
News Summary
Generated by OK AI. Editorially reviewed.- २३ र २४ भदौमा भएको हिंसात्मक घटनाले कांग्रेस पार्टीलाई ठूलो क्षति पुर्याएको छ र पार्टीले देशसँग माफी माग्नुपर्ने बताइएको छ।
- नेपाली कांग्रेसले आन्दोलनकारीको मागअनुसार सरकार बनाउन तयार रहेको र संविधानसँग जोडेर स्थायी समाधान खोज्ने प्रयास गरिरहेको छ।
- पार्टीको पुनर्गठन, शुद्धीकरण र नयाँ पुस्तासँग जोड्ने कार्यलाई महत्त्व दिँदै कांग्रेसले आफ्नो विश्वास पुनःस्थापना गर्ने योजना बनाएको छ।
२३ भदौमा हामी कसैले नचाहेको अकल्पनीय घटना भयो । म सरकारमा थिइनँ । तर हाम्रो पार्टी सरकारमा थियो । हाम्रो अनुहारमा दाग लागेको छ । ऐना पुछेर हुँदैन, हाम्रो दाग पुछ्नुपर्छ । कांग्रेस पार्टीले सिंगो देशसँग माफी माग्नु पर्छ । र, यो घाउ पुर्नुपर्छ ।
२४ भदौमा यति धेरै ठूलो क्षति भएको छ कि जसको अहिले कसैले आकलन गर्न सक्दैन । सम्पदा, कार्यालय, कलकारखाना कहाँ कति क्षति भएको छ, कसैले अनुमान पनि गर्न सक्दैन । पार्टी सभापतिदेखि पार्टीका सयौं साथीहरूमाथि भौतिक आक्रमण भएको छ । घर, निजी सम्पत्तिमा छानी-छानी आगजनी र तोडफोडहरू भएको छ ।
स्वाभाविक आक्रोशलाई स्वीकार गर्नुपर्छ । यसलाई सहज बनाउनतिर जानुपर्छ । तर जहाँ नियतवश भएको छ त्यो दण्डनीय छ । तिनलाई कानुनको दायरामा ल्याउनुपर्छ । २३ र २४ भदौमा अमानवीय र क्रुर घटनाहरू भएका छन् । प्रत्येकको छानबिन हुनुपर्छ । प्रत्येक दोषी जोसुकै होस्, कानुन अनुसारको सजाय हुनुपर्छ ।
घरहरूमा मात्रै जलाइएको छैन । कार्यालय भवनहरूमा मात्रै आगो झोसिएको छैन । धेरै मनहरू पनि फाटेको छ । यसलाई जोड्ने काम र खर्बौंको क्षति पुनर्निर्माण गर्नुपर्ने छ । यसको पहलकदमी हामीले लिनुपर्नेछ ।
२०६०/६१ सालको अवस्था सम्झौं । जतिखेर सबैभन्दा बढी हाम्रा साथीहरू मारिएका थिए । सम्पत्ति लुटिएर घरबारविहीन भएका थिए । अंगभंग भएका थिए । त्यस्तो अवस्थामा पनि देशलाई हिंसाबाट बाहिर निकाल्नुपर्छ भनेर घाउ-चोट बिर्सेर माओवादीसँग हात मिलायौं । नेपाल शान्तिको बाटोमा अगाडि बढ्यो । फेरि एकपटक सबैलाई जोड्ने एउटा पहल कदमी चाहिएको छ ।
कांग्रेस राष्ट्रिय शक्ति हो । त्यसैले म पार्टीका साथीलाई आह्वान गर्छु, उत्तेजना फैलाउने ढंगबाट होइन, सबैलाई जोड्ने/मिलाउने ढंगबाट पहलकदमी लिनका निम्ति । अहिलेको अवस्थाबाट देशलाई बाहिर निकाल्ने कुराका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौं । सबै पक्षसँग संवाद गरिरहेका छौं । राष्ट्रपति, अन्य दलहरूसँग पनि संवाद गरिरहेका छौं । आन्दोलनकारी साथीहरूसँग पनि कुनै न कुनै माध्यमबाट संवादमा पुग्ने कोसिस गरिरहेका छौं । केही कुराकानी पनि भइरहेको छ । यो बेलामा जेएनजी आन्दोलनकारी राखेको मागलाई सम्मान गरेर, सम्बोधन गरेर मात्रै देश अगाडि बढ्न सक्छ । सम्भवत: आज साँझसम्म अन्तरिम सरकारको कुरा टुंगिएला ।
