
१३ असोज, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सबैको साझा उद्देश्य तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने रहेको बताएका छन् । चुनावमार्फत अगाडि बढेर देशलाई फेरि जननिर्वाचित प्रतिनिधिहरूकै नेतृत्वमा संविधानको रक्षा गर्नु रहेको उनको आग्रह छ ।
बडादशैं २०८२ को शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।
‘जेनजी पुस्ताको आन्दोलन र त्यसबाट विकसित नयाँ परिस्थितिका बीच आगामी फागुन २१ गते निर्वाचनको घोषणा भएको छ’ उनी लेख्छन्, ‘आन्दोलनले ल्याएको परिवर्तनसँगै सबै पक्षका बीचको एकताबाट तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने र देशलाई फेरि जननिर्वाचित प्रतिनिधिहरूकै नेतृत्वमा संविधानको रक्षा गर्ने चुनौती हामी सबैका सामु रहेको छ ।’
गत भदौ २३ र २४ गते जेनजीले गरेको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । प्रतिनिधि सभाबाट अर्को सरकार बन्न सक्ने अवस्था बनेन । त्यसपछि पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले गत भदौ २७ गते प्रतिनिधि सभा विघटन गरेका थिए । प्रतिनिधि सभाको अर्को चुनाव आगामी फागुन २१ गतेका लागि तोकिएको छ ।
उक्त मितिमा चुनाव गर्नुपर्ने र यसका लागि सबैको हयोग आवश्यक रहेको राष्ट्रिय सभाका अध्यक्ष दाहालले बताएक छन् । नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरूको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताका अपेक्षा पूरा गर्नुपर्ने दायित्व सबैसामु रहेको पनि उनको आग्रह छ ।
‘नेपाली जनतामा देखिएको निरासा, आवेग र अपेक्षालाई पूरा गर्न र राष्ट्रिय एकतासहितको समृद्ध र उन्नत राष्ट्र निर्माण गर्न योगदान गर्नु हामी सबैको दायित्व हो’ उनको शुभकामना सन्देशमा उल्लेख छ ।
पर्वले समृद्ध र समुन्नत नेपाल निर्माणमा एकताबद्ध भएर लाग्न प्रेरणा दिने विश्वास दिँदै उनले बडादशैंको शुभकामना सन्देश जारी गरेका हुन् ।
प्रतिक्रिया 4