकको आफन्तहरूले केही विषय मागका रूपमा राखेका छन् । उनीहरूले सम्मानजनक अन्त्येष्टी, उचित क्षतिपूर्ति तथा देशका लागि सहादत गरेकालाई सहिद घोषणा गर्नुपर्ने लगायत माग अघि सारेका हुन् ।

देशका लागि योगदान गरेका गौरवजस्ता सम्पूर्णको मृत्युलाई अब बन्ने अन्तरिम सरकारले गम्भीरतापूर्वक लिई सहिदको उच्चतम सम्मान र अन्य दीर्घकालीन महत्त्व राख्ने प्याकेज निर्माण गर्नुपर्ने जोशीको भनाइ छ ।

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?