+
+
Shares

बाल्यकालको दशैं : बिर्सन नसकिने त्यो नाच

उदित नारायण झा दशैंमा आफ्नो घर भारदह फर्किन्थे । अनि कन्कालिनी मन्दिरको सांस्कृतिक कार्यक्रममा गीत गाउँथे ।

डा.बालकृष्ण साह डा.बालकृष्ण साह
२०८२ असोज १३ गते १२:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उदित नारायण झा दशैंको सांस्कृतिक कार्यक्रममा गीत गाउन भारदह फर्किन्थे र लेखकले पहिलो पटक उहाँको प्रत्यक्ष गीत सुने।

बाल्यकालमा दशैं केवल पर्व मात्र हुँदैन । जीवनको रंगीन सपना, उत्साह र रहस्यको समय हुने गर्छन् । तराई होस् या पहाड, दशैं मनाउने व्यक्ति होस या नमनाउने दशैंमा एउटा छुट्टै उमङ्ग हुन्छ ।

सायद म त्यो समय कक्षा पाँचमा पढ्थें । बालमनका लागि त्यो उमेरमा साहस र कल्पनाको एउटा सीमा थियो-जहाँ डर र उत्सुकता, रहर र अनुशासन, रमाइलो र भय सबै मिश्रित हुन्थ्यो ।

महानवमीको बिहान, घरको आँगन अझै घामले चम्किरहेको थियो । मधेशमा दशैंको मेला । ठाउँ-ठाउँमा माटाेकाे मुर्ति रमाइलो थियो । मेलामा जिलेबी र अरू मिठाई, बेलुन र खेलौना..। बाल्यकालमा त्यो नै सबै भन्दा महत्वपूर्ण थियो । मैले बुबाको हात समातें । हामी भारदहको कंकालिनी मन्दिरतर्फ हिँड्यौं, जहाँ सबै भन्दा ठूलो मेला लाग्थ्यो ।

बाटोमा भीड, बजारको हलचल, धुलो, ढोल बाजाको ताल, यी सबैले मेरो बालमनलाई उत्साहले भरिदियो । म प्रत्येक ध्वनि, रङ र गन्धलाई चुमेर अनुभव गर्दै थिएँ ।

मन्दिरको प्रांगणमा प्रवेश गर्दा दृश्य अविश्वसनीय थियो । रागाहरू लामबद्ध उभिएका, पिठ्यूँ सेतो धोतीलाई बेसारले रंगिएको, काँधमा फूलको माला । भीडको हुटहुटी, धूपबत्तीको हल्का धुवाँ, बलि दिने क्रममा रगतको क्षणिक गन्ध—सबैले वातावरणलाई रहस्यमय बनाएको थियो । दिनभरी सयौँ खसी, बोकाको बली ।

तर असली बलि रागाको हेर्न मानिसहरू लालयित थिए । करिब २ बजे रागा बलि सुरु भयो । रागाहरू मन्दिर बाहिर छुट्याइएको ठाउँमा मिलाएर राखिएको थियो । खड्ग लिएर मन्दिर भित्रबाट आउने, एक पछि एक रागाको मात्र बलि दिने, अनि एकै पटकमा ….. ।  एक–एक रागाको घाँटी छिनेको दृश्यले मेरो बालमनमा डर पनि पैदा गरायो ।

बलि हेर्ने क्रममा मैले बुबाको अनुहार पनि बारम्बार हेरेँ । उहाँको गम्भीरता र सम्मानले मेरो बालमनमा स्थिर भाव जगायो ।

बलि हेरेपछि हामी पुर्ख्यौली घर गोइठी पुग्यौँ । बाँस झ्याङ्गको बाटो, नदीमा चप्पल खोलेर पार गरेको, पोखरीको डिल अनि डिलमा रहेका आँपका बोटहरू … सबैले स्वागत गरे जस्तै लागेको थियो । घरको आँगन, माटोको गन्ध, ठूली आमाले पकाएको तरुवा, भरुवा, अदौरी सबैले बालमनलाई सुरक्षा र न्यानोपनको अनुभूति दिए ।

खाना त्यहीँ खाइयो, तर रात त्यहाँ बिताएनौं । हाम्रो मन रहरले भरिएको थियो-रातभरि सांस्कृतिक कार्यक्रम हेर्ने । फेरि भारदह नै फर्कियौँ ।

त्यो समयमा उदित नारायण झा प्रख्यात गायक भइसकेका थिए । उनी दशैंमा आफ्नो घर भारदह फर्किन्थे । अनि कन्कालिनी मन्दिरको सांस्कृतिक कार्यक्रममा गीत पनि गाउने गर्थे । त्यो दिन मैले पहिलो पटक उनको गीत प्रत्यक्ष सुनेँ ।

