
३० भदौ, काठमाडौं । चालु आर्थिक वर्ष पहिलो महिना साउनमा १ खर्ब २९ अर्ब रुपैयाँ बराबर विदेशी विनिमय सञ्चिति थप भएको छ ।
२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति साउन मसान्तमा २८ खर्ब ६ अर्ब ४ करोड पुगेको हो ।
साउनमा विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा साउन मसान्तमा २.७ प्रतिशत बढेर २० अर्ब ३ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ साउन मसान्तमा ४ प्रतिशतले वृद्धि भई २५ खर्ब ११ अर्ब ४५ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा साउन मसान्तमा १२ प्रतिशतले वद्धि भई २ खर्ब ९४ अर्ब ५८ करोड कायम भएको छ । २०८२ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.४ प्रतिशत छ ।
चालु आव पहिलो महिनाको आयात आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.४ महिनाको वस्तु आयात र १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
२०८२ साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमश: ४५.९ प्रतिशत, १३८.३ र ३६ प्रतिशत छन् । २०८२ असार मसान्तमा उक्त अनुपात क्रमश: ४३.८, १२८.१ र ३४.१ प्रतिशत थिए ।
प्रतिक्रिया 4