+
+
Shares
गोकर्ण विष्टसँग अन्तर्वार्ता :

‘कमजोरीको प्रतिरक्षा गरेर पार्टी खरानी हुनदिन्नौं, नयाँ शिराबाट एमालेलाई अघि बढाउँछौं’

यति ठूलो घटना हुँदा पनि इतिहासबाट पाठ सिकेनौं भने हामीलाई खरानी हुनबाट कसैले रोक्न सक्दैन । तर हामी पार्टीलाई खरानी हुन दिंदैनौं ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १ गते ९:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ र सडक विद्रोहले राजनीतिक कोर्स नै बदलिएको छ।
  • एमाले सचिव गोकर्ण विष्टले जेनजी पुस्ताको विद्रोहलाई डिजिटल विद्रोह भनेका छन् र सामाजिक सञ्जाल बन्दले विद्रोह उत्पन्न भएको बताउनुभएको छ।
  • एमालेले निर्वाचन बाहेक अन्य विकल्प नराख्नुपर्ने र पार्टीभित्र कमजोरी सच्याउनुपर्ने गोकर्ण विष्टले बताउनुभएको छ।

जेनजी पुस्ताको सडक विद्रोहले राजनीतिक कोर्स नै बदलिएको छ । चुनाव गराउने जिम्मेवारी सहित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । दल र तिनका नेताहरू विक्षिप्त छन् । सिंहदबार, संसद् भवन, सर्वोच्च अदालतसँगै नेताहरूका घर पनि जलेका छन् ।

जेनजी विद्रोहपछि लगभग सबैजसो नेताहरू सार्वजनिक भइसकेका छन् । तर सडक विद्रोहको निशानामा रहेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अझै सार्वजनिक भएका छैनन् । उनको दल एमाले अझै ऐंठनमै देखिन्छ । नेतापिच्छे वक्तव्य र स्टाटस आउने, तर सार्वजनिक छलफल अहिलेसम्म भएको देखिंदैन ।

यिनै सन्दर्भमा एमाले सचिव गोकर्ण विष्टसँग अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको कुराकानी :

जेनजी विद्रोहलाई कतिपय त अराजक गतिविधि भनिरहेका छन्; तपाईंको बुझाइ के हो ?

२०६२/६३ सालको आन्दोलनपछि जनताका जे अपेक्षाहरू थिए, खासगरी शिक्षा र स्वास्थ्य सेवामा आमूल सुधार चाहेका थिए । रोजगारीका अवसरहरूको सिर्जना, भ्रष्टाचार नियन्त्रण, सुशासन, पारदर्शिता जस्ता कुराहरू जनताले अपेक्षा राखेका थिए । तर अपेक्षाकृत त्यसमा सुधार हुन सकेन ।

कैयन् कुराहरू राम्रो भएको छ तर, जनताको आशा अनुकूल सुधार हुन सकेन । प्रशासनिक ढिलासुस्ती, पैसा विना काम नहुने र पहुँचका आधारमा मात्रै अवसर प्राप्त गर्ने प्रवृत्तिहरू पनि कायमै रहे । यस्तो अवस्थामा युवामा वितृष्णा र आक्रोश विस्तारै थपिंदै थियो ।

विभिन्न ढंगले व्यक्त पनि भएको थियो । जनताका असन्तुष्टिलाई समयमै बोध गरेर, त्यसलाई सच्याएर उनीहरूका अपेक्षा पूरा गर्नुपर्ने कुरामा कहीं न कहीं त्रुटि गरेका हौं । यसको जिम्मेवारी हामीले लिनै पर्छ ।

जनतामा असन्तुष्टि चुलिंदै गएका बेला सामाजिक सञ्जाल बन्द गर्‍यौं । सामाजिक सञ्जाल युवाहरूको जीवनको अनिवार्य शर्त बनेको थियो । तेस्रो विश्वका नागरिकले पनि पहिलो विश्वका नागरिक सरह आफूलाई विकास गर्ने अवसरको रूपमा ठानिरहेका थिए, सामाजिक सञ्जाल मार्फत । अचानक बन्द गर्दा अत्यन्त असहज महसुस गरे । र, उनीहरूको आक्रोश विस्फोटमा परिवर्तन भयो ।

दुई/चार जना व्यक्तिहरूले मात्रै संसार थेगे जस्तो गर्ने प्रवृत्ति कायमै रहने हो भने पार्टी बलियो हुँदैन

यो विद्रोह हो ?

