
२९ भदौ, विराटनगर । झापाको दमकमा रहेको मालपोत र नापी कार्यालय आगजनी हुनबाट कर्मचारीहरुले जोगाएका छन् ।
नापी कार्यालय दमकका सर्वेक्षक नारायण सापकोटासहितका कर्मचारीहरुले आन्दोलनकारीलाई सम्झाएर फर्काउँदै नापी र मालपोत कार्यालय आगजनी हुनबाट जोगाएका हुन् ।
जेनजी आन्दोलनका क्रममा दुई वटा अराजक समूहले मालपोत र नापीमा आगजनीको प्रयास गरेका थिए । २–३ जनाको समूहले सुरुमा मालपोत कार्यालयमा लगाएको आगो स्थानीयको सहयोगमा कर्मचारीले नियन्त्रणमा लिए । फेरि आएको अर्काे समूहले मालपोत कार्यालयमा तोडफोड गर्दै आगजनीको प्रयास गरे ।
आगजनीका लागि कार्यालय प्रवेश गरेकाहरूलाई आफू नै आन्दोलनकारीजस्तो बनेर सम्झाउँदै कार्यालयबाट बाहिर निकालेको उनले बताए ।
‘अराजक समूहलाई रोक्न आन्दोलनकारीकै रूपमा प्रस्तुत भइयो,’ सापकोटाले भने, ‘सबै भ्रष्टलाई कारवाही गर्नुपर्छ, तर यो कागजातले हामीलाई नोक्सान गर्दैन, सधैंका लागि चाहिन्छ भन्दै सम्झाएँ । यो प्रयासले कार्यालय जोगियो ।’
ललितपुर घर भएका उनी पाँच महिनाअघि दमक सरुवा भएर आएका थिए ।
जेनजी युवाहरुको प्रदर्शनको क्रममा दमकका सबैजसो सरकारी कार्यालयहरु आगजनी हुँदा मालपोत र नापी कार्यालय जोगिएका छन् ।
‘कार्यालय आगलागी हुनबाट जोगाउन सर्भेक्षक नारायण सापकोटा, अमर राई र स्थानीयको भूमिका महत्वपूर्ण थियो,’ मालपोत कार्यालय दमक शाखा प्रमुख लक्ष्मीप्रसाद खरेलले अनलाइनखबरसँग भने, ‘कार्यालयका फर्निचर र उपकरणमा क्षति भए पनि आगजनी हुन पाएन ।’
प्रतिक्रिया 4