
News Summary
Generated by OK AI. Editorially reviewed.- ‘जेनजी रेभोलुसन’ले पुरानो पुस्तालाई इग्नोर गर्दै पुस्तान्तरणको प्रक्रियामा क्रमभंग गरिदियो।
- यस आन्दोलनले पुरानो अथोरिटी अस्वीकार गरी व्यक्तिको मूल्य र सशक्ततालाई प्राथमिकता दियो।
- नेपाली सिनेमामा शैली, विषयवस्तु, प्रतिनिधित्व र सत्यका नयाँ परिभाषा सहित तीव्र गतिमा परिवर्तन आउँदैछ।
‘जेनजी रेभोलुसन’को मूल मर्म ‘पुस्ताको लडाइ’ हो । एउटा पुस्ताले यो समस्यालाई प्रक्रियागत ढंगले समाधान गर्छौं भनेर सोचिराख्या थियो । त्यो प्रक्रिया लम्बिएको लम्बियै थियो । ‘जेनजी रेभालुसन’ले प्रक्रियागतरुपमा समस्या समाधान गर्ने कुरालाई यसरी हस्तक्षेप गरिदियो कि उलटपुलट गरिदियो । क्रमभंग गरिदियो ।
‘कोर’ कुरा के बुझ्न सकिन्छ भने अब धेरै कुरामा ‘क्रमभंग’ हुनेवाला छ । सिनेमाको सन्दर्भमा पनि क्रमभंग हुनेवाला छ । एउटा पुस्ताबीच विस्तारै पुस्तान्तरण हुन्छ भन्ने सोच्यौं हामीले तर यसले बीचको पुस्तालाई ‘इग्नोर’ गरिदियो । अहिलेको लडाइ पुरानो र नयाँ पुस्ताबीचको लडाइ हो ।
सिनेमामा पनि हामीले क्रमिक विकासमा कुरा अघि बढ्छ भन्ने मान्यता राख्यौं । त्यो विचारलाई ‘जेनजी आन्दोलन’ले धक्का दियो । अब पुरानो गति र शैलीमा होइन, अब एकदमै मानवीय दृष्टिकोणबाट हुनुपर्छ । एकदमै आधुनिक शैलीमा हुनुपर्छ भन्नेतिर कुरा अघि बढ्यो ।
अब यसको मूलस्वरुपमा क्रमभंगता हुन्छ । जेनजी आन्दोलनपछि के कुरामा क्रमभंगता हुन्छ र कस्तो विचार विजारोपण हुन्छ भन्ने कुरा यहाँ चर्चा गरौं ।
सबैभन्दा मुख्य कुराले यसले अथोरिटी (प्राधिकार)लाई अस्वीकार गर्छ । पुरानो अथोरिटीलाई अस्वीकार गर्दै एकदमै नयाँ अथोरिटीको निर्माण गर्छ । अथोरिटी भनेको निर्णायकता हो, जसले शक्ति निर्माण गर्छ । जसले ‘सामूहिक भाष्य’ निर्माण गर्छ ।
अबको अथोरिटी ‘सामूहिक सोच’बाट होइन, अबकोे अथोरिटी भनेको यसले व्यक्तिको मूल्यलाई प्राथमिकतामा राख्छ । हरेक व्यक्तिको सशक्ततालाई यसले धेरै अन्वेषण गर्ने कोसिस गर्छ ।
हिजोसम्म हामी ‘सामूहिकताको न्यारेटिभ’भित्र थियौं । अहिलेको सन्दर्भले के बुझाइदियो भने- अब व्यक्तिगत अधिकारबाट सामूहिक अधिकार सम्भव हुन्छ ।
यसले प्रभाव पार्ने अर्को पाटो हो- ‘सत्य’ हो । हामीले आजसम्म जेलाई सत्य मानिरहेका थियौं, अब त्यो नहुनसक्छ । अब सत्यका परिभाषा बदलिन्छन् । हिजोका सत्य अब रहनेछैनन् । अब नयाँ सत्य निर्माण हुनेछन् । यसक्रममा कतिपय कुरामा आदर्शहरूमा टकराव हुनेछ । अब ‘हिंसा’को बारेमा रहेको सत्य परिवर्तन हुन्छ । नैतिकता बारेका सत्य चेन्ज हुन्छन् ।
