
News Summary
Generated by OK AI. Editorially reviewed.- ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली–२ जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश गरिएको छ।
- यो आयोजना हुम्ला जिल्लाको खार्पुनाथ र सर्केगाड गाउँपालिकामा बन्नेछ र लागत ७२ अर्ब ९० करोड ८० लाख रुपैयाँ अनुमान गरिएको छ।
- आयोजनाले ५६ घरधुरी प्रभावित पार्नेछ र सन् २०२६ मा सुरु भई २०३१ सम्म सकिने अनुमान छ।
१५ असोज, काठमाडौं । ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली–२ जलविद्युत आयोजनाको कार्यान्वयन अगाडि बढेको छ ।
ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले सो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ ।
यो आयोजना रुरु जलविद्युत परियोजनाले बनाउने तयारी छ । सुरुमा यो आयोजना सिचुआन वाङपिङ इनर्जी साइन्स एन्ड टेक्नोलोजीले पहिचान गरेको थियो । आयोजनाको अध्ययन पनि सोही कम्पनीले गरेको हो । पछि रुरु जलविद्युत परियोजनाका नाममा हस्तान्तरण गरियो ।
यो आयोजना हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकामा रहेको छ । हुम्ला कर्णाली २ जलविद्युत आयोजना नदीको बहावमा आधारित जलविद्युत आयोजना हो ।
बाह्रैमास हिम नदी बग्ने हुम्ला कर्णाली नदीमा आयोजना बनाउन लागिएको छ । यो कर्णाली नदी बेसिनको प्रमुख नदी मानिन्छ । आयोजनाको लागत ७२ अर्ब ९० करोड ८० लाख रुपैयाँ अनुमान गरिएको छ । आयोजनाको प्रतिमेगावाट लागत २१ करोड ७६ लाख रुपैयाँ हुने अनुमान छ ।
प्रतिवेदन अनुसार यस आयोजनामा दुई वटा डाइभर्सन सुरुङ बन्नेछन् । नदीको पिँधबाट ६२ मिटर अग्लो बाँध बनाइने छ । यो आयोजनाको कार्यान्वयनका लागि कुल ६१.०२ हेक्टर जमिन चाहिने अनुमान गरिएको छ । यसमध्ये निजी १३.९ हेक्टर जमिन पर्ने छ । बाँकी सरकारी/वन जग्गा रहेको छ ।
आयोजनाका कारण ५६ घरधुरी प्रभावित हुने छन् । यो आयोजना सन् २०२६ मा सुरु भई २०३१ सम्म सकिने अनुमान छ ।
आयोजना निर्माणका चरणमा औसत् १ हजार ८०५ जनशक्ति प्रतिवर्षले रोजगारी पाउने अनुमान छ । आयोजना सञ्चालनका चरणमा भने ११५ जनाले स्थायी रोजगारी पाउने प्रक्षेपण छ ।
प्रतिक्रिया 4