News Summary
Generated by OK AI. Editorially reviewed.- दीप्ती नवलले सन् १९८० को 'चश्मे बद्दूर' फिल्ममा मिस चमकोको भूमिका निभाएर रातारात स्टार बनेकी थिइन्।
- दीप्तीले अभिनयको औपचारिक तालिम नलिए पनि ऐनासामु आफूलाई नियालेर अभिनयमा दक्षता हासिल गरेकी छिन्।
- दीप्तीले विवाहपछिको डिप्रेसन र कठिन समयमा चित्रकला र लेखनलाई सहारा बनाएर जीवनका चुनौतीहरू पार गरेकी छिन्।
कुनै समय घरको ढोका ढक्ढ्याउँदै साबुन, सर्फ, तेलजस्ता सामान बेच्ने गरिन्थ्यो । सन् १९८० को दशकमा यो पेसाको कुरा सम्झँदा मान्छेहरू एक युवतीको अनुहार सम्झन्थे । त्यो अनुहार ‘मिस चमको’ को थियो । जुन सन् १९८० मा आएको ‘चश्मे बद्दूर’ फिल्मको एक पात्रको नाम थियो ।
उक्त पात्रको भूमिका दीप्ती नवलले निभाएकी थिइन् । फिल्ममा उनको नाम नेहा थियो । फिल्ममा उनी चमको नामको वासिङ पाउडर बेच्ने केटीको भूमिकामा थिइन् । त्यसैले फिल्मका अभिनेता फारुक शेखले उनलाई ‘मिस चमको’ भनेर बोलाउँथे ।
यो पात्र त्यतिबेला यति धेरै लोकप्रिय भयो कि, दीप्ती नवल रातारात स्टार बनिन् । आफूलाई स्टार बनाउने फिल्म कलाकारका लागि विशेष हुन्छ । तर दीप्ती नवल यो कुरासँग पूर्णरूपमा सहमत छैनन् ।उनी भन्छिन्, ‘मानिसको व्यक्तित्वमा धेरै तहहरू हुन्छन् । उसलाई कुनै एउटा कुरामा मात्र बाँधेर राख्नु हुँदैन ।
दुईपटकसम्म विस्थापन
दीप्ती अमृतसरमा जन्मिएकी र हुर्किएकी हुन् । उनका बुबा हिन्दु कलेजमा अङ्ग्रेजीका प्रोफेसर थिए । उनकी आमा चित्रकार र शिक्षिका थिइन् । उनकी एक दिदी स्मिती र उनीभन्दा ८ वर्ष कान्छा भाइ रोहित छन् । दुवै अहिले परिवारसहित अमेरिकामा बसिरहेका छन् ।

परिवारको कुरा गर्दा दीप्तीले आफ्ना आमाबुबाले दुईपटक विस्थापनको अनुभव गर्नुपरेको बताउँछिन् । बर्मामा जापानी हमलापछि परिवार लाहोर (अहिले पाकिस्तान) मा आएर बस्यो ।
भारत विभाजनपछि उनीहरू फेरि विस्थापित हुनुपर्यो । त्यहाँबाट उनीहरूको परिवार पन्जाबमा सरेको थियो । जहाँ उनी हुर्के, बढेकी थिइन् ।
आमाबुबा शिक्षक पेसामा भएकाले दीप्तीको घरमा सधैँ पढाइलेखाइको वातावरण हुन्थ्यो । ‘बुबा घर आउने बेला घण्टी बज्थ्यो । हामी तुरुन्तै किताब लिएर पढ्न बसिहाल्थ्यौं’ उनी सुनाउँछिन्, ‘हाम्रो खाने टेबलमा सधैँ बायरन र कीट्सका कविताहरूको चर्चा हुन्थ्यो । त्यसैले साहित्यमा मेरो पनि रुचि बढ्यो ।’
दीप्तीकी आमालाई नाचगान र नाटक पनि निकै मन पर्थ्यो । उनी गीत गाउनथिन् । नाटक पनि हेर्थिन् । यी कारणले बाल्यकालदेखि नै दीप्ती पनि कलाप्रति रुचि जाग्यो ।
कक्षा छाडेर फिल्म
सुरुमा दिप्तीमा साहित्यप्रति गहिरो रुचि थियो । पछि त्यो रुचि फिल्ममा सर्यो । उनको पालामा मनोरञ्जनको माध्यम फिल्म मात्र थियो ।
हलमा आएका सबै फिल्म उनी नछुटाइ हेर्थिन् । कक्षा छोडेर भए पनि उनी फिल्म हेर्न जान्थिन् । ‘सन् १९६०/७० मा टेलिभिजनको युग आयो । त्यसमा चित्रहार, किसान र फौजीसम्बन्धी कार्यक्रम आउँथ्यो । तर हामीलाई फिल्म नै मन पर्थ्यो’ उनी भन्छिन्, ‘आइतबार फिल्म आउँथ्यो, त्यो हामी हेर्थ्यौँ । गीत त हरेक दिन हेर्थ्यौँ ।’