एकप्रकारले यो डिजिटल विद्रोह हो । दुनियाँको कुनै पनि ठाउँमा युवाहरूले छिटो–छिटो परिवर्तन चाहन्छन् । राजनीतिक रंगमञ्चमा एकै प्रकारका पात्रहरू लामो समय बसिरहेको देख्न नपरोस् भन्ने चाहन्छन् । दुनियाँमा जस्तै तीव्र ढंगले नेपालमा पनि विकास होस् भन्ने चाहन्छन् । त्यस्तो नहुँदा उनीहरूमा कुण्ठा पैदा हुन्छ ।

आज ९० प्रतिशत युवामा विदेश जाने कि स्वदेशमै केही गर्ने भन्ने दोमन देखा परिरहेको छ । यस्तो अवस्थामा विदेश जानेहरूमा पनि असन्तोष पैदा भएको छ । किनकि देशभित्र अवसर नभएकाले विदेश आउनु पर्‍यो भन्ने उनीहरूलाई लाग्छ । देशभित्रका युवाहरूको पनि मन कुण्ठित हुने स्थिति छ । पहुँच विना काम हुनसक्दैन भन्ने बुझाइ छ ।

जनतामा पैदा भइरहेको यस्तो मनोविज्ञान बुझ्न नसक्दा विद्रोह भयो । सामाजिक सञ्जाल बन्द गर्नै हुँदैनथ्यो । सरकारले गम्भीरता साथ सोच्नुपर्थ्यो । तर सामाजिक सञ्जाल बन्दले विद्रोह पैदा भयो । त्यो विद्रोहलाई शान्तिपूर्ण रूपमा व्यवस्थापन गर्न सक्नुपर्थ्यो । तर दर्जनौं होनहार युवाहरूको अमूल्य जीवन गुम्ने गरी जसरी गोली चलाइयो, यो ज्यादै दु:खदायी घटना भयो ।

भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र विकास गर्ने माग राखेका ती जेनजीहरू हाम्रै भाइ, छोरा–छोरी, भतिज–भतिजाहरू हुन् । हाम्रै सन्तान हुन् । तर एउटा दु:खद् घटना भयो ।

र, अर्को दिन जेनजीको आक्रोश र विद्रोहलाई गलत दिशामा लैजान चाहने तत्वहरूले धमिलो पानीमा माछा मार्ने प्रयत्न पनि गर्‍यो । सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र ध्वंस पार्ने काम गरे । सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, संसद् भवनहरूमा धेरै महत्वपूर्ण ऐतिहासिक दस्तावेजहरू नष्ट गरियो ।

निजी तथा सार्वजनिक सम्पत्ति ध्वंस गर्नेहरू जेनजी थिएनन् ?

जेनजीको विद्रोहभित्र कतिपय गलत तत्वहरू घुसपैठ थियो होला । तर जेनजीको विद्रोहलाई नकारात्मक हिसाबले मात्र हेर्ने कुरा होइन । हामीलाई सुध्रन सचेत बनाएको छ । खरानीको अवस्थामा पुर्‍याएर पनि सचेत बनाएको छ ।

तर, विद्रोहलाई गलत दिशामा लैजान चाहने शक्तिहरू पनि त्यहाँभित्र प्रवेश गरे । उनीहरूले देशव्यापी रूपमा निजी तथा सार्वजनिक सम्पत्ति ध्वस्त पार्ने काम गरे । पवित्र भावनाका साथ अगाडि बढ्ने हाम्रा भाइबहिनीहरूको त्यस्तो चाहना थिएन होला ।

यो विद्रोहलाई पुराना पार्टी र नेतृत्वमाथि गरिएको कारबाही बुझौं ?

