+
+
Shares

कोशीका सबै मन्त्रालय जले, शून्यमा झर्‍यो विराटनगर महानगर

कोशी प्रदेशसभा सचिवालयले आजबाट एउटा कोठाबाट प्रशासनिक काम सुरु गर्दैछ । सूचना अधिकारी निरोज ढकालका अनुसार प्रदेशसभाको मिडिया सेन्टर रहेको कोठामा टेबल-कुर्सी राखेर प्रशासनिक काम सुरु हुनेछ ।

हरि अधिकारी हरि अधिकारी
२०८२ भदौ २९ गते १४:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेशका सबै मन्त्रालयमा आगजनी र तोडफोडपछि चोरी र लुटपाट मच्चिएको छ र कुनै मन्त्रालय सग्लो अवस्थामा छैनन्।
  • विराटनगर महानगरपालिकामा आगजनीले सबै कार्यकक्षमा क्षति पुगेको छ र अत्यावश्यक सवारी साधनहरू जलेका छन्।
  • कोशी प्रदेशसभा सचिवालयले मिडिया सेन्टरको कोठाबाट प्रशासनिक काम सुरु गर्ने तयारी गरेको छ।

२९ भदौ, विराटनगर। जेन-जी आन्दोलनका क्रममा कोशी प्रदेशका सबै मन्त्रालय अराजक समूहको निशानामा परे । मन्त्रालहरूमा आगजनी र तोडफोडपछि चोरी र लुटपाट मच्चियो।

कोशी प्रदेश सरकारकी प्रमुखसचिव चन्द्रकला पौडेलका अनुसार कुनै मन्त्रालय सग्लो अवस्थामा छैनन्। सबै मन्त्रालयमा क्षति पुगेको छ ।

सबैभन्दा बढी क्षति मुख्यमन्त्री कार्यालय, आन्तरिक मामिला तथ कानुन, आर्थिक मामिला तथा योजना, उद्योग कृषि तथा सहकारी मन्त्रालयमा पुगेको छ ।

उनका अनुसार जिल्ला तहका कार्यालय र प्रदेशको यातायात कार्यालय क्षति कम छ । ती कार्यालय सेवा प्रवाहका लागि तयार छन् । मन्त्रालयमा भने कुनै कार्यकक्ष बाँकी नरहेको उनले बताइन् ।

‘जिल्ला तहमा असर नपरेका कार्यालयहरूले काम सुरु गरिहाल्छन् । यातायात, मालपोतको सेवा प्रवाहका लागि व्यवस्थापन भइरहेको छ,’ उनले भनिन्, ‘मुख्यमन्त्री कार्यालयसहितका मन्त्रालयमा भने तत्कालै सहज रूपमा काम सुरु गर्ने अवस्था छैन ।’

क्षति कम भएको कोठाबाट प्रशासनिक काम सुरु गर्ने तयारी भएको उनले बताइन् ।

‘पहिला जस्तो छुट्टै कोठा छुट्टै कार्यकक्ष होइन, एउटा हलमा बसेर काम गर्ने तयारी गरिरहेका छौं,’ उनले भनिन्, ‘क्षति नभएको कोठामा बसेर सेवा प्रवाह गर्ने स्थिति बन्छ ।’

‘कार्यालयको फोहोर उठाएर फालिहाल्न सक्ने अवस्था छैन । त्यसको विधि, प्रक्रिया पूरा गर्नुपर्छ । सामान्य मर्मतले गर्न सकिने कामका विषय पनि हेर्दैछौं,’ उनले भनिन्, ‘प्रदेश लोकसेवा आयोग र योजना आयोगमा क्षति छैन, अन्यत्र कार्यालयमा क्षति छ ।’

मन्त्रालयहरूले आजबाट क्षतिको विवरण संकलन गर्दै सरसफाइ सुरु गर्ने तयारी गरेका छन् ।

‘भौतिक संरचनाभन्दा सवारी साधनको क्षति धेरै छ । त्यसलाई बीमाले कभर गर्ला,’ उनले भनिन्, ‘हामी सबै विषय हेर्दैछौं, अहिले क्षतिको विवरण संकलन गर्दैछौं ।’

कोशी प्रदेशसभा सचिवालयले आजबाट एउटा कोठाबाट प्रशासनिक काम सुरु गर्दैछ । सूचना अधिकारी निरोज ढकालका अनुसार प्रदेशसभाको मिडिया सेन्टर रहेको कोठामा टेबल-कुर्सी राखेर प्रशासनिक काम सुरु हुनेछ ।

लगभग शून्यमा झर्‍यो विराटनगर महानगर

अराजक समूहले आगजनी गर्दा विराटनगर महानगरपालिका लगभग शून्य अवस्थामा पुगेको छ ।

आन्दोलनकारीले कार्यालयका कागजात, दस्तावेज र सवारी साधन जलाएका छन् ।

महानगरपालिकामा उपप्रमुख शिल्ला निरला कार्कीको कार्यकक्ष बाहेक सबै महानगरको सबै कार्यकक्षमा तोडफोड र आगजनी भएको छ ।

‘सबैतिर क्षति पुगेको छ, लगभग शून्य अवस्थामा आइपुगेको छ,’ महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालले भने, ‘अहिले नै सेवा प्रवाह गर्नसक्ने अवस्थामा छैनौं ।’

 अराजक समूहको आगजनीको निसानामा महानगरको अत्यावश्यक सवारी साधन पनि परेका छन् । डोजर, मिनी ट्रकलगायत विपदमा प्रयोग हुने सवारी जलेका छन् । महानगरपालिकाले पार्किङ गरेर राखेका सबै सरकारी जलेका छन् ।

कार्यालय भित्र र बाहिर भएको क्षतिको विवरण संकलन भएको छैन । आजबाट क्षतिको विवरण संकलन गर्दै सरसफाइ गर्ने दुलालले बताए ।

उपप्रमुख शिल्पा निरला कार्कीका अनुसार साधन-स्रोतका हिसाबले महानगरपालिका शून्य अवस्थामा आइपुगेको छ । ‘गाडीहरू सबै जलेको छ, फोहोर उठाउनेदेखि पानी हाल्नेदेखि विद्युतको गाडी सबै जलाइएको छ,’ उनले भनिन्, ‘अहिले हामी शून्य आइपुगेका छौं, साधन-स्रोतका हिसाबले ।’

कर्मचारीलाई बस्ने टेबल-कुर्सी र कार्यालयका दस्ताबेज जलेको उनले बताइन् ।

जलेको खरानीबाट कसरी उठ्ने भन्ने अन्योलमा छ महानगरपालिका । कार्यालय सुरु गर्दा चाहिने न्यूनतम सामग्री पनि महानगरपालिकासँग छैन ।

‘सेवा प्रवाह गर्दा सबै कुरा चाहियो, तर हामीसँग केही छैन, अहिले सेवा प्रवाह गर्न सक्ने अवस्थामा छैनौं,’ उनले भनिन्,‘मेरो कार्यकक्ष बाहेक कुनै कार्यकक्ष सही-सलामत छैन ।’

महत्पपूर्ण कागजात भएको नक्साफाँट, राजस्व फाँट, घरजग्गा फाँटमा छानीछानी आगजनी भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालका अनुसार महानगरसँग रेकर्डमा रहेका अधिकांश कागजात र जलेका नष्ट भएका छन् ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?