+
+
Shares

धादिङको पहिरो छल्न प्रयोग गर्न सकिन्छ ३ वैकल्पिक सडक

नागढुंगा–मुग्लिन सडकखण्डको पहिरो र जाम छलेर आउजाउ गर्न सकिने केही विकल्पहरु पनि छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ७ गते १०:४७
धादिङको जवाङखोलाको पहिरो । जसले गर्दा नागढुंगा-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

७ असोज, काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडानम्बर १० जवाङ खोला (बाँदरे मोड)मा सुक्खा पहिरो खसेकाले सडकमा सवारी साधनको लामो लाइन लागेको छ । यात्रुहरु र गाडीका स्टाफहरु अलपत्र परेका छन् ।

पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने अधिकारीहरुले बताएका छन् । नागढुंगा–मुग्लिन सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार प्रसाद नेपालले पहिरो पन्छाउन आज दिनभर लाग्नसक्ने बताएका छन् ।

त्यसैले नागढुंगा–मुग्लिन सडकखण्डको पहिरो र जाम छलेर आउजाउ गर्न सकिने केही विकल्पहरु पनि छन् ।

पहिलो विकल्प

यदि काठमाडौंबाट पश्चिमतर्फ जाँदै हुनुहुन्छ भने नौबिसेबाट हेटौंडा निस्किएर जान सकिन्छ । पूर्वतिरबाट काठमाडौं आउनेहरुले पनि यही बाटो प्रयोग गर्न सक्छन् । यो बाटो अलि साँघुरो र धेरै घुम्ति छ ।

दोस्रो विकल्प

दोस्रो विकल्प धादिङको मलेखु (फुर्के खोला)नेरबाट छ । फुर्केखोला भन्ने ठाउँबाट धादिङको सल्यानटार हुँदै गोरखाको आरुघाट हुँदै तनहुँको आँबुखैरेनी निस्किन सकिन्छ । आँबुखैरेनीबाट पोखरा–पाल्पा हुँदै बुटवल निस्किएर पश्चिम जान सकिने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । अथवा आँबुखैरेनीबाट फेरि मुग्लिन निस्किएर चितवनको नारायणगढ निस्किन सकिन्छ । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानेर पहिरो पन्छाएर बाटो खुलाइसकिएको छ । यद्यपि तुइन खोलानेर पहिरोको जोखिम भने कायमै छ ।

तेस्रो विकल्प 

काठमाडौंबाट बाहिरिएर पश्चिमतर्फ जाने वा पश्चिमतर्फबाट काठमाडौं भित्रिनेहरुका लागि नुवाकोट हुँदै यात्रा गर्न सकिने मध्यपहाडी लोकमार्ग तेस्रो विकल्प हुनसक्छ ।

यो बाटोबाट काठमाडौं, नुवाकोट, सामरी भञ्ज्याङ, गोरखा बजार हुँदै तनहुँको आँबुखैरेनी निस्किन सकिन्छ ।

तर यो बाटो अलि अप्ठ्यारो भएकाले यात्रा गर्दा फोर ह्वील र ग्राउण्ड क्लियरेन्स राम्रो भएको गाडी चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?