+
नेपाली क्रिकेट :

यसरी सम्भव भयो वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित

२०८२ असोज  ११ गते २३:५८ २०८२ असोज ११ गते २३:५८

नेपालले हालसम्म फूल मेम्बरलाई हराउन भने सकेको थिएन । आज वेस्ट इन्डिजसँगको ऐतिहासिक खेलमा नै नेपालले ऐतिहासिक जित निकाल्न सफल भयो ।

यसरी सम्भव भयो वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले वेस्ट इन्डिजविरुद्ध १४८ रन डिफेन्ड गर्दै टी-२०आई शृंखलामा १९ रनले ऐतिहासिक जित निकाल्यो।
  • कप्तान रोहित पौडेल प्लेयर अफ दि म्याच घोषित भए र उनले ३८ रन बनाउँदै बलिङमा पनि १ विकेट लिए।
  • नेपालले पूर्ण सदस्य राष्ट्रविरुद्ध पहिलो पटक जित निकाल्दा बलिङ, फिल्डिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्‍यो।

११ असोज, काठमाडौं । नेपालले शनिबार राति सम्पन्न वेस्ट इन्डिजसँगको पहिलो टी-२०आई खेलमा ऐतिहासिक जित निकाल्यो ।

वेस्ट इन्डिजविरुद्ध १४८ रन डिफेन्ड गर्दै नेपालले १९ रनको जित निकाल्दै आईसीसीको फूल मेम्बर (पूर्ण सदस्य) राष्ट्रविरुद्ध पहिलो जित निकाल्न सफल भयो ।

नेपालको ऐतिहासिक जितमा सबै खेलाडीहरूले राम्रो प्रदर्शन गरे । विशेषगरी कप्तान रोहित पौडेलको प्रदर्शन शानदार रह्यो । उनी प्लेयर अफ दि म्याच घोषित भए ।

अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेदेखि यस खेलअघिसम्म नेपाली क्रिकेट टोलीले टी-२०आई अन्तर्राष्ट्रियमा १०३ खेल खेलेको थियो । १०४औं खेलमा नेपालले अन्तत: आईसीसीको फूल मेम्बरलाई हराउन सफल भयो ।

यसकारण ऐतिहासिक जित

नेपाली क्रिकेट टोलीले हालसम्म आईसीसीको फूल मेम्बर (पूर्ण सदस्य) अर्थात् टेस्ट, ओडिआई र टी-२०आई सबै मान्यता प्राप्त गरेका टोलीसँग धेरै खेल्ने मौका पाएको छैन । त्यसमाथि पनि द्विपक्षीय शृंखला त यो पहिलो नै हो ।

नेपालले भारत, अफगानिस्तान, बंगलादेशजस्ता टोलीसँग कुनै मुख्य प्रतियोगिताहरूमा मात्र खेल्ने अवसर पाएको छ । हालसम्म फूल मेम्बरलाई हराउन भने सकेको थिएन ।

हाल फूल मेम्बर भइसकेको अफगानिस्तानलाई नेपालले सन् २०१४ को टी-२० विश्वकपमा हराएको भएपनि त्यसबेला अफगानिस्तान पूर्ण सदस्य राष्ट्र अर्थात् फूल मेम्बर भइसकेको थिएन र एसोसियट नै थियो ।

नेपालले यसअघि पूर्ण सदस्य राष्ट्रसँग आठ टी–२० अन्तर्राष्ट्रिय खेलेको थियो । २०१४ मा अफगानिस्तान र २०१५ मा आयरल्यान्डविरुद्धका खेलहरू भने त्यतिबेला दुवै एसोसिएट राष्ट्र भएकाले गणना गरिएको छैन।

नेपालले जिम्बाब्वे, बंगलादेश र आयरल्यान्डसँग दुई–दुई पटक खेलेको छ भने भारत र दक्षिण अफ्रिकासँग एक–एक पटक खेलेको छ। यी आठै खेलमा नेपाल पराजित भएको थियो।

आज वेस्ट इन्डिजसँगको ऐतिहासिक खेलमा नै नेपालले ऐतिहासिक जित निकाल्न सफल भयो ।

पछिल्लोपटक सन् २०२४ मा भएको टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपाल केवल १ रनले पराजित हुँदै इतिहास बनाउनबाट चुकेको थियो।

