News Summary
Generated by OK AI. Editorially reviewed.- उस्ताद अमजद अली खानले संगीतलाई ईश्वरबाट प्राप्त अमूल्य उपहार र दुनियाँ जोड्ने माध्यम बताए।
‘दुनियासँग हाम्रो सम्बन्ध केवल संगीतको माध्यमबाट स्थापित भएको हो । हामीले शब्दहरू प्रयोग गरेनौँ । संगीत माथि (ईश्वर )बाट प्राप्त भएको एक अमूल्य उपहार हो, जसले दुनियाँलाई आपसमा जोडेको छ’
यी शब्दहरू प्रसिद्ध सरोदवादक उस्ताद अमजद अली खानका हुन्।
भारतको ग्वालियरमा जन्मेका उनको परिवार नै संगीतिक थियो । त्यसो हुनाले बाल्यकालदेखि नै उनको संगीत यात्रा पनि सुरु भयो ।
उनको परिवारसँग १८औँ शताब्दीदेखि संगीतको नाता रहेको छ । सरोद बजाउने उनी आफ्नो परिवारको छैटौँ पुस्ता हुन् । उनले १२ वर्ष नपुग्दै एकल सरोदवादनको पहिलो सार्वजनिक प्रदर्शन दिइसकेका थिए । उनलाई पद्मश्री (१९७५), पद्म भूषण (१९९१) र पद्म विभूषण (२००१) लगायतका पुरस्कारहरूबाट सम्मान गरिसकिएको छ ।
पिताबाट सिके सरोद
उस्ताद अमजद अली खानले आफ्ना पिता उस्ताद हाफिज अली खानबाट नै सरोदवादनमा परम्परागत रूपमा प्राविधिक दक्षता हासिल गरेका थिए । उनका पाँच दाजुभाइ र दिदीबहिनी थिए । घरमा भएका सबै पुरुषले सरोद बजाउँथे ।
पिता उस्ताद हाफिज अली खान प्रख्यात गायक थिए । उनलाई भेट्न ठूला-ठूला संगीतकारहरू आउँथे । अमजद र उनका दाजुभाइले बाल्यकालदेखि नै बुबालाई सरोदको माध्यमबाट गाउन चाहने बनाए । बुबाले उनीहरूलाई संगीतलाई बुझ र किताबबाट टाढा रह भन्थे। यद्यपि सामाजिक दबाब परेपछि विद्यालयमा भर्ना गरे
सन् १९६३ मा उनले पहिलो पटक विदेश यात्रा गरे । र, त्यो अमेरिकाको थियो।
त्यस यात्रामा नर्तक र संगीतकारहरूको टोली सहभागी थियो । टोलीमा बिरजु महाराज पनि थिए । उनीहरू दुई जनाबीच बिरजु महाराजले उस्ताद अमजद अली खानसँग तबला बजाउने र उनले बिरजु महारजको नृत्यको बेला तबला बजाउने सल्लाह भएको थियो ।
तर त्यो विदेश यात्राका कारण उनको विद्यालय पूर्णरूपमा छुट्यो । तर त्यो छुटे पनि उनले लाखौंको प्रेम पाएका छन् । पैसाभन्दा पनि मान्छेहरूको प्रेमलाई उस्ताद अमजद अली खान आफ्नो पुजी मान्छन् ।
कसरी भयो विवाह ?
उस्ताद अमजद अली खानले अन्तरधार्मिक विवाह गरे । उनकी पत्नी प्रसिद्ध भरतनाट्यम नर्तकी शुभलक्ष्मी बरुआ खान हुन् । एक पटक उनले कोलकातामा सुभलक्ष्मीको प्रदर्शन हेर्दै थिए । हेर्ना साथ उनलाई शुभलक्ष्मीलाई भगवानले मेरै लागि पठाउनुभएको भन्ने लाग्यो । त्यसपछि उनीहरूले भेटे । विवाह पनि भयो ।
उनका दुई छोरा अमान अली बंगश र अयान अली बंगश छन् । विवाहबारे उनी भन्छन्, ‘हरेक आमाबाबुले आफ्ना छोराछोरीको कुण्डली बनाउँछन् । र विवाहभन्दा पहिले कुण्डली हेरिन्छ । त्यसो गर्दा पनि एक वर्षमै कुण्डली भएको विवाह टुट्छ । तर हाम्रो कुण्डली नभएको विवाह भएको हो’
उस्ताद अमजद अली खान संगीतको कुनै धर्म हुँदैन भन्छन् ।
‘संगीतकारको रूपमा मलाई दुनियाँको हरेक धर्म सुन्न आउँछ । हरेक धर्मले मलाई सहयोग र आशीर्वाद दिएको छ । मलाई लाग्छ कि म दुनियाँ र भारतको हरेक धर्मसँग जोडिएको छु । म केवल सेवा गरिरहेको छु । मायाले मानिसहरूले मलाई चिठीमा पण्डित अमजद अली खान पनि लेख्छन्’ उनी भन्छन् ।
