
१४ असोज, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोला नजिक पुन: पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ ।
मंगलबार साँझ ७ बजेतिर फेरि इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलानजिक यसअघि कै स्थानमा पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले अनलाइखबरलाई जानकारी दिए ।
सडक विभाग अन्तर्गत सडक डिभिजन कार्यालय भरतपुरका अनुसार तुइन खोला नजिक पहिलेकै स्थानमा माथिबाट लेदो खसेको छ ।
कार्यालयका अनुसार अहिले प्राविधिक टोलीले जेसीबीसहितका मेसिन प्रयोग गरेर पहिरो पन्छाउने कार्यमा लागिसकेका छन् । ठूलो पहिरो नभएकाले केहीबेरमा सडक खुल्ने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सिंहले बताए ।
गत ३ असोजमा पहिरो खस्न सुरु भएको तुइन खोलामा त्यसयता पटकपटक सडक अवरुद्ध हुँदै आएको छ । दशैंका बेला गन्तब्यतर्फ हिँडेका यात्रु पहिरोका कारण सडकमै अलपत्र परिरहेका छन् ।
त्यसक्षेत्रमा लगातार हल्का वर्षा भइरहेका कारण तुइन खोलामा पहिरो खसिरहेको भीरबाट लेदो झर्न नरोकिँदा सडक छेकिएर सवारी आवागमन प्रभावित भइरहेको छ ।
प्रतिक्रिया 4