त्यस्तो पनि ठान्दिनँ । राजनीतिमा पार्टीका तर्फबाट थुप्रै कमजोरी भए होलान् । सरकारमा बस्दा थुप्रै कमजोरी भएका पनि छन् । व्यक्तिगत हिसाबले मेरा पनि भएका होलान् । हामीले आफ्ना कमजोरीहरू सच्याउनु पर्दछ । आत्मसात् र आत्मालोचना गर्नैपर्छ ।

इतिहासले यत्रो ठूलो पाठ सिकाउँदा हामीले सबै राम्रो गर्‍यौं भनेर दम्भ देखायौं भने आउँदा दिनहरूमा सच्याएर लैजान सक्दैनौं ।

यसकारण हामी सच्चिनुपर्ने त छ नै, तर विद्रोहका क्रममा भएका अर्को पाटोबारे पनि सोच्नुपर्नेछ । २०३६ सालको संघर्ष होस्, २०४६ साल अथवा २०६२/६३ सालमा राजनीतिक पार्टीहरूले अगुवाइ गरेर निस्कने विशाल जनप्रदर्शनहरूले छिटफुट घटना बाहेक यसप्रकारको विनाश गरेको थिएन ।

यसले नेपाली समाज कता जाँदैछ, कुन ढंगले जाँदैछ ? सम्पत्ति तोडफोड, आगजनी र लुटपाट गर्ने प्रवृत्तिले समाजमा नयाँ चुनौती पैदा गरेको छ । यही प्रकारको मनोविज्ञान बढ्दै गयो भने समाज नै विघटनतिर जाने खतरा हुन्छ ।

पार्टीभित्र र सरकारभित्र देखिएका गलत प्रवृत्तिबारे पर्याप्त मात्रामा बोल्न र सच्याउने आँट गर्न सक्नुपर्थ्यो, त्यो हामीले सकेनौं । त्यसमा एक जना दोषी म पनि हुँ, म पनि आत्मालोचित हुनुपर्छ

जेनजी विद्रोहपछि दलहरू पराजित मनोविज्ञानमा छन् । जेनजीहरूले पनि जितेको नभएर सम्झौता गरेको अवस्था छ । सम्भावित संकटलाई कसरी हेर्नुभएको छ ?

हामी सबैले बुझेको कुरा हो– सडकले सरकार अपदस्त गरेको र भाग्नु परेको अवस्था हो । प्रतिनिधिसभा विघटन भएको र संविधानको दायरा भन्दा केही बाहिरबाट सरकार निर्माण भएको अवस्था हो । एक ढंगले संविधानमाथि संकट देखा परेको छ नै ।

तर राष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा, संवैधानिक निकायहरू, संविधान बमोजिम निर्माण गरिएका आयोगहरू जीवित छन् । प्रदेश र स्थानीय तह जीवित छन् ।

यो अवस्थामा कतिपय राजनीतिक पात्रहरूमा निर्वाचन घोषणा अस्वीकार गर्न खोजेको जस्तो, खुलेर स्वीकार गर्न नसकेको जस्तो प्रवृत्तिहरू देखा परेका छन् ।

तर यतिबेला हाम्रो विकल्प भनेको तोकिएको समयभित्रै शान्तिपूर्ण, निष्पक्ष र निर्भयका साथ जनताले मतदान गर्न पाउने निर्वाचनको वातावरण निर्माण गर्नु हो । यदि तोकिएको समयभित्र निर्वाचन हुनसकेन भने संविधान र मुलुकको राजनीति थप संकटमा जानेछ । प्रधानमन्त्रीलाई पनि तपाईं मार्फत यसतर्फ ध्यानाकर्षण गराउँछु ।

एमालेले त अहिलेसम्म संस्थागत धारणा सार्वजनिक गर्न समेत सकेको देखिंदैन नि !

नेपाल बार लगायत कैयन् संस्थाले प्रतिनिधिसभा पुनर्स्थापनाको माग पनि गरेका छन् । प्रतिनिधिसभाका मुख्यसचेतकहरूले यो माग राख्नुभएको छ । तर यतिबेला प्रतिनिधिसभा पुनर्स्थापनाको मागलाई जोड दिएर निर्वाचनको माहोललाई कमजोर बनाउनु मुलुकलाई थप संकटतिर लैजाने कुरा हो ।

यसकारण निर्वाचन बाहेक हामीले अन्यत्र ध्यान दिनुहुँदैन । यतिबेला हामीले ध्यान दिनुपर्ने भनेको निर्वाचन गर्न सरकारलाई दबाब दिने र निर्वाचनको माहोल तयार गर्ने हो । जनतालाई मानसिक हिसाबले निर्वाचनको लागि सजग बनाउने र निर्वाचनमा जान पार्टी कार्यकर्ताको मनोबल उठाउनेतिर लाग्नु हो ।

मुलुकको राजनीतिक–संवैधानिक निकास निर्वाचनबाट सम्भव छ भन्ने हो ?

