+
+
Shares

शिक्षामन्त्रीको जहाँ काम त्यहीँ बास

मन्त्री पुन पहिलेदेखि नै जहाँ काम गर्ने त्यही बस्ने गरेका छन् । यसअघि आविष्कार केन्द्रमै उनी बस्ने गरेका थिए ।

दिनेश गौतम दिनेश गौतम
२०८२ असोज ७ गते २०:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्री महावीर पुनले सोमबार पदभार ग्रहण गरेलगत्तै मन्त्रालयमै सुत्ने कोठा व्यवस्थापन गर्न निर्देशन दिएका छन्।
  • उनले नेपालभरका सामुदायिक माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षक अनिवार्य थप्न र विश्वविद्यालयलाई परीक्षाफल तीन महिनाभित्र निकाल्न निर्देशन दिएका छन्।
  • त्रिभुवन विश्वविद्यालयको परिसरमा झाडी फाँडेर सुन्दर बगैंचा र फुटपाथ बनाउने योजना पनि मन्त्री पुनले अघि सारेका छन्।

७ असोज, काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयबाट ५ बजे कर्मचारीहरू बाहिरिदै थिए । केही कर्मचारी भने मन्त्री महावीर पुनको लागि कोठा व्यवस्थापनमा जुटिरहेका थिए ।

मन्त्री पुनको कार्यकक्षसँगै जोडिएको कोठा बासको लागि बनाइएको छ । कोठामै आइपुग्छ बास बस्न लागेका चराहरूको चीरवीर-चीरवीर आवाज । ‘यहाँ त चाराहरू चिरबिराइ रहन्छन् । बास बस्ने बेला कागको आवाज धेरै आउछ,’ एक कर्मचारीले भने ।

मन्त्री पुन बस्ने कोठाको झ्यालबाट देखिन्छ स्वप्न बाटिकाको बगैंचा । जहाँ बगैंचाको मनोरम दृश्य देखिन्छ । केही कर्मचारीहरू कोठाको सामान कुरिरहेका थिए ।

‘६ बजेपछि मात्र सामान ढुवानीको गाडी चल्ने रहेछ । मन्त्रीज्यूले भनेजस्तै सामान्यरूपमा कोठा व्यवस्थापन गरेका छौं,’ एक कर्मचारी भनिरहेका थिए ।

मन्त्री पुन भने आफ्नै कार्यकक्षमा भेटघाटमै व्यस्त थिए । मन्त्रालयबाट निस्कने बेला एक कर्मचारीले कोठा व्यवस्थापनमा खटिएका कर्मचारीलाई भने, ‘मन्त्रीज्यूको कोठाको भेन्टिलेशन हेर्नू है । बन्द गरे अक्सिजन पुग्दैन । खोले लामखुट्टे आउँछ।’

६ बजेपछि मन्त्रीको कोठाका लागि सामान आउन थाल्यो । त्यसपछि कर्मचारीले कोठा मिलाए ।

सोमबार पदभार ग्रहण गरेलगत्तै मन्त्री पुनले मन्त्रालयमै सुत्ने कोठाको व्यवस्थापन गर्न भनेका थिए । सोही अनुसार मन्त्रालयले केशरमहलस्थित मन्त्रालयको अस्थायी भवनमा कोठाको व्यवस्थापन गरेको हो।

‘आज बेलुकाबाट मन्त्रीज्यू मन्त्रालयमै बस्नु हुन्छ । एक सेट सुत्ने खाने व्यवस्था हुन्छ,’ मन्त्रालयका सहसचिव अनिता निरौलाले भनिन् । सुरक्षाकर्मीको लागि पनि मन्त्रालयमै बस्ने व्यवस्था मिलाइएको छ ।

सिंहदरबारभित्र रहेको मन्त्रालय जेनजी आन्दोलनमा जलाइपछि केशर महलबाट मन्त्रालयले सेवा प्रवाह गरिरहेको छ ।‘सेवामा असर नपर्ने गरी कोठा तयार पारिएको छ,’ उनले भनिन् ।

मन्त्री पुन पहिलेदेखि नै जहाँ काम गर्ने त्यही बस्ने गरेका छन् । यसअघि आविष्कार केन्द्रमै उनी बस्ने गरेका थिए ।

सिंहदरबार भित्रको मन्त्रालयको पुनर्निर्माण भएपछि उतै सारिने छ । सिंहदरबारमा सरेपछि पनि मन्त्री पुन मन्त्रालयमै बस्ने छन् ।

