
News Summary
Generated by OK AI. Editorially reviewed.- मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खसेर सवारी साधन र यात्रु अलपत्र छन्।
- तनहुँको आँबुखैरेनी गाउँपालिका-५ बाट भरतपुर जोड्ने घुमाउने घाटको पुल ११ वर्षमा ४५ प्रतिशत मात्रै बनेको छ।
- पुल समयमै नबनेर यात्रुहरू पहिरोमा फसेका छन् र स्थानीयले पुल चाँडै बनाउन दबाब दिनुपर्ने बताएका छन्।
८ असोज, चितवन । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-५ तुइनखोला नजिकै खसेको सुख्खा पहिरोका कारण सवारी साधन र यात्रु अलपत्र छन् ।
मुग्लिनबाट नारायणगढतर्फ आउने सवारी र मुग्लिन जाने कयौं सवारी साधनका यात्रुको बिचल्ली छ । ३ असोज साँझ ६ बजेदेखि पहिरो खस्ने क्रम नरोकिँदा सडक खुलाउन समस्या भएको छ ।
मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ रहेको तुइनखोलामा पुल बनाउँदा काटिएको भित्तो यस वर्षबाट बढी मात्रामा झर्न थालेको हो । यसपटकको पहिरो ठूलो र निरन्तर गएकोले समस्या भएको छ ।
पहिरोका कारण मुग्लिनबाट नारायणगढतर्फ ५ किलोमिटर क्षेत्रमा बढी जोखिम छ ।
विकल्प बन्नसक्थ्यो घुमाउनेको पुल
तनहुँको आँबुखैरेनी गाउँपालिका-५ बाट सिधै भरतपुर-२९ जोड्ने घुमाउने घाटको पुल समयमै बनेको भए यो खण्डको विकल्प बन्न सक्थ्यो ।
घुमाउनेलाई जोड्ने त्रिशुली नदीमाथिको मोटरेबल पुल बनाउन सम्झौता भएको ११ वर्ष बित्यो । तर ठेकेदारले काम नगर्दा कयौं यात्रुहरूले दुःख पाएका छन् ।
असार २०७१ मा ठेक्का सम्झौता भएको पुलको ६ पटक म्याद थप भइसकेको छ । सातौंपटक म्याद थपका लागि ठेकेदार कम्पनीले माग गरेको सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी राजेन्द्र कार्कीले बताए । उनका अनुसार ठेकेदार कम्पनीले असार २०८३ सम्मको म्याद मागेको छ ।
सम्झौताअनुसार ४ वर्षभित्र नै पुल बनाइसक्ने उल्लेख थियो । तर ११ वर्ष बित्दा जम्मा ४५ प्रतिशत मात्रै काम भएको छ । अझै ५५ प्रतिशत काम सक्न कति वर्ष लाग्ला भन्ने प्रश्न उब्जिएको छ ।
पुल निर्माणको ठेक्का हेटौंडाको मृत सञ्जीवनी निर्माण कम्पनीले लिएको हो । गत वर्षको बाढीले पिल्लरको केही भाग क्षतिग्रस्त बनाएकोले डिजाइन परिवर्तन गर्नुपर्ने हुँदा काम रोकिएको डिभिजन प्रवक्ता कार्की बताउँछन् ।
अहिलेसम्म दुवैतिर पिल्लर मात्र खडा भएका छन् । यो पुल समयमा नै बनाउन सकेको भए यात्रुले यो सास्ती भोग्नुपर्ने थिएन ।
दमौलीबाट बुद्धिसिंह मार्ग हुँदै घुमाउने आउन सकिन्छ । पोखराबाट आउने सवारी साधन डुम्रे-आँबुखैरेनी नभई सो मार्ग हुँदै सिधै भरतपुर आउन सक्छन् । यो बाटो २५ किलोमिटर छोटो पर्न आउँछ ।
तनहुँको सदरमुकाम दमौलीदेखि घुमाउनेसम्म जम्मा ३२ किलोमिटर छ । समयमा नै पुल बनेको भए मुग्लिनको पहिरोमा घन्टौं फस्नुभन्दा काठमाण्डौंबाट आउने सवारी पनि यही सडक भएर भरतपुर आउन सक्थे ।
सेती नदीको किनारैकिनार बुद्धिसिंह मार्गको घुमाउनेघाट, सराङघाट, मासीघाट, सुँढे, बेलवास हुँदै दमौली पुग्न सकिन्छ । स्तरीय ग्राभेल र केही कल्भर्ट मात्रै हुँदा पनि सहजै घुमाउनेसम्म बसहरू आउन सक्छन् ।
सडक डिभिजन कार्यालयले सम्झौताअनुसार पनि काम नभए निर्माण कम्पनीलाई कालोसूचीमा राखेर ठेक्का तोड्ने भनेर पटकपटक बताउँदै आएपछि खुरुखुरु म्याद थप गर्दै आएको छ ।
डिजाइन एन्ड विल्डका आधारमा ठेकेदार कम्पनीले नै तयार गरेको डिजाइनअनुसार पुल १०५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । आधुनिक ‘आर्क’ डिजाइनमा बन्ने पुलको लागत ८ करोड २६ लाख रूपैयाँ छ ।
दोहोरो लेनको पुलमा ७.५ मिटर गाडी हिँड्ने भाग रहने डिजाइनमा उल्लेख छ । पुलको डिजाइन परिवर्तन गरेर माघ २०७५ मा पुनः काम थालिएको थियो । यो समय बितेको पनि झन्डै ७ वर्ष बित्यो ।
बुद्धसिंह मार्गको दमौलीबाट सुँढेसम्मको १० किलोमिटर सडक कालोपत्रका लागि ३४ करोड २७ लाख ५४ हजार ५६१ मा ठेक्का सम्झौता पनि यसअघि नै भइसकेको छ ।
यहाँका स्थानीयले पुल चाँडै बनाउन माग गर्दै आन्दोलन गर्न संर्घष समिति नै बनाए । धर्ना दिए । तर कसैले आवाज सुनेन ।
आँबुखैरेनी-५ का वडाध्यक्ष दिलिप गुरुङले पुल निर्माणका लागि फेरि दबाब दिनुपर्ने बेला आएको बताए ।
यो पुल बनेमा गण्डकी प्रदेशलाई चितवनको नारायणगढसँग जोड्ने सबैभन्दा छोटो मार्ग बन्छ । एउटा पुल बनाउन ११ वर्ष बितिसक्दा पनि अधुरै रहेकाले आज यात्रुहरू पहिरोमा फसेर कष्टकर यात्रा गर्न बाध्य छन् ।
प्रतिक्रिया 4