+
+
Shares

टर्निङ पोइन्ट : अस्ट्रेलियाबाट नफर्केको भए …

उनलाई नेपाल फर्कन आग्रह गरियो । त्यसका लागि उनले एउटै सर्त राख्छन्- संगीतको राम्रो कलेजमा फेरि भर्ना हुने ।

सापेक्ष सापेक्ष
२०८२ असोज १४ गते ११:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शुसान्त केसीले अष्ट्रेलियामा पढ्दै गर्दा \'मुस्कुराएर\', \'बेहोस\', \'सताएर\' जस्ता गीत लेखेका थिए र युट्युबमा अपलोड गरेका थिए।
  • उनले सन् २०१९ मा नेपाल फर्केर बर्क्ली कलेज अफ म्युजिकमा अनलाइन पढाइ पूरा गरी सन् २०२२ मा उत्तीर्ण भएका छन्।
  • उनले टी सिरिजसँग सहकार्य गरी \'द भोइस किड्स नेपाल\' को कोच समेत भइसकेका छन्।

‘सिङ्गर सङ राइटर’ । यो संगीतको एउटा विधा हो । यसमा कलाकारहरू आफैंले गीत लेख्ने/कम्पोज गर्ने/प्रदर्शन गर्ने काम गर्छन्।
र, यो विधाका चर्चित नेपाली कलाकार हुन्- शुसान्त केसी ।

उनी नेपालमा ए लेभल सकेपछि उनी उच्च शिक्षाका लागि अष्ट्रेलिया गएका थिए । त्यहाँ उनले पढ्ने विषय अर्कै थियो । तर त्यसबेला सम्ममा उनले संगीत क्षेत्रमा केही काम पनि गरिसकेका थिए ।

‘कहाँ जाउँ’, ‘आमा’ जस्ता गीत निकालिसकेका थिए । नेपालमा केही ठाउँमा कन्सर्ट पनि गरिसकेका थिए । र, सार्वजनिक नभए पनि केही गीतहरू रेकर्ड गरिसकेका थिए ।

यी सबै छाडेर उनी अष्ट्रेलिया हानिएका थिए । जहाँ उनलाई पढाइको त तनाव थियो । सँगै कसरी गुजारा चलाउने भन्ने अर्को तनाव पनि थियो । कलेजको शुल्क घरले थामिरहेको थियो । त्यहाँ आफ्नो खर्च चलाउन उनले केही सामान्य काम त गर्थे । तर ती दिगो थिएनन् ।

केसी सानैदेखि पढाइमा अब्बल नै थिए । र मुख्य कुरो उनी घर परिवारबाट टाढा बसेका थिएनन् । सिड्नी उनका लागि अनजान थियो । छन त अष्ट्रेलियामा उनका साथीहरू पनि थिए । तिनले गर्दा उनले एक्लो महुसस गर्न पाएनन् । उनलाई त्यहाँको विद्यार्थी जीवनले ठूलो पाठ सिकाइरहेको थियो ।

धन्न ! उनीसँग गीतार थियो । संगीत थियो ।

जीवन जतिसुकै गाह्रो भए पनि उनले गीत बनाउन र निकाल्न छाडेका थिएनन् । ‘मुस्कुराएर’, ‘बेहोस’, ‘सताएर’ जस्ता चर्चित गीतहरू उनले त्यहीँ हुँदा लेखेका थिए । कम्पोज गरेका थिए । र, युट्युबमा अपलोड पनि गरेका थिए ।

त्यसका लागि उनले आफू बस्ने अपार्टमेन्टमा होम स्टुडियो बनाएका थिए ।

खासमा उनी अष्ट्रेलिया पढ्न गएका थिए । तर उनी पढ्ने कम, संगीत बढी गर्ने भइसकेका थिए । जुन कुरा नेपालमा भएका उनका अभिभावकलाई राम्ररी थाहा थियो । जे विषय पढ्न उनी गएका थिए त्यसमा राम्रो नगरिरहेको पनि अभिभावकलाई थाहा थियो ।

त्यसपछि उनलाई नेपाल फर्कन आग्रह गरियो । त्यसका लागि उनले एउटै सर्त राख्छन्- संगीतको राम्रो कलेजमा फेरि भर्ना हुने । अनि बुबाको जोडबलमा उनले बर्क्ली कलेज अफ म्युजिकमा आवेदन दिन्छन् । उनी भर्नाका लागि छनौट पनि हुन्छन् ।

र, सन् २०१९ मा नेपाल फिर्ता हुन्छन् । उक्त कलेजमा पढाइ भने अनलाइन हुने गर्थ्यो । त्यहाँबाट उनी सन् २०२२ मा उत्तीर्ण पनि भइसकेका छन् ।

अहिले उनका सबैजसो गीत ५ करोडभन्दा बढी पटक हेरिएका छन् । केही समयअघि मात्रै उनले टी सिरिज जस्तो प्रसिद्ध रेकर्ड लेबलसँग सहकार्य गरेका छन् । र, द भोइस किड्स नेपाल नामक रियालिटी शोका कोच समेत भइसकेका छन् ।

यो सबै सफलता पाएका उनी नेपाल फिर्ता हुनुलाई आफ्नो जीवनको टर्निङ पोइन्ट मान्छन् । स्टेलर स्टुडियोज् नेपालको कार्यालयमा कुराकानी गर्दा उनले ठ्याक्कै कुन गीतले आफूलाई धेरै चिनाएको भनेर भन्न सकेनन् ।

‘मैले पढेअनुसार सबै कलाकारको टप ड्रयर, मिडल ड्रयर र बटम ड्रयरमा गीतहरू हुन्छन्’ सुशान्त भन्छन्, ‘मेरा लागि नेपालको हकमा बटम ड्रयरमा एक मिलियनभन्दा कम भ्युज पाएको गीत पर्छन् । मिड ड्रयरमा ५ देखि १० मिलियन र टप ड्रयरमा ४०-५० मिलियन भ्युज गएका गीतहरू पर्छन् । टप ड्रयरमा मेरो धेरै गीतहरू परेका छन् । त्यही भएर यही गीत भन्दिनँ ।’

करिब १० वर्षको यात्रामा निकालेका सबै गीतहरू टप हुन् जस्तो लाग्छ उनलाई ।

त्यस्तै आफ्नो गीतहरू सुरु समयदेखि नै हिट भएको उनले दाबी गरे ।

‘आमा निकाल्दा पनि त्यो समयमा हिट गीत भयो । साथी निकाल्दा पनि त्यस्तै । सुरुदेखि नै गीतहरू हिट हुँदै आए, ’ उनले भने ।

अहिले उनीसँग गीतको अभाव छैन । अस्ट्रेलियामा बस्दा बनाएका गीतहरू टन्नै छन् । तर, नेपाल फर्कनु आफ्ना लागि नयाँ यात्रा भएको उनी बताउँछन् ।

त्यहाँबाट फर्केपछि उनी व्यवस्थित भए । संगीत सिर्जना आफूले हेर्ने र त्यसको व्यावसायिकरण हेर्न अर्का दक्ष व्यक्तिलाई जिम्मा दिए । जुन आजपर्यन्त कायम छ ।

सायद अस्ट्रेलियाबाट नेपाल नफर्केको भए उनी संगीतमा त हुन्थे । तर, आजको जस्तो नहुन सक्ने सम्भावना ज्यादा थियो ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?