अब हिजोको जस्तो नैतिकता हुँदैन । अब के सहि वा गलत हो भन्ने सत्य परिवर्तन हुन्छन् । यी सत्यलाई श्रृंखलाबद्ध हिसाबले होइन, क्रमभंगको रुपमा स्थापित गर्यो । अबको मनोविज्ञान ‘छलाङ’को हो । हिँडेर पुगेन उफ्रिनुपर्छ भन्ने मनोविज्ञान हुन्छ । राजनीतिकरुपमा पनि यो ठूलो उफ्राइ हो ।
अबको परिवर्तन ‘शैली’मा हुन्छ । सिनेमा निर्माण, कथावाचनको शैलीमा ठूलो परिवर्तन आउने मैले देखिरहेको छु । कुनै पनि कुरालाई हेर्ने दृष्टिकोण र त्यसलाई प्रस्तुत गर्ने शैली नै फरक हुन्छ । यसले प्रविधिको शैलीलाई पनि फरक तुल्याउँछ ।
जेनजी आन्दोलन सामाजिक संजाल ‘डिस्कर्ड’बाट सम्भव भयो । हामीसँग त फेसबुक पुरानो शैली भैसक्यो । हामीले हिजो फेसबुक र ट्विटरले परिवर्तन ल्याउँछ भन्थ्यौं । अब ती नभएपनि हामीसँग वैकल्पिक प्लाटफर्म छन् भनेपछि अबको पुस्ता ‘अल्टरनेटिभ’ हुने देखिन्छ । हिजोको पुस्ताले जुन सोच्नै सक्या थिएन । अब यसले प्राविधिक शैलीमा पनि ठूलो भिन्नता ल्याउँछ ।
यसले अब ‘प्रतिनिधित्व’मा पनि छलाङ ल्याउँछ । बीचमा नेपाली सिनेमाले गाउँ देख्या थियो । गाउँका मान्छे, गरिब, अभाव देखेको थियो । अब यसले आधुनिक पुस्ता देख्छ जोसँग द्वन्द्व फरक–फरक छन् । अब १८/२० वर्ष उमेरको पुस्तालाई प्रतिनिधित्व गर्छ ।
यो प्रतिनिधित्व हिजोको पुस्ताले सोच्नै सक्दैन । जेनजी पुस्तालाई बेवास्ता गरिएको थियो । केटाकेटी भनिन्थ्यो । तर, यो पुस्ताले यस्तो परिवर्तन ल्याउन सक्छ भनेपछि ‘प्रतिनिधित्व’को कुरामा पनि फरक हुन्छ । यसमा फरक हुने वित्तिकै ‘अनुहार’ पनि भिन्न हुन्छ, जुन पर्दामा देखिन्छन् ।
अनुहारलाई पनि परिवर्तन ल्याउँछ । ‘फेस’ बदलिने वित्तिकै ‘स्टाडरम’को आजको मान्यता र स्वरुप छ, त्यो परिवर्तन हुन्छ । जसलाई हामीले स्टार मान्दै आएका थियौं । यसमा फरक आउँछ । मुख्य कुरा त, कसलाई प्रतिनिधित्व गर्यो भन्ने कुराले अर्थ राख्छ ।
जेनजी पुस्ताले आत्मविश्वाससहित आफूलाई प्रमाणित गरिसक्यो । यसले ‘युथ आर द फ्रन्टिअर’ भन्ने मान्यता स्थापित गर्छ । देश छाडेर जाने भनिने पुस्ताले आज ‘हामी परिवर्तनका संवाहक’ भनेर आफूलाई पुष्टि गर्यो । अब ‘युथ आर द चेन्जमेकर’ भन्ने विषय निर्माण गर्छ ।
विषयवस्तुमा परिवर्तन हुने वित्तिकै फिल्ममा जुन परम्परागत ‘थ्री एक्ट’ संरचनामा हामीले काम गरिरहेका छौं, त्यो संरचना परिवर्तन हुन्छ । अब पात्र स्थापना गर्ने, बिस्तारै समस्या बढाउने, निष्कषमा पुर्याउने भन्ने जुन हाम्रो क्लासिक मान्यता थियो, त्यसलाई यसले भत्काउँछ ।