निर्वाचनमा जाँदा भलै पार्टीहरूले धक्का खानुपर्ने परिस्थिति पनि आउला । हामीले जे अपेक्षा राखेका छौं, त्यो पूरा नहुन पनि सक्छ । तर समग्र देशको इतिहासमा अमूक पार्टीहरूले विजय प्राप्त गर्ने वा धक्का खाने कुरा महत्वपूर्ण होइन । महत्वपूर्ण कुरा भनेको जनताको सर्वोच्चता, लोकतन्त्र, मानवअधिकार लगायत विश्वव्यापी लोकतान्त्रिक मूल्यमान्यताहरू जोगाउने र मुलुकलाई प्रतिगमनतिर जानबाट रोक्ने हो ।

यसकारण निर्वाचन भयो भने सम्भावित द्वन्द्व टर्न सक्छ । सकेन भने मुलुक पछाडि फर्कने र द्वन्द्व देखापर्ने हुन्छ । त्यसैले हरेक पार्टीहरूले सरकारलाई निर्वाचनको लागि दबाब दिनुपर्छ र निर्वाचनमा जाने गरी माहोल तयार गर्नुपर्छ । जनतालाई निर्वाचनमा आउँछौं भनेर अपिल गर्नुपर्छ । यो बाहेक विकल्प देख्दिनँ ।

अब पार्टीको कुरा गरौं । यसअघि अनलाइनखबरसँगको एउटा अन्तर्वार्तामा आफू खरानी भएर पनि पार्टी र आन्दोलन जोगाउने भन्नुभएको थियो । अहिले त केही पनि नजोगिने जस्तो देखियो नि ?

पार्टीभित्र स्वस्थ ढंगले विचार प्रतिबिम्ब हुन पाउने, विभिन्न एजेन्डाहरूमा हार्दिकतासाथ छलफल गर्ने, फरक विचार राख्नेहरूमाथि फरक व्यवहार नगरिने, व्यक्तिको योग्यता, इमानदारिताका आधारमा जिम्मेवारी प्रदान गर्ने, विधिमा आधारित भएर चलाउने कुरामा समस्या पैदा भयो ।

यसले पार्टी पंक्तिलाई एकताबद्ध राखेर ऊर्जा दिने कुरामा समस्या रह्यो । असहमतिहरू स्वस्थ ढंगले प्रवेश हुने अवसर प्राप्त हुनसकेन भने गलत कुरा सच्याउन सकिंदैन ।

समयमा सरकारका कामहरूको समीक्षा गर्नुपर्थ्यो । समग्र राजनीतिक गतिविधिका बारेमा समीक्षा गर्नुपर्थ्यो । जनताले कसरी सोचिरहेका छन्, उनीहरूका प्रतिक्रिया बुझ्नुपर्थ्यो । युवाहरूको चाहनालाई ध्यान दिनुपर्थ्यो । तर त्यस्ता विषयलाई गम्भीरतासाथ ध्यान दिन सकेनौं ।

अर्थात् हामीले निर्वाचनमा गरेका बाचाहरू सही ढंगले पूरा गर्न सक्यौं कि सकेनौं भन्ने समीक्षा गर्नुपर्थ्यो । तर छलफल र समीक्षाको विषयलाई हामीले विरोधी र खुट्टा तान्नेहरूले गर्ने कुरा हो भन्यौं । कमी–कमजोरी थपिंदै गए, तर सच्याउन पछाडि फर्केर सिंहावलोकन गरेनौं । यही कारण पार्टी पंक्तिभित्र पनि न ऊर्जा पैदा भयो न एकताबद्ध हुनसक्यो । यसको प्रतिबिम्ब जनतामा पनि भयो ।

केपी ओलीलाई पाँचौंपटक प्रधानमन्त्री बनाउन पार्टीको विधान नै भत्काउनुभएको छ । गोदावरीमा ओलीले कर्ण थापामाथि गरेको हँसिमजाक र अपमानलाई साथ दिने ठूलै पंक्ति थियो । अब एमालेको कोर्स सच्चिन्छ अथवा गल्तीलाई निरन्तरता दिनुहुन्छ ?

