News Summary
Generated by OK AI. Editorially reviewed.- तीन वर्ष प्रतिबन्धपछि मोहम्मद आदिल आलमले वेस्ट इन्डिजसँगको दोस्रो खेलमा चार विकेट लिएर राष्ट्रिय टोलीमा पुनरागमन गरे।
- आदिलले ब्याटिङमा एक छक्का र एक चौका प्रहार गर्दै पाँच बलमा ११ रन बनाएर आफ्नो छक्का हान्ने चाहना पूरा गरे।
- प्रतिबन्धको समयमा निरन्तर अभ्यास गरेका आदिलले आफ्नो दृढ संकल्पले राष्ट्रिय टोलीमा पुनः स्थान पाएको बताए।
१४ असोज, काठमाडौं । एउटा चर्चित नेपाली उखान छ ‘समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन’ भन्ने जसले समयको महत्त्व दर्शाउँछ । नेपालका युवा क्रिकेट खेलाडी मोहम्मद आदिल आलमको हकमा ठीक यही उखान मेल खान्छ ।
३ वर्षअघि स्पट फिक्सिङका कारण प्रतिबन्धमा परेका आदिलले विश्व च्याम्पियन टोलीविरुद्ध म्याच विनिङ प्रदर्शनको योगदान दिनेछन् भनेर सायदै कसैले सोचेको थियो ।
यो कुरा स्वयं आदिलले पनि सोचेका थिएनन् होला । ३ वर्षपछि जब प्रतिबन्ध फुकुवा भयो, उनी अझ खरो बनेर निस्किए र सोमबार भएको वेस्ट इन्डिजसँगको दोस्रो खेलमार्फत् राष्ट्रिय टोलीमा पुनरागमन गर्दै शानदार प्रदर्शन गरे ।
ब्याटबाट खासै योगदान दिने समय नपाएपनि आदिलले बलिङमा उच्च प्रदर्शन गरे । कप्तान रोहितले चारै ओभर बलिङ गराएका आदिलले चार विकेट नै निकालेर दिए । यही कुराबाट उनको प्रदर्शन कति दमदार रह्यो भन्ने बुझ्न सकिन्छ ।
पुनरागमन होस् त यस्तो
राष्ट्रिय टोलीमा ३ वर्षपछि स्थान पाएका आदिलले पहिलो खेलमा मौका पाएका थिएनन् । आदिलको भाग्य भनौं वा के भनौं, पहिलो खेलमा कम्मरको समस्या भोगेका पेस बलर नन्दन यादवको ठाउँमा सोमबार आदिलले खेल्ने मौका पाए ।
ब्याटिङमा एक छक्का र एक चौकासहित ११ रन बनाएका आदिलले बलिङमा भने शानदार प्रदर्शन गरे । कप्तान रोहितले आदिललाई एकै स्पेलमा तीन ओभर र त्यसपछि अर्को स्पेलमा एक ओभर गराए ।
करण केसी, सोमपाल कामीलगायत प्रमुख बलरहरूको ओभर बाँकी नै रहँदा पनि कप्तान रोहितले आदिललाई ४ ओभर नै बलिङ दिए । आदिलले पनि कप्तानलाई निराश बनाएनन् ।
उनले ४ ओभरमा २४ रन दिएर ४ विकेट लिए । फिल्डिङमा पनि एक क्याच लिए । वेस्ट इन्डिजजस्तो च्याम्पियन टोलीसँग यो किसिमको प्रदर्शन गर्नु पक्कै पनि चानचुने विषय होइन ।
आदिलले पुनरागमन गर्न पाउँदा धेरै खुसी लागेको बताए । ‘३ वर्ष भनेको धेरै लामो समय हो, यति लामो वर्षपछि फेरि मौका पाउँदा धेरै खुसी छु’ उनले खेलपछि भने ।