फिल्ममा अभिनय गर्ने विचार कसरी आयो ? दीप्ती यसको श्रेय बलराज साहनीलाई दिन्छिन् ।
सन् १९६० को कुरा हो, त्यो बेला दीप्ती ९ वर्षकी थिइन् । बलराज साहनी एउटा नाटक देखाउन अमृतसर आएका थिए । पन्जाबी नाटक थियो त्यो । नाम थियो-कनक दी बल्ली ।
‘नाटक सकिएपछि बुबाले मलाई बलराज साहनीकहाँ अटोग्राफ दिलाउन लिएर जानुभयो’ दीप्ती सुनाउँछिन्, ‘अटोग्राफ दिँदै उनले भने ‘माइ डियर, यदि मैले यसरी नै अटोग्राफ दिइरहें भने मेरो रेल छुट्छ ।’
दिप्तीलाई बलराजको उक्त शब्दले निकै प्रभाव पार्यो । एक त उनले दिप्तीलाई ‘माइ डियर’ भनेका थिए । जसले गर्दा उनलाई ‘यिनी त हाम्रै मान्छे पो रहेछन्’ भन्ने भान भयो । अभिनयको उनको सपना त्यही अटोग्राफबाट सुरु भयो । उनले त्यस अटोग्राफलाई सम्हालेर राखेकी छिन् ।
‘म उनको व्यक्तित्वबाट निकै प्रभावित थिएँ । हेर्दा सुन्दर, आकर्षक । आफूलाई प्रस्तुत गर्ने बिल्कुलै फरक तरिका । ती सबै देखेर मनमनै मैले यदि अभिनेत्री बनेँ भने मेरो व्यक्तित्व पनि त्यस्तै हुन्छ भनेर सोचेको थिएँ’ दीप्ती भन्छिन् ।
अनि उनले ११ वर्षको उमेरमा अभिनय गर्ने र आफ्नो पेसा त्यही हुने निर्णय गरेकी थिइन् ।
ऐना हेरेर फिल्मको तालिम
दीप्तीले फिल्मका लागि कुनै औपचारिक तालिम लिइनन् । यसका लागि उनले ऐनासामु धेरै समय बिताइन् । र, त्यो ऐनाले उनलाई धेरै कुरा सिकायो ।
‘ऐनासामु मैले आफूलाई धेरै गहिरोगरी नियालेकी छु’ दीप्ती भन्छिन्, ‘जब कसैले हेरिरहेका हुन्थेनन्, म सधैँ ऐनासामु हुन्थें । त्यसो गर्दा नै मसँग पनि भावनाहरू व्यक्त गर्ने संवेदनशीलता छ भन्ने थाहा पाएँ । ‘मलाई लाग्छ यही नै सही सिकाइ हो । मैले धेरै प्रशिक्षित र दक्ष कलाकारहरूलाई देखेकी छु, तर एक कलाकारका लागि जीवनभन्दा राम्रो प्रशिक्षक अरू कोही हुँदैन ।’
तर उनी अभिनयको तालिम लिँदा फाइदा हुने कुरालाई अस्वीकार गर्दिनन् । तालिमले आत्मविश्वास ल्याउने उनी ठान्छिन् ।
दीप्ती भन्छिन्, ‘प्रशिक्षित कलाकारहरूलाई देखेर कहिलेकाहीँ मलाई लाग्छ, यदि मैले तालिम लिएकी भए म के-के गर्न सक्थें होला। तालिम भएको भए मसँग एउटा पात्र खेल्नका लागि अझ राम्रो हतियार हुन्थ्यो ।’
तर आफूलाई कहिल्यै आफूमा कुनै कुराको कमी भएको महसुस नभएको उनी सुनाउँछिन्। ‘म सधैँ यही मान्छु कि म अभिनयका लागि नै जन्मिएकी हुँ ।’
‘मिस चमको’ बाट चम्किएको भाग्य
अमेरिकामा स्नातक पूरा गरेपछि दीप्ती जीन फ्रान्केल इन्स्टिच्युटमा भर्ना भइन् । त्यहाँ उनी टिभी र क्यामेरासम्बन्धी कुराहरू सिक्न जान्थिन् । र, एउटा रेडियो कार्यक्रम पनि चलाउँथिन् । त्यही समयमा उनको भेट राज कपुर, सुनील दत्त, दिलीप कुमार र हेमन्त कुमारसँग भयो।
‘फिल्ममा मेरो सुरुवात एकदमै सजिलो थियो । ‘चश्मे बद्दूर’ पछि म रातारात स्टार बनेकी थिएँ । म र फारुक त छाइहाल्यौं’ उनी भन्छिन्, ‘तर ४/५ वटा फिल्म गरेपछि मेरो सङ्घर्ष सुरु भयो ।’
पहिलो फिल्म पछि दीप्तीले अभिनय गरेका ‘कथा’ र ‘अंगूर’ फिल्मलाई मानिसहरूले मन पराएका थिए । तर आफ्नो अभिनयलाई लिएर मनमा प्रश्न आउन थालेपछि उनले ६ महिनासम्म कुनै फिल्ममा साइन गरिनन् ।