‘२४ सै घण्टा मन्त्रालयमा बस्छु’

राति अबेरसम्म पनि मन्त्री पुन विज्ञहरूसँग छलफलमै व्यस्त थिए । मन्त्री पुनले २४ घण्टा नै काम गर्ने बताए । आविस्कार केन्द्रमा बस्दा र मन्त्री हुँदै कुनै फरक अनुभूति नभएको उनले बताए ।

‘आविष्कार केन्द्रमा बस्दा र यहाँ बस्दा केही फरक पर्दैन । बाहिर बस्न घर छैन । आफ्नो डेरा भएपनि गाह्रो हुने रहेछ । नियम अनुसार सुरक्षाको साथी तैनाथ हुने रहेछ । उहाँहरूलाई कहाँ राख्ने ? कुना-काप्चामा बसेर भए पनि यहाँ सुरक्षित हुन्छ,’ मन्त्री पुनले भने ।

काममा लागेपछि लागेको लाग्यै गर्ने भएकाले मन्त्रालयमै बस्ने निर्णय लिएको उनले बताए । ‘कुनै पनि कामामा लाग्दा, शिक्षक हुँदा नि लागेपछि लागेको लाग्यै हो। मन्त्री भएको छ। समय छोटो छ। आनन्द गरेर काम गर्ने समय छैन। ६ महिनाको समय हो । अन्तिम महिना चुनाव हुन्छ,’ उनले भने।

कार्यक्रममा उद्घाटन सभा सम्मेलनमा गएर समय नबिताउने मन्त्री पुनले बताए। पहिलो दिन कर्मचारीबाट ब्रिफिङ भएको उनले बताए। ‘कर्मचारीबाट ब्रिफिङ भयो । काम गर्ने हो। मन्त्री भएपछि खुसी भएको भन्ने लागेको होला, त्यस्तो छैन । मलाई केही अनुभूति छैन । २४ घण्टा मन्त्रालय बसेर काम गर्छु,’ उनले भने।

राम्रा सल्लाह सुझाव दिन उनले सबैलाई आग्रह पनि गरे।

महावीर पुनको ३ निर्देशन

सोमबार पदभार ग्रहण गरेका मन्त्री पुनले मंगलबार तीन वटा निर्देशन दिएका छन् ।

पहिलो : नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम्प्युटर शिक्षाबाट बञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्ने ।

दोस्रो: केही विश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ बर्ष सम्म लगाउँदा रहेछन्। विद्यार्थीहरुको लागि त्यो अपुरणिय क्षति हो। त्यसैले बिश्वविद्यालय लाई बढीमा ३ महिना भित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने।

समयमा मै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरुको अनुदान रोक्का गरि दिने । राष्ट्रिय परीक्षा बोर्डले १२ क्लासको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिना भित्रै निकाल्दा रहेछन्।

तेस्रो : त्रिभुवन विश्वविद्यालय किर्तिपुरको हाता भित्र ठुलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठुला रुखहरु नकाट्ने) सफा गरि सुन्दर बगैंचा सहित फुटपाथ बनाएर विश्वविद्यालयलाई आकर्षक बनाउने।

शिक्षामन्त्रीको लागि कुन- कुन सामान ल्याइयो ?

शिक्षामन्त्री पुन मन्त्रालयमै बस्‍ने भएपछि कर्मचारीहरूले गाँसबासका लागि चाहिने आवश्यक सामानहरुको प्रबन्ध गरेको छ ।

शिक्षा मन्त्रालयको आग्रहमा संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, सानो गौचरणले सामान उपलब्ध गराएको हो ।

जस अनुसार प्रेसर कुकर, कराही, डेक्ची, प्लेट, कचौरा,गिलास, कप सेट, चम्चा, ताप्के, मसलादानी,डाडु, पुन्यु, स्टिल बाटा, पानीको जार, थर्मस, ग्यास चुल्हो,सिलिन्डर,
डाइनिङ टेबल, कोट स्ट्याण्ड, स्टिल दराज ल्याइएको छ।

यस्तै सुत्नका लागि पलङ, बेडसिट, तकिया, कार्पेट, पर्दा र डोर म्याटसमेत व्‍यवस्थापन गरिएको कर्मचारीले जानकारी दिएको छ ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?