यति ठूलो घटना हुँदा पनि इतिहासबाट पाठ सिकेनौं भने हामीलाई खरानी हुनबाट कसैले रोक्न सक्दैन । तर हामी पार्टीलाई खरानी हुन दिंदैनौं । कमजोरीहरू औंल्याउँछौं, आत्मसमीक्षा गर्छौं र कमजोरीहरूको प्रतिरक्षा गर्दैनौं । यसलाई ढाकेर वा कमजोरीहरू भएनन् भनेर दम्भ देखाएर पार्टीमा सुधार हुन सक्दैन । जनता र कार्यकर्ताको मनोबल उठाउन सकिंदैन । आम जनता र जेनजी पुस्ताको मन जित्न सक्दैनौं । उनीहरूको आकांक्षालाई प्रतिनिधित्व गर्न सक्दैनौं । यसकारण पार्टीलाई त सुधार्नै पर्छ । नयाँ आयामबाट अगाडि बढाउनुपर्छ ।

तपाईंको कुरा सुन्दा र परिस्थिति हेर्दा एमालेभित्र नयाँ संघर्ष पो शुरु हुने देखियो । किनकि शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमालहरू फेरि पनि ओली भन्नेमै देखिनु हुन्छ …

२०४६ साल पछाडि राजनीतिक र अन्य उच्च ओहोदामा रहेका व्यक्तिहरू र गैरकानूनी रूपमा पैसा कमाएका व्यक्तिहरूमाथि छानबिन गर्ने र प्रमाणका आधारमा दण्डित गर्ने काम होस् । यसका लागि हामी तयार हुनुपर्छ

म व्यक्ति विशेषतिर जान चाहन्नँ । तर सडकमा देखा परेको मनोविज्ञान र विद्रोहले सिकाएको पाठ र कार्यकर्ताको मनोविज्ञानलाई सही ढंगले सम्बोधन गर्ने हो भने हाम्रा प्रवृत्तिहरू सुधार्नैपर्छ ।

हाम्रो जसरी सामूहिकता भन्दा पर गएर परम्परागत ढर्राबाट पार्टी चलाउन खोज्ने प्रवृत्तिहरू छन्, यसलाई त सच्याउनैपर्छ । यो संकटको घडीमा म कुनै व्यक्तिप्रति आग्रह वा पूर्वाग्रहका आधारमा बोल्न चाहन्नँ । तर यति भन्न चाहन्छु– हामी आग्रह र पूर्वाग्रह भन्दा माथि उठेर वस्तुनिष्ठ ढंगले हाम्रा विगतहरूको समीक्षा गर्नैपर्छ । गर्छौं, गर्नैपर्छ ।

कस्ता कस्ता बेठिक प्रवृत्तिहरू रहे, कहाँ–कहाँ को–को पात्रहरूका कमजोरी रहे, स्वयं मेरा पनि के कमजोरी रहे ? हामी त्यो धरातलमा समीक्षा गर्छौं । र, अहिले जसरी चलिरहेका छौं, यो ढंगले पार्टी अगाडि बढ्न सक्दैन । हामी नयाँ शिराबाट पार्टीलाई अगाडि बढाउँछौं ।

यतिका दिनसम्म पार्टीको छलफल वा बैठक बसेको छैन । नेताहरूले आफूखुशी विचार सार्वजनिक गरिरहेका छन् । औपचारिक निष्कर्षमा एमाले पुग्न चाहिरहेको देखिन्न । यसले त पार्टी नै विघटन भए जस्तो देखिंदैन ?

सम्भवत: नेपालको इतिहासमा हाम्रो पार्टीले यति ठूलो संकट भोग्नु परेको थिएन । पञ्चायती व्यवस्थाले हामीमाथि दमन गर्‍यो वा निरंकुश शासकहरूले हामी माथि दमन गर्थे ।

होला, जेनजीको आवरणमा गलत तत्वहरूले फाइदा उठाउने काम गरे । ती सबै चिजको छानबिन गर्नुपर्छ । अवाञ्छित क्रियाकलाप गर्नेहरूलाई दण्डित गर्नैपर्छ । साथै, सडक विद्रोहका कारण हामी भाग्नुपर्ने स्थिति देखिएको छ । यसबाट पाठ सिकेर सामूहिकताका आधारमा पार्टी एउटा निष्कर्षमा पुग्नुपर्थ्यो, तर अहिलेसम्म हामी सामूहिकतामा चल्न नसकेको कुरा साँचो हो ।

अहिले पनि वक्तव्य दिंदा होस् अथवा अरू कामहरू गर्दा सामूहिक ढंगले छलफल गर्ने र निष्कर्षमा पुग्ने अभ्यास गरिरहेका छैनौं । यो हाम्रो कमजोरी हो र यसलाई आउँदा दिनमा सच्याउँछौं ।

