
५ असोज, काठमाडौं । नेपाल र चीनबीच वैदेशिक व्यापार हुने मुख्य दुई नाका रसुवागढी र तातोपानी बन्द भएसँगै यतिबेला मुस्ताङस्थित कोरला नाकामा चहलपहल बढेको छ ।
भन्सार विभागका अनुसार कोरला नाका ३० भदौदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । शनिबारसम्म यो नाकाबाट २ सय ९ विद्युतीय सवारीसाधन (ईभी) नेपाल भित्रिएका छन् । त्यस्तै १ सय ७ वटा मालवाहक सवारीसाधन समेत यो नाका हुँदै भित्रिएको विभागले जनाएको छ ।
मालवस्तु जाँचपास गरी ३४ करोड ४७ लाख ४५ हजार २ सय ५२ रुपैयाँ बराबर राजस्व संकलन भएको छ । यो नाकामा आशिकुडा प्रणाली समेत सञ्चालनमा आएको विभागको भनाइ छ ।
नेपाल राष्ट्र बैंकले मुस्ताङ भन्सार कार्यालयलाई समेत चिनियाँ भूभाग भई प्रतीतपत्र मार्फत सामान आयात गर्न एकीकृत परिपत्र २०८१ मा समावेश गरी सहजीकरण गरेको थियो ।
२४ असारमा आएको लेहेन्द खोला बाढीले रसुवा भन्सार कार्यालय पूर्णरूपमा बन्द भएको हो । तातोपानी नाकासमेत सडक अवरुद्ध हुँदा बन्द छ ।
प्रतिक्रिया 4