बेगम अख्तर, जाकिर हुसैन र बिस्मिल्लाह खान
उस्ताद अमजद अली खानले आफ्नो जीवनमा धेरै दिग्गज कलाकारहरूसँग समय बिताएका छन् । यति मात्र होइन उनले १२ संगीतकारहरूमाथि एउटा किताब लेखेका छन्, जसको नाम हो- ‘मास्टर अन मास्टर्स’
बेगम अख्तरलाई सम्झँदै उस्ताद खान भन्छन्, ‘त्यो समयमा बेगम अख्तरसँग सारा जमाना चल्थ्यो । एक पटक उनको र मेरो कार्यक्रम श्रीनगरमा भएको थियो । त्यो कार्यक्रम रेडियोले आयोजना गरिरहेको थियो । उनले चार सुन्दर गजलहरू गाइन् । वातावरण सुन्दर बन्यो’
‘उनको पछि जब म स्टेजमा गएँ । पर्दा खुल्यो । त्यहाँ अगाडि बेगम अख्तर बसिरहेकी थिइन् । त्यो उनको महानता थियो । जब मैले उनलाई बसिरहेको देखेँ, तब उनले यति धेरै इज्जत दिइसकेकी थिइन् कि मैले आफ्नो सरोद राखिदिएँ । मैले भने कि बेगम साहेब, तपाईंले यस्तो गाउनुभयो कि मैले सबै राग-रागिनीहरू भुलेँ’ उनले थप सुनाए ।
तबलावादनका उस्ताद जाकिर हुसैनको बारेमा अमजद अली खान भन्छन्, ‘जाकिर हुसैनलाई भगवानले आफ्नै हातले बनाएका थिए । उनी एक प्रतिभाशाली संगीतकार र कलाकार हुन् । उनले तबलालाई एक अलग शिखरमा पुर्याए । ‘
‘मानिसहरू घरानाको कुरा गर्थे । तर, उनी आफैँ घराना बनेका थिए । मानिसहरू हामी दुईलाई एकसाथ हेर्न चाहन्थे । हामी दुईजना संगै बस्दा भने संगीतको एक अलग नै वातावरण बन्थ्यो ।’
शहनाईका जादूगर बिस्मिल्लाह खान साहेबलाई सम्झँदै उनी भन्छन्, ‘एक समय थियो जब शहनाई बजाउनेलाई तेस्रो तलामा बसाउँथे । तर बिस्मिल्लाह खान साहेबले शहनाईलाई स्टेजमा ल्याए । उनले माइक्रोफोनको अगाडि शहनाई बजाए । आज पनि भन्न गाह्रो छ कि बिस्मिल्लाह खानपछि को या जाकिर हुसैनपछि को ?’
उनी थप भन्छन्, ‘केही मानिसहरूलाई ईश्वरले आफ्नै हातले बनाए । र, दुनियाँले उनीहरूलाई देख्न, सुन्न भाग्य मिल्यो । त्यसैले यो सिलसिला सधैँ चलिरहनेछ । दियोबाट दियो उज्यालो हुन्छ’
मुम्बईको फिल्म दुनियाँबाट दूरी
तत्कालीन समयमा थुप्रै संगीतकारहरू फिल्म दुनियाँबाट उदाएका थिए । चाहेको खण्डमा उस्ताद अमजद अली खानसँग पनि त्यो अवसर थियो । तर आफूलाई मुम्बईको फिल्म दुनियाँको आवश्यकता नपरेको उनी बताउँछन् ।
‘म मुम्बई शास्त्रीय संगीतका लागि जान्थेँ । मानिसहरूले मलाई बोलाउँथे । कार्यक्रम गरेर म फर्किहाल्थेँ । मैले त्यहाँ कहिल्यै काम मागिनँ । बरु मलाई सुन्नका लागि फिल्मका मानिसहरू आउँथे । नौशाद साहेब, मदन मोहन जी, ओपी नैयर लगायतका धेरै जना आउनुभएको छ । भगवानको कृपाले मलाई काम माग्न आवश्यक परेन’ उनी भन्छन् ।
त्यस्तै मुम्बईको मौसम सरोदका लागि सही नभएको उनको धारणा छ ।
उनी भन्छन्, ‘मुम्बईको जुन मौसम छ, त्यो मेरो वाद्ययन्त्रका लागि अनुकूल थिएन । समुद्री हावा मेरो वाद्ययन्त्रका लागि बिल्कुल ठिक होइन । एकातिर बुबा बुढेसकालमा पनि हुनुहुन्थ्यो, उहाँको सेवामा रहनु मलाई धेरै महत्त्वपूर्ण लाग्यो ।’
प्रतिक्रिया 4