बालमनमा त्यो स्वरले अचम्मको मिठास भरिदियो । मलाई गायकको नाम थाहा थिएन, तर बुबा र दाइहरूले भन्नुभयो, ‘यो उदित नारायण हो।’ आज सम्झिँदा लाग्छ-कस्तो सौभाग्य थियो त्यो क्षण । त्यति प्रख्यात मान्छेलाई सानै उमेरमा प्रत्यक्ष हेर्न सुन्न पाएँ । त्यो पनि बुबाको छेउमा उभिएर, न कुनै टिकट न त कुनै छेकबार ।

हाम्रो रहर अझै रोकिएन । गीत सकिएपछि यात्रामा निस्क्यौं । कोशी व्यारेज हुँदै भण्टाबारी पुग्नु थियो । करिब १०–१२ किलोमिटर यात्रा, पैदल नै जाँदै थियौँ । अन्धकार रात, बाटो धुलाम्यालो । कतै सडक बत्तिको अलिअलि उज्यालो, कतै चन्द्रमाको झल्को । बुबा, दाइ र अरू धेरै गाउँलेहरू पनि सँगै थिए । हामी घण्टौ हिँड्यौं । रहर र उत्साहले थकाइ आउन दिएन । उत्साहले डर हरायो । एउटै डर थियो-भीडमा छलिएला कि भन्ने । बुबाको हात बेस्सरी समाएको थिएँ । एउटै कुरा मानमा थियो-यो हात छोडें भने म हराउँछु ।

मेलामा पुग्दा ठूलो पण्डाल, देवीको मूर्ति, झिलिमिली बत्ती, बाजा–ढोल थिए । यी सबैले उत्सवको वातावरण सिर्जना गरेको थियो । पुरुषहरूले महिलाको भेषमा भूमिका निभाउँदै गीत र कथासहित प्रदर्शन गरे । हास्य, करुणा, प्रेम-सबै मिश्रित । बालक दृष्टिमा अहिलेको चलचित्र जस्तो ।

गीतसँगै कथाको प्रस्तुति हुन्थ्यो—कसैको विछोड, कसैको प्रेम, कसैको हास्य, कसैको करुण । कहिले दर्शक टोलाउँथे, कहिले ताली बजाउँथे, कहिले आँखा रसाउँथ्यो । मलाई लाग्यो-यो त चलचित्रभन्दा पनि रमाइलो छ । पर्दामा हेर्ने भन्दा यहाँ त मानिसहरू प्रत्यक्ष बोल्छन्, गाउँछन्, नाच्छन्, दर्शकसँगै हाँस्छन्, रुन सक्छन् ।

भीडमा हराउने डर, बुबाको हात समात्ने तागत, असमिति उत्सुकता,सबैले बालमनमा अद्‍भूत संवेदनाहरू भरिदियो । रातभरि जाग्राम रहनु, पैदल यात्रा गर्नु, यी बालापनका अमूल्य क्षण बने । मधेसको दशैंमा केवल मनोरञ्जन मात्र थिएन । बलि, जमरा, खोइच भर्ने परम्पर, यी सबैले समाजको सांस्कृतिक र धार्मिक धरोहर बुझाइरहेको थियो ।

मेलाले समाजलाई जोड्थ्यो । मानिसहरूको भेटघाट हुन्थ्यो, खबर आदान–प्रदान हुन्थ्यो। दशैं आउँदा मेरो मन हरेक वर्ष विगततिर दौडिन्छ। चिकित्सक भएर आज म बिरामीसँग दिन बिताउँछु, समाजसेवामा लाग्छु, किताब लेख्छु, तर जब दशैंको नाम सुन्छु, मेरो मन एक्कासी त्यो बालापनमा फर्कन्छ, जहाँ बुबासँग हात समातेर मेला गएको थिएँ, भीडमा हराउने डर थियो, तर रहरको तागतले मलाई थकाइ बिर्साइरहेको थियो ।

मधेसमा दशैं अझै फरक छ । यहाँ नवरात्रीको व्रत बस्ने चलन अझै पनि छ, देवीस्थानमा पूजा गर्ने परम्परा छ । फूलपाती भित्र्याउने, झिझिया नाच्ने, कुदृष्टिबाट जोगाउन काजल लगाउने देवी मन्दिरमा खोइचा भर्ने चलन छ । बलि दिने र जात्रामा सामूहिक सहभागिता गर्ने आस्था छ । मधेसको दशैंले केवल आस्था मात्र होइन, संस्कृतिको रंङ, समाजको स्वरूप र बालमनको चञ्चलता समेत बोकेको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?