अफर आएका फिल्महरू सबैलाई अस्वीकार गरिरहिन् । त्यो समयमा मान्छेहरूको मनमा छाप छाड्ने खालको फिल्म खोजिरहेकी थिइन् ।
‘बाल्यकालमा मैले ‘अब दिल्ली दूर नहीं, ‘स्कूल मास्टर’, ‘गाइड’, ‘संगम’, ‘मदर इन्डिया’ जस्ता फिल्महरू हेरेकी थिएँ । मलाई त्यस्तै फिल्म गर्न मन थियो, जुन मलाई मिलिरहेको थिएन’ उनी सुनाउँछिन् ।
आफ्नै निर्णय भारी
दीप्तीले त्यसो गर्दै गर्दा यस्तो अवस्था आयो कि, अब उनीसँग कुनै पनि फिल्म भए कुनै फिल्म भएन । दीप्ती भन्छिन्, ‘म ऋषि कपुर र पद्मिनी कोल्हापुरीसँग ‘ये इश्क नहीं आसान’को सुटिङ गरिरहेकी थिएँ । अन्तिम शट लिइयो । प्याकअप भयो, सबै गइसकेका थिए । म मात्र बाँकी थिएँ । त्यहाँ उभिएर मलाई लाग्यो कि मसँग एउटै पनि फिल्म छैन । यो मेरो आफ्नै कारणले भएको थियो।’
यो विचारले उनको मनमा निकै ठूलो झट्का लाग्यो ।उनले आफ्नो पूरै जीवन सिनेमालाई सुम्पिएर अमेरिकाबाट फर्किएकी थिइन् । सफल पनि भइन् । स्टार पनि बनिन्। सबै कुरा भयो । तर अब करियरमा अँध्यारो मात्र बाँकी रहेको उनले ठानिन् ।
फिल्मी करियरको दोस्रो चरण
ती दिनहरू दीप्तीका लागि डिप्रेसन र अँध्यारोको समय थियो । तर केही अन्तरालमै ती कुराहरू परिवर्तन भए । उनले ‘कमला’ र ‘अनकही’ जस्ता फिल्महरू गरिन्, जुन उनले खोजे जस्तै थिए ।
‘कमलाका लागि म निकै उत्साहित थिएँ । त्यसमा मैले खोजिरहेको भूमिका थियो । त्यसपछि अमोल पालेकरले निर्देशन गरेको फिल्म ‘अनकही’ पाएँ । त्यसमा थोरै पागलजस्ती केटीको भूमिका थियो । यो भूमिका खेलेर मलाई धेरै खुसी लाग्यो’ दीप्ती निराशापछिको सफलताबारे सुनाउछिन् ।
यसरी केही समय फिल्म नपाए पनि उनले कुरिन् । केही समय त्यसले उनलाई गाह्रो पनि बनायो । तर पछि उनले सोचे जस्तै फिल्महरू पाइन् । दीप्ती यसलाई आफ्नो फिल्मी करियरको दोस्रो चरण भन्छिन् । जुन उनको मनपर्ने चरण पनि हो ।
बिग्रेको विवाह
यसैबीच उनको प्रकाश झासँग भेट भयो । प्रकाशको ‘हिप हिप हुर्रे’ फिल्ममा दिप्तीले साइन गरेकी थिइन् । पछि उनीहरूको विवाह भयो । तर, त्यो विवाह धेरै समय टिक्न सकेन ।
दीप्ती विवाहपछिका २/३ वर्ष निकै कठिन समय भएको बताउँछिन् । उनी भन्छिन्, ‘जस्तो सोचेको थिएँ, कुराहरू त्यस्तो भएनन् । हामी दुवैबीच कुराकानी बिल्कुलै बन्द भयो । विवाह सम्बन्ध त्यस्तो भएपछि म डिप्रेसनमा गएँ ।’
त्यसपछि उनले आफ्ना लागि समय दिने निर्णय गरिन् ।
चित्रकला र लेखनको सहारा
आफ्नो कठिन समयबारे कुरा गर्दै दीप्तीले भनिन्, ‘हरेक २०/२५ दिनमा एउटा यस्तो समय आउँथ्यो, जब मलाई लाग्थ्यो कि केही पनि सही भइरहेको छैन । अमेरिकामा परिवार छोडेर आउनु गलत निर्णय थियो । त्यो समयमा लेखन र चित्रकलाले नै मलाई साथ दियो । ’
उनी घण्टौँसम्म क्यानभासमा चित्र कोर्थिन्। डायरी लेख्थिन्। त्यो समयले उनलाई धेरै कुरा सिकायो, जुन एउटा विद्यालयले पनि सिकाउन सक्दैन । उनी भन्छिन्, ‘असफलता निकै मूल्यवान् हुन्छ । किनकि यही असफलताले तपाईंको सीपलाई निखार्छ । तपाईंलाई अनुभव दिन्छ । यदि तपाईंमा असफलता आयो भने बुझ्नुस् यसभन्दा ठूलो सफलता केही छैन ।’
प्रतिक्रिया 4