+
+
Shares
जेनजी आन्दोलन :

आगजनी र तोडफोडबाट १० हजार बढी श्रमिकको रोजगारी गुम्ने जोखिम

आगजनी र तोडफोडको प्रत्यक्ष असर उद्योगी एवं व्यवसायीलाई मात्रै परेको छैन, त्यसमा आश्रित १० हजारभन्दा बढी श्रमिकको रोजगारी गुम्ने जोखिम देखिएको छ ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८२ असोज १ गते २१:४३
आगजानी र तोडफोडबाट ध्वस्त भएको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट, हिल्टन होटर र सीजी पार्क ।

१ असोज, काठमाडौं । २४ भदौको जेनजी आन्दोलन नियन्त्रणबाहिर पुग्दा देशभरि आगजनी र तोडफोडका घटनाहरू भए । आन्दोलनका क्रममा सरकारी संरचना मात्र नभई निजी व्यावसायिक समूहका उद्योग, व्यवसाय र निजी निवासमा समेत आगजनी र तोडफोड हुँदा व्यापक क्षति हुन पुग्यो । आगजनी र तोडफोडको प्रत्यक्ष असर उद्योगी एवं व्यवसायीलाई मात्रै परेको छैन, त्यसमा आश्रित १० हजारभन्दा बढी श्रमिकको रोजगारी गुम्ने जोखिम देखिएको छ ।

आगजानी र तोडफोडका कारण भाटभटेनी, हिल्टन होटल, ह्यात होटल, चौधरी ग्रुप लगायतका अर्बौंको लगानी भएका निजी संस्थाहरू समेत तहसनहस भएका छन् । त्यसले गर्दा ती क्षेत्रमा काम गर्ने हजारौं श्रमिकहरूको रोजगारी गुम्ने जोखिम बढेको हो ।

आगजानी, तोडफोड र लुटपाटका कारण कति क्षति भयो र कतिको रोजागारी गुम्दै छ भन्ने आधिकारिक तथ्यांक आइसकेको छैन । तर, पनि ठुल्ठूला कम्पनीमा भएको क्षतिको आधारमा सरोकारवालाले तत्कालको अवस्थामा १० हजारभन्दा बढी श्रमिक घरमा बस्नुपर्ने अवस्था आएको देखाएका हुन् ।

भाटभटेनी सुपरमार्केटमा मात्रै ५ हजार श्रमिकको रोजगारी क्षणभरमै गुमेको छ । देशभरि रहेका साढे दुई दर्जन स्टोरमध्ये ठूला एक दर्जन स्टोर पूर्णरूपमा ध्वस्त भएका छन् । प्रदर्शनकारीले भाटभटेनीका ती स्टोरमा तोडफोडपछि लुटपाट गर्दै आगजनी गरेका थिए । जसका कारण सबै स्टोर जलेर खरानी हुन पुग्यो ।

आगजनीबाट ध्वस्त बनेको हिल्टन होटल ।

भाटभटेनी सुपर स्टोरका प्रमुख सञ्चालन अधिकृत (सीईओ) पानु पौडेलका अनुसार जेनजी आन्दोलनमा तोडफोड, लुटपाट र आगजनीका कारण भाटभटेनीमा काम गर्ने ५ हजार जनाको रोजगारी गुमेको छ ।

एक निमेषमा यति ठूलो संख्यामा रोजगारी गुम्नुको अर्थ अर्थतन्त्रमा पनि क्षति पुग्नु रहेको पौडेलको भनाइ छ ।

‘कति सामान लुटियो, कति क्षति भयो, कति नगद लुटियो भन्ने यकिन विवरण निकाल्न कम्तीमा एक महिना लाग्छ,’ सीईओ पौडेलले भने, ‘मुख्य कुरो के हो भने एकै पटक सयौंको रोजगारी गुमेको छ । रोजगारी गुमेका ५ हजार जनाको व्यवस्थापन कसरी गर्ने भन्ने हामीलाई ठूलो चिन्ता छ ।’

उनका अनुसार भाटभटेनीका प्रत्येक स्टोरमा औसतमा कम्तीमा ५ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । तिनमा पनि महिला संख्या उच्च छ । भाटभटेनीका वेयरहाउस (गोदाम) देखि सबै स्टोरमा गर्दा सयौं जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

त्यस्तै होटल क्षेत्रमा समेत कम्तीमा २ हजार जनाको रोजगारी गुमेको छ । होटल एसोसिएसन नेपाल (हान) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) टेकबहादुर महतले होटल क्षेत्रमा करिब २ हजार जनाको रोजगारीको गुमेको बताए ।

‘हामीले ठ्याक्कै कति क्षति पुग्यो भनेर तथ्यांक त निकालेका छैनौं । तर, ठुल्ठूला होटलहरूमा आगजानी तथा तोडफोड गरिएको कम्तीमा २ हजार जनाको रोजगारी गुमेको देखिन्छ,’ महतले भने ।

जलेर ध्वस्त भएको अवस्थामा चाबहिल चुच्चेपाटीको भाटभटेनी सुपरमार्केट ।

होटलहरूमा भएको तोडफोडका कारण पर्यटन क्षेत्रमा समेत प्रत्यक्ष असर परेको बताए ।

‘होटल क्षेत्रमा भएको तोडफोड तथा आगजानीको असर पर्यटन क्षेत्रमा समेत परेको छ,’ महतले भने, ‘होटल नै नभएपछि नेपाल आउने पर्यटक समेत आउँदैनन् । जसले गर्दा यो क्षेत्रमा काम गर्ने श्रमिकलाई प्रत्यक्ष मार पर्ने देखिन्छ ।’

अखिल नेपाल ट्रेड युनियन महासंघका वरिष्ठ उपाध्यक्ष धनबहादुर विकले आगजानी तथा तोडफोडका कारण पुगेको क्षतिको प्रत्यक्ष असर त्यसमा काम गर्ने श्रमिकमा परेको बताए । भागभटेनी, सीजी ग्रुप, चन्द्रागिरी हिल्स जस्ता ठुल्ठूला कम्पनीमा असर परेको उनको भनाइ छ । जसका कारण १० हजारभन्दा बढी श्रमिकले रोजगारी गुमाउने जोखिम उच्च छ ।

‘ठ्याक्कै अहिले नै कति श्रमिक विस्थापित भएर यकिन गर्न सकिने अवस्था त छैन । तर, १० हजारभन्दा बढी श्रमिकमा प्रत्यक्ष असर परेको हुन सक्छ । उनीहरूको रोजगारी गुमेको छ,’ विकले भने ।

प्रदर्शनकारीहरूले ट्रेड युनियनको कार्यालय समेत आगजानी तथा तोडफोड गरेर ध्वस्त गरेका छन् । कार्यालयको हिसावले करोडौंको क्षति पुगेको बताए ।

‘रोजगारीको हिसाबले काम गर्ने थलो नै गुमेको छ । भाटभटेनीमा प्रत्यक्ष रोजगारी नै गुम्यो । होटल पर्यटन क्षेत्रमा पनि प्रभाव परेको छ,’ विकले भने, ‘होटल रेस्टुरेन्टहरूमा भएको तोडफोड र आगजानीका कारण पर्यटन क्षेत्र प्रभावित भएर अब त्यस्ता लाखौँ रोजगारी गुम्ने स्थिति बन्छ ।’

श्रम तथा आप्रवासन विज्ञ डाक्टर जीवन बानियाले अहिले अवस्था विगतमा कोभिड–१९ तथा भूकम्प महामारी जस्ता घटनाभन्दा बढी क्षति पुगेको बताए । यसले अब वैदेशिक रोजगारीमा जानेको संख्या झन् बढाउने उनको अनुमान छ ।

आगजनीबाट ध्वस्त भएको सीजी डिजिटल पार्क ।

आन्तरिक रूपमा हेर्दा, सेवा र होटल व्यवसायमा धेरै रोजगारी गुमेको र यसले गर्दा विस्थापित मानव स्रोत कहाँ जाने भन्ने चिन्ता रहेको बानियाको भनाइ छ । कोभिड–१९ को समयमा जस्तो नेपालले छिट्टै आत्मनिर्भर भएर पुनरुत्थान गर्न सक्ने अवस्था अहिले नभएको बताउँदै अहिले विदेशबाट नेपाल फर्किनेहरूले पनि असुरक्षित महसुस गरिरहेको बताए ।

‘पर्यटन क्षेत्र तत्काल पुनरुत्थान हुने अवस्था देखिँदैन । त्यस्तै, तत्काल रोजगारी सिर्जना गर्ने काममा पनि प्राथमिकता छैन, भत्किएका संरचना मर्मत गर्नेबाहेक अरू कुनै ठोस योजना देखिँदैन,’ बानियाँले भने ।

लगानी नभए रोजगारी सिर्जना हुन नसक्ने बताउँदै अहिलेको अवस्थामा नेपाली र विदेशी दुवै लगानीकर्ताहरू नेपालमा लगानी गर्न हतोत्साहित भएको बताए । यसको परिणाम स्वरूप वैदेशिक रोजगारीमा जाने मानिसहरूको संख्या अझ द्रुत गतिमा बढ्ने सम्भावना देखिएको उनको भनाइ छ ।

यो प्राकृतिक प्रकोप भूकम्पपछिको अवस्थाभन्दा फरक रहेको बताउँदै उनले भने, ‘भूकम्पले आन्तरिक अवसर र विदेशी सहयोग ल्याउँछ भने यो अवस्थाले मानिसहरूलाई विदेश जान बाध्य बनाउँछ ।’

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?