यसरी आदिलले टेस्ट राष्ट्रविरुद्ध नै खेल्न पाएको कुरा आफैंमा विशेष रहँदा पुनरागमनको मौकालाई पनि उत्कृष्ट ढंगले सदुपयोग गरे र नेपालको ऐतिहासिक शृंखला जितको हिस्सा बने ।
वेस्ट इन्डिजलाई छक्का हान्ने चाहना पूरा
यूएई जानुअघिको बिदाइ कार्यक्रमका बेला आदिलले वेस्ट इन्डिजका बलरलाई छक्का प्रहार गर्न कोसिस गर्ने उल्लेख गरेका थिए । ‘छक्का त हान्नेपर्छ, अरू कुनै विकल्प नै छैन, म राम्रो खेल्नेछु त्यस्तो अरु व्यक्तिगत इच्छा केही छैन धेरै’ आदिलले भनेका थिए ।
उनको सो इच्छा सोमबार राति पूरा भयो । ब्याटिङमा ५ बल मात्र खेल्न पाएको भएपनि उनले एक छक्का र एक चौका प्रहार गर्न भ्याए । अनुभवी काइल मेयर्सको फुल टसलाई आदिलले लेगसाइडमा छक्का प्रहार गरेका थिए ।
खेलपछि कुरा गर्दै उनले पाँच बलमा जति सक्दो रन प्रहार गर्ने योजनाले गएको बताए । ‘ब्याटिङ त मेरो अब १० ओभर पछि तलतिर नै आउँछ, जति बल पाए पनि धेरै रन जोड्न प्रयास गर्छु भन्ने थियो’ उनले भने ।
आसामसँगको सिरिजपछि राष्ट्रिय टोलीमा
आदिलको प्रतिबन्ध फुकुवा भएपछि उनलाई नेपाल ए को टोलीमा समावेश गरिएको थियो । आसामसँग भएको ५ खेलको शृंखलामा आदिलको प्रदर्शन राम्रो थियो ।
आदिलले उक्त सिरिजमा फिनिसिङको भूमिकासँगै पार्ट टाइम बलिङमा पनि योगदान दिए । आदिलले ५ खेलमा ८५ रन बनाएका थिए जुन विशेषत: फिनिसिङका बेला थियो । त्यस्तै बलिङमा ३ विकेट लिए ।
त्यहीँको प्रदर्शनबाट सन्दीप जोरा र आदिललाई वेस्ट इन्डिजसँग हुने ऐतिहासिक शृंखलाका लागि नेपालको अन्तिम टोलीमा समावेश गरिएको थियो ।
उक्त सिरिजले धेरै फाइदा पुगेको आदिलले बताए । ‘त्यही सिरिजका कारण म पनि फेरि राष्ट्रिय टोलीमा फर्कन पाएको छु, अरुले पनि राम्रो गर्नुभएको छ,’ उनले भने ।
प्रतिबन्धका बेला पनि निरन्तर अभ्यास
आदिल स्पट फिक्सिङ प्रकरणमा मुछिएको आरोपमा क्रिकेट गतिविधिबाट प्रतिबन्धमा परेपछि पनि खेल्न भने छाडेनन् ।
मौका पाए राष्ट्रिय टोलीबाट फेरि खेल्न अठोट लिएका उनले यसबीचमा पनि निरन्तर अभ्यास गर्थे, ब्याटिङ र बलिङमा निखार ल्याउँथे ।
यो कुरा उनले हिजोको खेलपछि पनि खुलाए । ‘मलाई एकदिन फेरि मौका पाइन्छ भन्ने आशा थियो, खेल्न छाडिनँ सधैं अभ्यास गरिरहें’ उनले भने ।
उनको यही दृढ संकल्पले उनलाई एकपल्ट फेरि राष्ट्रिय जर्सीमा खेल्ने मौका दियो र त्यसमा उनी खरो बनेर उत्रिए ।
‘टिममा कमब्याक कसरी गर्ने भनेर सोचिरहेको थिएँ, हार्ड हिटिङले मात्र कमब्याक हुँदैन भन्ने थाहा थियो’ उनले भने, ‘त्यो कठिन समयमा मैले आफुलाई व्यस्त राखें, धेरै नयाँ कुराहरू पनि सिकें।’
प्रतिक्रिया 4