यो सँगै, अब कथाभित्रको द्वन्द्वको दायरामा परिवर्तन हुन्छ । बाह्य द्वन्द्व मात्र नहुनसक्छ, आन्तरिक मनोविज्ञानका द्वन्द्वमा धरै अन्वेषण हुनसक्छ । युवापुस्ता धेरैभन्दा धेरै एड्भेन्चर (साहसिक) सन्दर्भमा छन् । अबको केन्द्रीय द्वन्द्वहरू परिवर्तन हुन्छ । अहिले हामी ‘अभाव’को केन्द्रीय द्वन्द्वमा छौं । अब ‘अभाव’बाट होइन, एड्भेन्चर र एक्स्प्लोरबाट अघि बढ्नुपर्छ भन्ने मान्यता आउँछ ।
यसले ‘मूल्य’मा फरक पार्छ । सिनेमाले बोक्ने थिम्याटिक भ्यालुमा प्रभाव पार्छ । अब यसले कठिन प्रश्न र कठिन सम्भावनाको अन्वेषण गर्छ । अब प्रश्नको मूल्य सबैभन्दा उच्च हुन्छ । समाज र आफूलाई धेरै प्रश्न गर्छ । किनभने यो पुस्ताले गरेको त प्रश्न हो, चुनौती हो ।
आधारभूत रुपमा यी मुख्यतः १० पाटाहरू- अथोरिटी, सत्य, प्रविधि, शैली, अनुहार, प्रतिनिधित्व, विषयवस्तु, संरचना, मूल्य र द्वन्द्वमा प्रभाव पार्ने देखिन्छ ।
लामो समय हामीले कुण्ठाग्रस्त मनोविज्ञानबाट फिल्म बनायौं । हामी दबाब र कुण्ठाग्रस्त मनोविज्ञानमा थियौं । पछिल्लो पुस्ता त कुण्ठा थेग्नै नसक्ने स्थितीमा पुगिसक्या थियो । हामी निराशाको चरणमा थियौं । यसले आशा जगाउँछ ।
अब नेपाली फिल्म ‘होमोडियस युग’तर्फ प्रवेश गर्यो । जहाँ, मानवीय सर्वोच्चता प्रमुख हुन्छ । अबका फिल्म ‘तीव्र गति’का फिल्ममा रुपान्तरण हुन्छन् । अब गति धिमा हुनेछैन । यो पुस्ता तत्काल नतिजा चाहन्छ । यसले फिल्मको कथाको गतिलाई पनि रुपान्तरण गर्छ ।
यो परिवर्तनले नयाँ फिल्ममेकरमा उत्साह सिर्जना गर्छ । तर, पुरानो मनोविज्ञानमा हुर्किएकालाई निराश तुल्याउन सक्छ । अब चलचित्रको भाषा र दर्शकलाई पुनर्संरचना गर्नुपर्नेछ । अहिले ०६२/०६३ सालको आन्दोलनले निर्धारण गरेको एउटा पुस्ता छ । अर्को ७० सालपछि राजनीतिक अस्थिरतामा हुर्किएको पुस्ता छ ।
अहिलेको परिस्थितीलाई आत्मसात गर्ने हो भने जेनजी मनोविज्ञानलाई अघि बढाउनुपर्छ । जेनजी भनेर हामी शब्दावलीभित्र मात्र रुमल्लिनु भएन । समाजको विकासमा यसले जहिले पनि पुराना मान्यतालाई भत्काएर नयाँ मान्यता विकास गर्न चाहन्छ ।
पुरानो मान्यताले शिक्षित भएका मानिसलाई नयाँ मान्यता बुझ्ने दृष्टिकोणलाई त्यो सहिष्णुता र उत्सुकता आवश्यक छ । समाज र मनोरञ्जनले एकअर्कालाई प्रभावित तुल्याउने भएकाले अब मनोरञ्जनको आधारभूत मूल्यमा रुपान्तरण ल्याउन सकेनौं भने यसले समाजलाई फेरि जडतातिर लैजान्छ । अहिलेको सन्दर्भमा समाजको रुपान्तरणलाई आत्मसात गर्ने मनोरञ्जनको दृष्टिकोण निर्माण गर्न जरुरी छ ।
विष्णु शर्मासँगको कुराकानीमा आधारित ।
प्रतिक्रिया 4