
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा 'चाइना भ्लगर मिट २०२५' सम्पन्न भएको छ।
- कार्यक्रममा दुवै देशका डिजिटल क्रियेटरहरूले सांस्कृतिक कूटनीति सुदृढ गर्ने र पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल गरेका थिए।
- नेपाल पर्यटन बोर्डका निर्देशक सुनील शर्माले डिजिटल मिडियाले पर्यटन र सांस्कृतिक आदानप्रदान प्रवर्द्धनमा योगदान पुर्याउने बताए।
१४ असोज, काठमाडौं । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा सोमबार काठमाडौंमा ‘चाइना भ्लगर मिट २०२५’ सम्पन्न भएको छ ।
होटल क्राउन इम्पेरियलमा आयोजित कार्यक्रममा दुवै देशका डिजिटल क्रियेटर, इन्फ्लुएन्सर तथा स्टोरीटेलरहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाल–चीनबीचको सांस्कृतिक कूटनीति सुदृढ गर्ने, पर्यटन प्रवर्द्धन गर्ने तथा डिजिटल मिडियाद्वारा जनस्तरको सम्बन्धलाई बलियो बनाउन सकिने विषयमा छलफल भएको थियो ।
बागमती प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै नेपाल–चीन मित्रताको सात दशकमा डिजिटल क्रियटरहरूले निभाइरहेको भूमिकाको प्रशंसा गरे ।
उनले भने, ‘डिजिटल क्रियटरहरू हाम्रो समयका कथावाचक हुन्, जसले सांस्कृतिक समृद्धिलाई विश्वसामु पुर्याउँदै दुवै देशलाई अर्थपूर्ण तरिकाले जोडिरहेका छन् ।’
नेपाल पर्यटन बोर्ड (एनटीबी) का निर्देशक सुनील शर्माले पनि डिजिटल मिडियाले पर्यटन र सांस्कृतिक आदानप्रदान प्रवर्द्धनमा पुर्याउन सक्ने योगदानलाई औंल्याउँदै भने, ‘यो पहलले हाम्रो साझा प्रतिबद्धतालाई अझ सबल बनाएको छ र नयाँ अवसरहरूको ढोका खोलेको छ ।’
कार्यक्रममा एनटीबीका उपाध्यक्ष कमल सापकोटा, ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे र पर्यटन विज्ञ डा. आलोक प्रसाई लगायतको उपस्थिति रहेको थियो ।
चीनबाट आएका अग्रणी भ्लगरहरू लङ केयु, वाङ लिली, लेइ केक्सिन, ली लिवेई, झेङ डान, सियाङ रोंग, ली हुआगजियाङ, माई जुआन यु र मा युएले नेपाली समकक्षीसँग अनुभव आदानप्रदान गरे ।
उनीहरूले पर्यटन, जीवनशैली, संस्कृति तथा नवप्रवर्तन प्रवर्द्धन गर्ने सामग्री निर्माणमा सहकार्यका सम्भावनाबारे छलफल गरेका थिए ।
आयोजकका अनुसार, ‘चाइना भ्लगर मिट २०२५’ले नेपाल–चीनबीचको सांस्कृतिक आदानप्रदानलाई थप सशक्त बनाउँदै भविष्यमा डिजिटल सहकार्यलाई संस्थागत गर्न योगदान पुर्याएको छ ।
प्रतिक्रिया 4