आन्दोलनकारीको मागअनुरूप उहाँहरूले छानेको व्यक्तिको नेतृत्वमा सरकार बनाउन नेपाली कांग्रेस तयार मात्र होइन, आवश्यक वातावरण पनि बनाइरहेको छ । त्यही सरकारले आगामी कामहरूलाई अगाडि बढाउँछ । निर्वाचन गराउँछ, अहिलेका घटनाको छानबिन गर्ने काम, पुनर्निर्माणका कामहरूको नेतृत्व गर्छ ।
हामी अब गठन हुने सरकारलाई संविधानसँग जोड्न चाहन्छौं । किनकि, २०७२ को संविधानसँग जोडिएन भने अहिले बनेको सरकारले दिने समाधान स्थायी हुन सक्दैन । अगाडिका कामहरू गर्न सजिलो छैन, किनकि बाटै सजिलो छैन । सबैलाई जोडेर मात्रै अहिलेको अवस्थाबाट अगाडि बढ्न सकिन्छ । त्यसैले संविधानसँग जोड्न आवश्यक छ । संविधान जोगाउने पनि हाम्रो जिम्मेवारी हो । संविधान एकपटक ट्र्याकबाट चिप्लिसकेपछि त्यसलाई फर्काउन सकिँदैन ।
जेएनजीहरूले राखेको मागअनुसार नागरिक सरकार बनाउने २०४६ साल पछाडिका सबैको सम्पत्ति छानबिन गर्ने, अख्तियार लगायत सबै निकायमा सही नियुक्तिहरू गर्ने कुराहरूलाई सम्बोधन गर्नेगरी वातावरण बनाउन पहल गरिरहेका छौं । संविधानमा सुधार गरिने सन्दर्भमा सबै पक्षसँग संवाद गरिरहेका छौं । सरकार बन्ने कुरा टुंगिएसँगै विस्तारै राजनीति एउटा लयमा फर्किन्छ ।
तमाम अग्रज र साथीहरूलाई एकपटक गम्भीर भएर सोच्न आग्रह गर्छु । के पार्टी आज जस्तो अवस्थामै अगाडि बढ्न सक्छ ? सक्दैन । पार्टीको पुनर्गठन अनिवार्य छ । सबैले यो कुरालाई स्वीकार गर्न आवश्यक छ ।
आज नेपालको सबैभन्दा ठूलो पार्टी हामी हौं । संघ, प्रदेश, स्थानीय सरकारमा हामीले सबैभन्दा बढी मत प्राप्त गरेका हौं । तर मत प्राप्त गर्ने कुरा एउटा रहेछ, विश्वास प्राप्त गर्ने कुरा अर्को रहेछ । नागरिकको विश्वास हामीसँग टुटेको स्वीकार गर्नुपर्छ । किन टुट्यो ? यसको हामीले समीक्षा गर्नुपर्छ । कति प्रायोजित भिड छन्, सबैले देख्यौं । कति कुराहरू खुल्दै जाला, पोलहरू खुल्दै जालान् ।
यी घटनाहरू कसरी भए, किन भए ? को-को संलग्न थिए ? तर यो भन्दै गर्दा एउटा कुराबाट अब हामी भाग्नु हुन्न । नयाँ पुस्ताले हामीलाई नरुचाएको देखियो । हाम्रो कुरा उनीहरूले मानेनन्, पत्याएनन्। किन यस्तो भयो ? यी नौजवानहरू को हुन् ? यी हाम्रै घरका परिवारका सदस्य, छोराछोरी, भाइ-भतिजा हुन् । तर आज उनीहरू किन हामीहरूसँग छैनन् ? के कारणले गर्दा हो ? यो प्रश्नको उत्तर अब खोज्ने हो । उत्तर खोज्ने मात्र होइन, त्यहीअनुसार काम गर्ने पनि हो ।
हाम्रो दलमा गति र मति मिलेन । जुन, गतिले नेपाल चलाउने गरी पार्टी चलोस् भन्ने नागरिक र नौजवानले चाहे, त्यो गति हामीले मिलाउन सकेनौं । जुन मतिले चलोस् भनेको त्यो मति मिलाउन सकेनौं । तर मिलाउन सकेनौं भनेर हुन्न अब । हामी जिम्मा लिएर मिलाउँछौं । तर तपाईंहरूको साथ चाहिन्छ ।
केही संकल्पका निम्ति पार्टीका साथीहरूलाई आह्वान गर्न चाहन्छु । पहिलो, पार्टीको शुद्धीकरण । हामीभित्र भएका सबै फोहोर सफा गरौं । दाग मेटौं । हामी कानुनको शासनभित्र रहेर काम गर्छौं । कुनै पनि व्यक्ति पार्टीको सदस्य भएको कारणले गर्दा कुनै पनि व्यक्तिले राज्यबाट प्राप्त गर्ने अतिरिक्त सुविधा केही पनि प्राप्त गर्दैन । कुनै पनि व्यक्ति कानुनभन्दा माथि हुँदैन । हामी यी कुनै पनि कुरामा लाग्दैनौं ।
