६ असोज, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्प्सनबीच भेटवार्ता भएको छ ।
सोमबार अर्थ मन्त्रालयमा भएको भेटमा नेपालको हालको परिवर्तित अवस्था र अमेरिकाले यस परिस्थितिमा नेपाललाई गर्न सक्ने सहयोगका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
उक्त छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थितिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने, पुनर्निर्माण योजना र सहुलियत प्याकेजका माध्यमबाट निजी क्षेत्रको मनोबल माथि उठाउनु रहेको बताए ।
अमेरिकी राजदूतले हालैको घटनामा ज्यान गुमाउने परिवारप्रति समवेदना तथा सहानुभूति व्यक्त गर्दै यस परिस्थितिमा अमेरिकी सरकार नेपालको साथमा रहेको उल्लेख गरे ।
अमेरिकी राजदूत थम्प्सनले एमसीसीको सहयोगमा सञ्चालित एमसीए नेपालबाट कार्यान्वयन भइरहेका परियोजना समयमै सम्पन्न गर्ने कार्यमा नेपाल सरकारको थप प्रतिबद्धता आवश्यक रहेको बताए ।
अर्थमन्त्री खनालले उक्त परियोजना सफल कार्यान्वयनका लागि सरकारको तर्फबाट गर्नुपर्ने कार्यमा ढिलाइ नहुने विश्वास दिलाए ।
सोही अवसरमा अर्थमन्त्री खनालले नेपालको सामाजिक आर्थिक विकासमा अमेरिकी सरकारका तर्फबाट हुँदै आइरहेको निरन्तर सहयोगको उच्च सह्राना गरे । भविष्यमा समेत यस प्रकारको सहयोग प्राप्त भइरहने आशा समेत व्यक्त गरे ।
बैठकमा अर्थ सचिव घनश्याम उपाध्याय, वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका पदाधिकारी र अमेरिकी दूतावासका पदाधिकारी समेत उपस्थित थिए ।
प्रतिक्रिया 4