म फेरि पनि जोड्न चाहन्छु– यतिबेला कार्यकर्तामा निराशा पैदा भएको पनि हुनसक्छ । किनकि प्रतिकूलता र जोखिमको बेला मान्छेहरूको मनमा अन्योल र निराशा हुन्छ । मान्छेहरू पलायन हुने खतरा बढ्छ । यस्तो बेला सामूहिक पहलकदमीको आधारमा निष्कर्षमा पुग्ने र त्यसलाई आम कार्यकर्ताको बीचमा लैजानुपर्छ । तर दुई/चार जना व्यक्तिहरूले मात्रै संसार थेगे जस्तो गर्ने प्रवृत्ति कायमै रहने हो भने पार्टी बलियो हुँदैन ।

एमाले नेतृत्वले गल्तीमाथि गल्ती थप्दै लैजानुमा उनलाई साथ दिने नेताहरूको पनि गम्भीर त्रुटि रहेको टिप्पणी हुने गरेको छ । यस्तो प्रवृत्तिबारे के भन्नुहुन्छ ?

कतिपय देखिएका कुराहरूलाई पनि स्पष्ट राख्न नसक्ने र त्यसलाई सच्याउन दबाब दिन नसक्ने प्रवृत्ति हुर्किंदै गएको सत्य हो । त्यसको जिम्मेवारी मैले पनि लिनुपर्छ ।

पार्टीभित्र र सरकारभित्र देखिएका गलत प्रवृत्तिबारे पर्याप्त मात्रामा बोल्न र सच्याउने आँट गर्न सक्नुपर्थ्यो, त्यो हामीले सकेनौं । त्यसमा एक जना दोषी म पनि हुँ, म पनि आत्मालोचित हुनुपर्छ ।

तर फेरि पनि विगतलाई निन्दा गरेर मात्रै आउँदा दिनहरू तय हुन सक्दैनन् । विगतबाट पाठ सिकेर नयाँ आत्मविश्वास र भविष्यको सम्भावना सहित आगामी यात्रा तय गर्ने हो । जेनजी पुस्ताको भावना होेस् अथवा आमजनता र कार्यकर्ताहरूको सुझाव र मनोविज्ञानका आधारमा हामी चल्नुपर्छ ।

अन्त्यमा, तपाईंहरू सच्चिने कुरामा जेनजीहरूले विश्वास गरेको देखिन्न । विशेषगरी भ्रष्टाचार छानबिनका सन्दर्भमा ! 

विश्वव्यापी रूपमा कुन ढंगले विधि स्थापित भएको छ, कामहरू कसरी हुने गरेका छन् भन्ने कुरालाई प्रविधिको उपयोग मार्फत जेनजी पुस्ताले नजिकबाट नियालिरहेको हुन्छन् । यसकारण भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, सुशासनको चाहना युवा पुस्ताले राख्दछन् ।

त्यसमा हामी कहीं न कहीं चुकेका हौं । भ्रष्टाचार र कुशासनका मुद्दाहरू जसरी उहाँहरूले उठाइरहनुभएको छ, सरकारले निष्पक्ष छानबिन आयोग बनाओस् ।

२०४६ साल पछाडि राजनीतिक र अन्य उच्च ओहोदामा रहेका व्यक्तिहरू र गैरकानूनी रूपमा पैसा कमाएका व्यक्तिहरूमाथि छानबिन गर्ने र प्रमाणका आधारमा दण्डित गर्ने काम होस् । यसका लागि हामी तयार हुनुपर्छ । म आफैं पनि तयार छु, पार्टीले पनि यसका लागि सहयोग गर्न तयार हुनुपर्छ ।

भ्रष्टाचार नियन्त्रण लगायत जनताबाट उठ्ने प्रश्नको मामिलामा सहयोग गर्न नेकपा एमाले तयार छ ।

तर एमाले नेतृत्व भ्रष्टाचारीलाई संरक्षण गर्छ, सेटिङमा चल्छ भन्ने छ नि !

सबै कुरामा खरो ढंगले उत्रिन तयार छौं । नेपालका हरेक नेता–कार्यकर्ता र पार्टीहरूले अनेकन् प्रश्नको सन्दर्भमा छानबिनको दायरामा आउन र परीक्षण हुन तयार हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?