मानिसहरू रिसाएको अतिदलीयकरणले पनि हो । विश्वविद्यालय, सरकारी संयन्त्र, संवैधानिक निकायमा आफ्नो मान्छे राख्ने बनाइएको छ । अब संकल्प गर्नुपर्छ, त्यसका लागि तपाईंहरूको साथ चाहिन्छ । अब एउटा यस्तो पार्टीको रूपमा लिएर जान्छौं, जुन पार्टीले दलीयकरणबाट नेपाली समाज र नेपालको संरचनालाई बाहिर निकाल्छ ।
दोस्रो, पार्टीको पुनर्संरचना । पार्टीका ८ लाख सदस्य छन् । भ्रातृ संस्थाहरू छन् । तर भदौ २४ मा हामीले के महसुस गर्यौं ? एक प्रकारको निरीहता महसुस गर्यौं । पार्टी गुट-उपगुटमा क्षतविक्षत, टुक्राटुक्रा, धुजाधुजा भएको छ । यसलाई बदल्ने हो ।
पार्टीको विधानमा तहगत संरचना जुन रूपमा बनायौं, यो चाहिँदैन । लाखौं सदस्यहरूको बीचबाट पार्टीको नेतृत्व चयन हुने, संस्थाहरू पार्टीसँग जोडेर नराख्ने, स्वतन्त्र ढंगले चल्न दिने गर्न सक्यौं भने पार्टी एकैपटक नागरिकतिर फर्कन्छ । गुट-उपगुटबाट मुक्त हुन्छ ।
जसले आम जनताको बीचमा पार्टीलाई डोर्याउन सक्छु भनेर आउँछ, त्यसैले पार्टीको नेतृत्व गर्छ । नेताहरूको घर, पार्टी कार्यालय आगो लगाउँदा र सभापतिमाथि कुटपिट हुँदा कति कमजोर र खोक्रो भएका रहेछौं, अनभूति गर्यौं ।
तेस्रो, पार्टीले देशको मार्गचित्र कोर्ने । बल्लबल्ल हाम्रो अर्थतन्त्र लयमा फर्कन थालेको थियो । सामान्य अहिलेको आकलनले पुरानो अवस्थामा फर्किन कम्तीमा ४-५ वर्ष लाग्छ । एउटा ठूलो महाविपत्तिपछिको जस्तो अवस्था छ । मनहरू र भावनाहरू जोड्नु छ । संरचना पनि बनाउनु छ । खर्बौं रुपैयाँ चाहिएको छ ।
स्कुल, हेल्थ, सारा प्रणाली तहसनहस भएका छन् । न्यायप्रणाली र निजी क्षेत्र यति धेरै ठाउँमा आक्रमण भएको छ । वैदेशिक लगानी कसरी लिएर आउने, कसरी विश्वास जागृत गर्ने हो ? कांग्रेस संघ, प्रदेश र स्थानीय तहको सरकारमा छ । जहाँबाट सक्छौं काम गर्छौं । प्रमुख विषय नौजवानलाई कुन बाटो देखाउछौं ? हामीसँग के योजना छ ? यसलाई पार्टीको कुरा बनाउनुपर्छ । हामी बनाउँछौं । तपाईंहरूको साथ चाहिन्छ ।
चौथो, महत्वपूर्ण कुरा पार्टीलाई समुदायतिर फर्काउने हो । नागरिकतिर फर्काउने हो । समाजसँग आइसोलेट भएर पार्टी चल्दैन । विगतमा त्यही गलत काम गर्यौं । यसलाई सच्याउने हो । सच्याउँछौं । पार्टीलाई समाजसँग जोड्ने हो । हाम्रो पार्टी बनेकै त्यही बाटोबाट हो । आज नागरिक एकातिर बनाएर कार्यकर्ताको तह बनाएका छौं । पार्टीलाई अलग्गै छुट्याएर राखेका छौँ । ती सबै तहहरू भत्काउनुपर्छ । नागरिकको बीचमा लगेर पार्टीलाई जोड्नुपर्छ ।
अहिले पार्टी जसरी चलिरहेको छ, यसरी नै चलाउँछु भनेर चल्दैन । एउटा क्रमभङ्ग नगरी हुँदैन । के अहिलेको नेतृत्वबाट यो परिवर्तन सम्भव छ ? प्रत्येक पार्टीका साथीले एकपटक मनन गरौं । सम्भव छैन । अहिलेको पार्टी संरचनाबाट यो कुरा सम्भव छ ? छैन । अहिलेको शैलीबाट यो कुरा सम्भव छ ? छैन। यो सबै कुरालाई बदल्ने हो । नेतृत्व, विधान, पार्टीको काम गर्ने तरिका बदल्ने हो ।
