+
+
Shares

अर्थ प्रशासनका विज्ञलाई अर्थमन्त्रीको जिम्मेवारी

आर्थिक नीतिमा सुधार, सार्वजनिक वित्त व्यवस्थापन तथा बजेट, कर नीति र वैदेशिक सहायता व्यवस्थापनलगायत क्षेत्रमा खनालको विशेष दख्खल छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २९ गते २२:४३

२९ भदौ, काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले अर्थ मन्त्रालयको बागडोर सम्हाल्ने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ तीन मन्त्रीको नाम टुंगो लगाएकी थिइन् ।

जसमध्ये खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिन लागिएको बालुवाटार निकट स्रोतले बताएको छ । स्रोतका अनुसार, उनीहरूको शपथ भने सोमबार मात्रै हुनेछ ।

अर्थमन्त्री बन्न लागेका खनाल अर्थ प्रशासनका विज्ञ मानिन्छन् । अर्थ मन्त्रालयको प्रशासनिक नेतृत्वमा रहँदा र त्यसपछि पनि खनालले आर्थिक सुधारको पक्षमा निरन्तर काम गरिरहेका छन् । उनलाई अर्थतन्त्रमा विशेष दख्खल भएका र इमानदार प्रशासकका रुपमा लिने गरिन्छ ।

को हुन् खनाल ?

आफ्नो सरकारी जीवनको अधिकांश समय अर्थ मन्त्रालयमा बिताएका खनालले १५ भदौ २०६५ देखि ३० चैत २०६७ सम्म अर्थ मन्त्रालयका सचिवको रुपमा काम गरेका थिए । त्यसअघि २३ साउन २०६३ देखि उनले मन्त्रालयको राजस्व सचिवका रुपमा काम गरेका थिए ।

सचिवका रुपमा खनालले डा. रामशरण महत, डा. बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे तथा भरतमोहन अधिकारीलगायत मन्त्रीहरूसँग काम गरेका थिए । भरतमोहन अधिकारी मन्त्री भएका बखत बजेट निर्माणको काम मन्त्रालयबाहिर भइरहेको थाहा पाएपछि खनालले सचिवबाट राजीनामा दिएका थिए ।

मन्त्रालयको सहसचिव रहँदा खनालले बजेट तथा कार्यक्रम महाशाखा तथा वैदेशिक सहयोग समन्वय महाशाखा प्रमुखलगायत जिम्मेवारी सम्हालेका थिए ।

अर्थ मन्त्रालयबाट निवृत्त भएपछि खनालले अध्ययन, अनुसन्धान, परामर्श, प्राध्यापनलगायतका भूमिका निर्वाह गरिरहेका छन् । उनले अघिल्लो सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्ष भएर काम गरेका छन् । त्यस आयोगले हालै मात्रै प्रतिवेदन बुझाएकाले आफैंले प्रस्ताव गरेअनुरुप आर्थिक सुधारका काम अघि बढाउने सुविधा खनाललाई हुनेछ ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा खनालले प्रधानमन्त्रीका आर्थिक सल्लाहकारको भूमिका समेत निर्वाह गरेका थिए । खनालले डा. भट्टराईले गठन गरेको नयाँ शक्ति पार्टीको आर्थिक विभाग प्रमुख भएर केही समय राजनीति पनि गरे । त्यसअघि उनी नेपाली कांग्रेसमा प्रवेश गरी राजनीतिमा थालेका थिए । खनालले राष्ट्रपति चुरे संरक्षण विकास समितिको अध्यक्षको भूमिका पनि निर्वाह गरेका थिए ।

आर्थिक नीतिमा सुधार, सार्वजनिक वित्त व्यवस्थापन तथा बजेट, कर नीति र वैदेशिक सहायता व्यवस्थापनलगायत क्षेत्रमा खनालको विशेष दख्खल छ ।

उनलाई वौद्धिक, इमानदार र निस्वार्थ रूपमा शासन–प्रशासनमा काम गर्ने टेक्नोट्रयाटका रुपमा लिने गरिन्छ ।

खनालले काठमाडौं विश्वविद्यालयलगायतमा अध्यापन गराएका छन् ।

उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर (एमबीए तथा एमकम) गरेका छन् भने भारतबाट एसीएमए उपाधि हासिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?