
२९ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को नयाँ भवनबाट सञ्चालन हुने भएको छ ।
स्वास्थ्य सचिव डा. विकास देवकोटाका अनुसार परिषद्को भवनबाट सञ्चालन गर्ने गरी मन्त्रालयले तयारी अगाडि बढाएको छ ।
जेनजी प्रदर्शनका क्रममा लागेको भीषण आगलागीले स्वास्थ्य तथा जनससंख्या मन्त्रालय पूर्ण रूपमा ध्वस्त बनाएको छ ।
चारतले भवनसँगै भित्र रहेका फर्निचर, कम्प्युटर, महत्त्वपूर्ण कागजपत्रदेखि परिसरमा पार्क गरिएका सवारी साधनसम्म खरानीमा परिणत भएका छन् ।
मन्त्रालयको मुख्य भवन जलेपछि दैनिकी कामकाजमा प्रत्यक्ष अवरोध भएको छ ।
मन्त्रीमण्डल विस्तारको तयारी भइरहेका बेला स्वास्थ्य मन्त्रालयसँग मन्त्रीका लागि छुट्टै कार्यकक्ष समेत छैन ।
अहिले तत्काल काम सुरु गर्नेका लागि एनएचआरसी भवनमै मन्त्रीका लागि एउटा कोठा व्यवस्था गरिएको डा. देवकोटाले बताए ।
‘हामी कर्मचारी त एउटै हलमा बसेर काम चलाउन सक्छौँ, तर मन्त्रीका लागि अलग्गै कोठा तयार गरेका छौं,’ डा. देवकोटाले भने, ‘भवनको कुनै कोठा बाँकी छैन, काजजात कुनै पनि बाँकी छैन ।’
अहिलेलाई एनएचआरसीको काम सुरु गर्ने र सिंहदरबारभित्र स्थायी ठाउँ पाउनका लागि पहल जारी गरिरहेको उनले जानकारी दिए ।
‘इमेलमा र हामीसँग ल्याबटपमा भएका कागजपत्रलाई प्रिन्ट गरेर आवश्यकताअनुसार काम गर्ने गर्नेछौं । नयाँ नेतृत्व आएपछि उहाँको मार्ग निर्देशनपछि थप काम गर्ने विचार छ,’ डा. देवकोटाले भने ।
मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ भने हाल वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ ।
स्वास्थ्यका अधिकारीहरूको अब स्वास्थ्य सिंहदरबार सार्नुपर्ने बताउँछन् ।
‘सिंहदरबार बाहिर स्वास्थ्य मन्त्रालय मात्रै छ । पुरै संरचना नै नयाँ खडा गर्नुपरेकाले सिंहदरबाट नै सार्नुपर्ने देखिन्छ,’ डा. देवकोटाले भने, ‘ अन्य मन्त्रालयसँग समवन्य हुनाले भित्र जानुपर्ने देखिन्छ ।’
मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेल भने बाहिर हुँदा सुरक्षा व्यवस्था कमजोर हुने र अनावश्यक रूपमा बढी भीडभाड भइरहेको बताउँछन् ।
‘काम नभएका मानिसहरू पनि अनावश्यक रूपमा आइरहेकाले काम प्रभावित भइरहेको छ । स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र रहँदा यस्तो अवस्थामा न्यूनीकरण हुन्थ्यो’, उनी भन्छन् ।
२५ असार २०३० को आगलागी अघिसम्म स्वास्थ्य मन्त्रालय पनि सिंहदरबारभित्रै थियो । अचानक भएको आगलागीले सिंहदरबारको पश्चिम भागबाहेक सबै ध्वस्त भयो । अधिकांश निकाय सिंहदरबार बाहिर सरे । स्वास्थ्य मन्त्रालय पनि टेकुमा रहेको राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रको पुरानो भवनमा सर्यो ।
पद्मसुन्दर लावती स्वास्थ्य मन्त्री भएपछि फराकिलो कार्यालयको खोजी भयो । २०३९ सालमा रामशाहपथस्थित सर्वोच्च अदालतको ठीक अगाडि रहेको परिवार नियोजन तथा मातृ शिशु कल्याण योजनाको कार्यालयमा स्वास्थ्य मन्त्रालय सयो ।
फ्रान्सका प्रख्यात आर्किटेक्ट लुइस कानले डिजाइन गरेको यो भवन राजा वीरेन्द्रले आफ्नो ३१औं जन्मोत्सवको अवसरमा १३ पुस २०३२ मा उद्घाटन गरेका थिए । तत्कालीन मन्त्री लावतीको जोडबलमा स्वास्थ्य मन्त्रालय यो भवनमा सरेको थियो ।
आगलागीबाट क्षतिग्रस्त भएको सिंहदरबार पुनर्निर्माण गर्नुका साथै नयाँ भवनहरू बन्दै जाँदा मन्त्रालयहरू सिंहदरबार फर्कंदै गए । रामशाहपथमा विशेष किसिमको भवन भेटेको स्वास्थ्य मन्त्रालय गत मंगलबारको आगजनीबाट ध्वस्त बनेको छ ।
यो भवन साधारण संरचना मात्र थिएन । संसारकै नामी आर्किटेक्ट लुई कानको शैलीमा पिल्लरविनाको नमुना डिजाइनमा बनेको यसले राजधानीको बीच भागमा आर्किटेक्चर र इन्जिनियरिङको अनौठो मेल देखाउँथ्यो ।
यो भवन केवल मन्त्रालयको कार्यालय मात्र थिएन । यसले नेपालको इन्जिनियरिङ इतिहास र वास्तुशिल्प (आर्किटेक्ट) को सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको प्रतीक थियो । यस्तो खालको आर्किटेक्ट नेपालबाहेक पाकिस्तान र श्रीलंकामा मात्रै थियो । तर नेपालकै डिजाइन विशिष्ट मानिन्थ्यो । यही कारण यो भवन ‘युनिक’ कहलिन्थ्यो ।
प्रतिक्रिया 4