हिजोका दिनमा यी कुराका लागि प्रयत्न गर्यौं । प्रयत्न पुगेन । प्रयास गरेको हो तर परिणाम आएन । अब प्रयत्न गर्ने मात्र होइन, परिणाम ल्याएर छाड्छौं । तर पार्टीका साथीहरूले एकपटक बुझ्नुपर्छ । आज मैले भनेका यी कुराहरू हाम्रो लागि आवश्यक हो कि होइन ? हाम्रो पार्टीको शुद्धीकरण, हामीसँग हुने कार्यक्रम र समुदायसँग जोडिने कुराबाट कांग्रेस एकपटक फेरि एउटा जनताको, नागरिकको लोकप्रिय पार्टी बन्छ ।
म ७७ जिल्ला आउँछु । तपाईंको घरमा आउँछु । तपाईंको जलेको ठाउँमा आउँछु । सबैतिर पुग्छु । तपाईंको बीचमा आउँछु । मलाई एउटै कुरा तपाईंको साथ चाहिएको छ । यो पार्टीको पुनर्गठन गर्न साथ चाहिएको छ । यो पार्टीलाई बदल्ने कुरामा साथ चाहिएको छ । यो पटक पनि हामी धुलोमा पुगेका छौं । टुक्राटुक्रा, धुजाधुजा बनाइएको छ । खरानी बनाइएको छ । खरानी टक्टक्याएर त्यहीबाट उठ्छौँ । हिजो मधेश आन्दोलन, माओवादी आन्दोलनको बेलामा कतिपय हाम्रा साथीहरूको घर जलाइयो । कतिपय हाम्रा साथीहरू मारिए । त्यसबेला पनि उठेको हो ।
तपाईंहरू कोही विचलित नभइदिनुहोला । हामीहरू सम्हाल्छौं । हामीलाई भरोसा गरिदिनुहोला । पार्टीका संस्थापक नेताहरूको समयको जस्तै स्पिरिट, नयाँ जेनेरेसनका मुद्दाहरू बुझ्ने र नयाँ जेनेरेसनले भरोसा गर्ने पार्टी हामी बनाउँछौं । २०४८ सालमा कांग्रेसको झन्डा बोकेर हिँड्दै गर्दा गौरव हुन्थ्यो । फेरि हामी त्यस्तै बनाउन सक्छौं । जेन-जीको मात्र होइन, जेन अल्फाले पनि विश्वास गर्ने पार्टी बनाउन सक्छौं ।
साथीहरू अहिले दु:खमा हुनुहुन्छ । हामीहरूको घर छैन । घर नभए पालमुनि बसेर पनि काम गर्छौं । हिजो भूकम्पको बेलामा जतिखेर देशलाई चोट लागेको थियो, त्यो बेलामा हामी आफ्नो घर छोडेर अरूको घर बनाउन गएको सम्झौं । हिजो कोभिडको बेलामा आफ्नो परिवारका सदस्यलाई बिर्सेर अरू घरका सदस्यलाई मद्दत गर्न गएको सम्झौं । यही नै नेपाली कांग्रेसको रुट हो । यो बेलामा आफ्नो दु:खमा एक अर्कालाई मद्दत पनि गरौं, मल्हम पनि लगाऔं । समुदायसँग जोडिएर सँगै काम गरौं ।
पार्टी कार्यालयको पुनर्निर्माण, सार्वजनिक सम्पत्ति जहाँ ध्वंस भएको छ, त्यसको सरसफाइ गर्ने कार्यमा तपाईंहरू जोडिनुस् । म नेपाली कांग्रेसको महामन्त्रीको रूपमा होइन, एक सदस्यको रूपमा आह्वान गर्दैछु । पार्टीका अग्रजहरूले पनि यो कुरा बुझिदिनुपर्छ ।
पार्टीमा हामी चार पुस्ताका मानिस छौं । अझ नयाँ पुस्ताका मानिसहरू जोड्नु पर्नेछ । हामी भित्रका सारा झैझगडा, मतमतान्तर सबलाई थाती राखेर पार्टी बदल्ने सन्दर्भमा, पार्टी भित्रको नेतृत्व, शैली, इमेज बदल्ने सन्दर्भमा तपाईंहरू सबैले साथ दिनुहुन्छ भन्ने विश्वास राख्छु ।
(महामन्त्री थापाले पार्टी पङ्तिलाई शुक्रबार भिडियो सन्देशमा गरेको अपिलमा आधारित ।)
प्रतिक्रिया 4