+
+
Shares
जेनजी आन्दोलन :

बैंकका ६१ कार्यालय क्षति, राष्ट्रिय वाणिज्य बैंकबाट मात्रै लुटियो साढे ३८ करोड 

प्रदर्शनको क्रममा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखा तोडफोड तथा आगजनी भएको छ । साथै उक्त शाखाबाट ३६ करोड रुपैयाँ मूल्य बराबरको सुन तथा नगद लुटपाट भएको छ ।

भुवन पौडेल भुवन पौडेल
२०८२ असोज १ गते १७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकलाई साढे ३८ करोड रुपैयाँ बराबरको सुन र नगद क्षति पुगेको छ।
  • बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत पवन रेग्मीका अनुसार सुन तथा नगद गरी ३८ करोड ४० लाख रुपैयाँ लुटपाट भएको छ ।
  • नेपाल बैंकर्स संघका अनुसार देशभरि बैंकका ६१ कार्यालयमा आन्दोलनकारीले तोडफोड र क्षति पुर्‍याएका छन्।

१ असोज, काठमाडौं । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकलाई मात्रै साढे ३८ करोडको क्षति पुगेको छ । बैंकहरूबाट करिब १८ किलो सुन र ५ करोड रुपैयाँभन्दा धेरै नगद लुटिएको हो ।

आन्दोलनकारीले राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखा तोडफोड तथा आगजनी गरी ३६ करोड रुपैयाँ बराबरको सुन तथा नगद लुटेका हुन् ।

बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत पवन रेग्मीका अनुसार बैंकको बानेश्वर शाखाबाट १७ हजार ९ सय ४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगद लुटिएको छ ।

‘जेनजी आन्दोलनको नाममा भएको लुटपाट, तोडफोड र आगजनीबाट राष्ट्रिय वाणिज्य बैंकलाई सुन र नगदको क्षति भएको छ,’ रेग्मीले भने, ‘सुन तथा नगद गरेर ३८ करोड ४० लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।’

बुधबार कायम भएको सुनको मूल्यका आधारमा मूल्य निकालिएको हो । बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ८५ हजार २ सय ७० रुपैयाँ कायम भएको छ । बैंकबाट आन्दोलनकारी ३३ करोड २४ लाख रुपैयाँ भन्दा धेरैको सुन नै लुटेको देखिन्छ ।

प्रदर्शनको क्रममा बैंकको बानेश्वर शाखासँगै भैरहवा भन्सार कार्यालयको शाखाबाट समेत नगद लुटिएको रेग्मीले बताए ।

‘बानेश्वर शाखाको लकर सुरक्षि नै छ, त्यसबाहेक कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त छ,’ रेग्मीले भने,‘ भैरहवा ड्राइपोर्ट १ लाख २८ हजार रुपैयाँ जलेको अवस्थामा भेटिएको छ।’

बैंकबाट लुटिएको सुन धितोमा राखिएका गरगहना भएको उनले जानकारी दिए । सुनका गरगहना धितोमा राखी कर्जा प्रवाह गर्ने क्रममा सुन संकलन भएको उनले बताए ।

प्रदर्शनको क्रममा बैंकको ढुकुटीमै पुगेर नगद र गरगहना चोरी भएको रेग्मीले बताए । रेग्मीका अनुसार प्रदर्शनको क्रममा लुटिएको सुन उक्त शाखामा धितोमा रहेको कुल मध्यको एक चौथाइ हो । बाँकी सुन तथा नगद भने सुरक्षित नै रहेको उनको भनाइ छ ।

‘प्रदर्शनकारीले बानेश्वर शाखामा लुटपाट गरे पनि ढुकुटीमा भएको सबै नगद र सुन लुटिएको छैन,’ रेग्मीले भने ।

भौतिक संरचना कम्प्युटर, फर्निचर, क्यामेरा, प्रिन्टर, कागजपत्रहरू पूर्णरूपमा क्षति पुगेको छ । तर, कर्जाका तमसुकहरू भने सुरक्षित रहेको उनले बताए । बैंकका अन्य शाखाहरूमा पनि भौतिक क्षति पुगेको बताउँदै रेग्मीले भने, ‘बानेश्वर, भैरहवा बाहेक, सरकारी कार्यालयहरू रहेको शाखा तथा काउन्टहरूमा पन क्षति पुगेको छ । अन्य शाखा तथा काउन्टरमा नगद क्षति भएको छैन ।’

नेपाल बैंकर्स संघका अनुसार देशभरि बैंकहरूका ६१ वटा कार्यालयमा आन्दोलनकारीले क्षति पुर्‍याएका छन् । बैंकहरूका केही स्थानका एटीएम मेसिन तोडफोड भएका छन् । बैंकका ती कार्यालयको झ्यालढोका फुटाउने तथा फर्निचर तोडफोड भएको संघले जनाएको छ । पूर्ण रूपमा क्षति भएका केही मात्र रहेको संघले जनाएको छ ।

कतिपय सरकारी कार्यालयका छेउमा भएका बैंकका शाखाहरूमा बढी तोडफोड भएको संघले जनाउको छ ।

त्यसैगरी डेभलपमेन्ट बैंकर्स संघका अनुसार केही विकास बैंकका शाखा कार्यलयमा समान्य भौतिक क्षति भएको देखिन्छ ।

२४ भदौको प्रदर्शनमा सिंहदरबारसहित अधिकांश सरकारी कार्यलयमा तोडफोड र आगजनी भएको छ । त्यसका साथै केही उद्योग तथा व्यवसाय, उद्योगीका निवासमा पनि आगजनी तोडफोड भएको छन् ।

लेखक
भुवन पौडेल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत पौडेल बैंक, वित्तीय तथा नेपाल धितोपत्र बजारमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?