यसरी सम्भव भयो जित

खेलमा नेपालले टस हारेको भएपनि कप्तान रोहित पौडेलले उक्त टस हारे पनि राम्रो भएको उल्लेख गरेका थिए । किनभने उनी टस जितेर ब्याटिङ रोज्न चाहन्थे ।

यसकारण खेलमा अर्ली एडभान्टेज भने नेपालले पाइसकेको थियो । शारजाहमा पछिल्लो समय सबै खेल पहिले ब्याटिङ गर्ने टोलीले जितिरहेका थिए । त्यसकारण राम्रो स्कोर खडा गर्न सके नेपालले कसिलो बलिङमा खेल जित्ने सम्भावना त थियो नै ।

नेपालले ब्याटिङमा सुरुवात राम्रो गर्न नसकेपनि कप्तान रोहित पौडेल र कुशल मल्लले अर्धशतकीय साझेदारी गर्दै इनिङ सम्हालेका थिए । नेपालले २० ओभरमा १४८ रन बनायो । उक्त योगफल मैदानको औसतभन्दा कम भएपनि डिफेन्ड गर्न पुग्दो थियो ।

जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजलाई नेपालले सुरुवातदेखि नै दबाबमा राख्यो । कुशल भुर्तेलले शानदार रनआउट गर्दै पावर हिटिङ ब्याटर काइल मेयर्सलाई पेभेलियनको बाटो देखाए । त्यसपछि पनि नेपालले नियमित अन्तरालमा विकेट लिइराखेको थियो ।

दीपेन्द्रको उत्कृष्ट फिल्डिङमा अर्को एक रनआउटमार्फत किएसी कार्टी आउट भएका थिए भने सन्दीप जोराले पनि बाउन्ड्री नजिकै राम्रो क्याच लिए । यसबाहेक सिङ्गल डबल रोक्न पनि खेलाडीहरूको फिल्डिङ जोशिलो थियो ।

अनुभवी अलराउण्डर जेसन होल्डर सस्तैमा आउट हुँदा वेस्ट इन्डिज ७६-६ को खराब अवस्थामा पुगिसकेको थियो । त्यसपछि फाबियन एलेन र कप्तान अकिल होसेन मिलेर केही ठुला शटहरू खेलेपछि खेल फेरि रोमाञ्चक अवस्थामा पुगेको थियो ।

अन्तिम २ ओभरमा ३० रन आवश्यक रहँदा करण केसी बलिङमा आए । उनको ओभरमा कप्तान होसेन आउट भएपछि नेपालले खेलमा फेरि मोमेन्टम प्राप्त गर्‍यो । उक्त ओभरमा करणले २ रन मात्र दिए ।

अन्तिम ओभरमा २८ रन आवश्यक हुँदा बलिङमा दीपेन्द्रसिंह ऐरी आए । तर रन धेरै बाँकी रहेको हुँदा दुई लिगल बलले मात्र पनि नेपालको जित सुनिश्चित भइसक्ने थियो । फाबियन एलेनले २ चौका मात्र प्रहार गरे । नेपाल १९ रनले विजयी भयो ।

रोहितको कप्तानी प्रदर्शन

रोहितले नेपालका लागि आज कप्तानी प्रदर्शन गरे । ब्याटिङमा नेपालका लागि सर्वाधिक ३८ रन बनाएका उनले किफायती बलिङ गर्दै १ विकेट पनि लिए ।

उनले बलरहरूको प्रयोग पनि राम्रो तरिकाले गरेको देखिन्थ्यो । जसको नतिजा वेस्ट इन्डिजका ब्याटरहरू दबाबमा परेको कुराले प्रष्ट देखिन्थ्यो ।

रोहितसँगै कुशल मल्लको ब्याटिङ तथा कुशल भुर्तेलको बलिङ पनि शानदार रह्‍यो । फिल्डिङ पनि एक-दुई गल्तीबाहेक उत्कृष्ट रह्‍यो ।

खेलपछि कुरा गर्दै कप्तान रोहितले ब्याटिङमा राम्रो योगफल बनेको र बलिङ कसिलो गर्न सके खेल जित्न सकिने मनोबल टिममा रहेकाले त्यही योजना अनुसार सफल भएको बताए ।

उनले सबै नेपाली समर्थकहरूलाई धन्यवाद पनि दिँदै आगामी दिनहरूमा पनि यस्तै समर्थन गरिरहन आग्रह गरे ।

नेपाली क्रिकेट टोली
लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय