
१६ असोज, काठमाडौं । नयाँ खर्च विधेयक पारित गर्न असफल भएपछि अमेरिकी समयअनुसार बुधबार बिहानदेखि संयुक्त राज्य अमेरिकाको संघीय सरकार सटडाउन भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो सरकारको कामकाज चलाउनका लागि आवश्यक फन्डसँग सम्बन्धित विधेयक सिनेटबाट पास गराउन असफल भएका छन्।
योसँगै, धेरै गैर-अत्यावश्यक सरकारी कामकाज ठप्प भएका छन्, जसले गर्दा करिब साढे ७ लाख सरकारी कर्मचारीहरूलाई बिदामा पठाइएको छ। यिनीहरूमध्ये ३ लाख कर्मचारी बर्खास्तीमा समेत पर्न सक्छन् ।
ट्रम्पले संघीय कर्मचारीहरूको ठूलो मात्रामा सामूहिक रूफमा बर्खास्त गर्न बजेटको यो गतिरोधलाई प्रयोग गर्ने धम्की दिएका छन्।
सिनेटमा मंगलबार–बुधबार फन्ड विधेयकमा मतदानको क्रममा रिपब्लिकन र डेमोक्रेट सांसदहरूबीच तिक्ततापूर्ण बहस भएको थियो। उनीहरूले एकअर्कालाई सटडाउनका लागि जिम्मेवार रहेको भन्दै आरोपप्रत्यारोप गरे ।
१०० सदस्य रहेको सिनेटमा ५३ रिपब्लिकन, ४७ डेमोक्रेट र २ स्वतन्त्र सांसद छन्। दुवै स्वतन्त्र सांसदले विधेयकको समर्थनमा मतदान गरे। ट्रम्पको रिपब्लिकन पार्टीलाई विपक्षी डेमोक्रेट सांसदहरूको समर्थन आवश्यक थियो, तर डेमोक्रेट्सले विधेयकको विपक्षमा भोट हाले।
सटडाउनमा के हुन्छ ?
वासिङ्टनमा सरकारी सटडाउन पछि नेशनल आर्काइभ्सको अगाडि ‘बन्द’ को बोर्ड लगाइएको छ।
अमेरिकामा सरकारले हरेक वर्ष आफ्नो बजेट पास गराउनुपर्छ। यदि संसद् बजेटमा सहमत भएन भने विधेयक पास हुँदैन र सरकारलाई प्राप्त हुने पैसा रोकिन्छ।
यही कारणले केही सरकारी विभाग र सेवाहरूले पैसा पाउँदैनन्। गैर-अत्यावश्यक सेवाहरू बन्द गरिन्छन्। यसैलाई सरकारी ‘सटडाउन’ भनिन्छ।
रिपब्लिकन पार्टी सिनेटमा आज अबेर राति फेरि एक पटक फन्ड विधेयकमा मतदान गराउने तयारीमा छ। रिपब्लिकन नेताहरूले जबसम्म डेमोक्रेट्सले विधेयकलाई समर्थन दिँदैनन्, तबसम्म यो विधेयक हरेक दिन पेस गरिने बताएका छन्।
ट्रम्पले यस सटडाउनका लागि डेमोक्रेट्सलाई जिम्मेवार ठहराएका छन्। उनी पहिले नै सरकारी कर्मचारीहरूलाई जागिरबाट निकाल्ने धम्की दिइसकेका छन्।
सटडाउनले मुख्यतयाः गैर-अत्यावश्यक संघीय कर्मचारीहरू साथै सरकारी सेवाहरूमा निर्भर व्यक्तिहरू र व्यवसायहरूलाई असर गर्छ।
प्यू रिसर्च सेन्टरले रिपोर्ट गरेको श्रम तथ्याङ्क ब्यूरोको तथ्याङ्क अनुसार, संघीय सरकार राष्ट्रको सबैभन्दा ठूलो रोजगारदाता हो। नोभेम्बरसम्म यसमा ३० लाख भन्दा बढी कर्मचारीहरू थिए ।
एक आकलन अनुसार, यदि आर्थिक वर्ष २०२६ मा कोष रोकियो भने दैनिक लगभग ७ लाख ५० हजार संघीय कर्मचारीहरूलाई बिदामा पठाउनुपर्ने हुन्छ । उनीहरूले दैनिक ४० करोड डलर बराबर तलब गुमाउनेछन् ।
यसरी बिदामा पठाउने कामदारहरूको संख्या समयसँगै परिवर्तन हुन सक्छ किनभने केही निकायहरूले बन्द जति लामो हुन्छ, त्यति नै बढी बर्खास्ती गर्न सक्छन् भने अरूले केही कर्मचारीहरूलाई काममा फर्काउन सक्छन्।
विगतका सटडाउनहरूको अनुभव अनुसार, राष्ट्रिय निकुञ्ज र स्मारकहरू, संघीय सङ्ग्रहालयहरू, संघीय अनुसन्धान परियोजनाहरू, निश्चित सरकारी लाभहरूको प्रशोधन र आईआरएस करदाता सेवाहरू सबैभन्दा धेरै प्रभावित हुनेछन् ।
कुन सेवाहरू सञ्चालनमा रहन्छन् ?
बन्दको समयमा पनि धेरैजसो प्रमुख सरकारी कार्यहरू सञ्चालनमा रहन्छन्। सार्वजनिक सुरक्षा र कल्याणका लागि अत्यावश्यक रूपमा वर्गीकृत गरिएका कार्यालयहरू सञ्चालनमा रहन्छन् ।
त्यस्तै, केही सरकारी निकायहरू अन्य वार्षिक बजेट प्रक्रियाबाट अलग, अनिवार्य वा आत्मनिर्भर कार्यक्रमहरू मार्फत कोष प्राप्त गरेर सञ्चालनमा रहन्छन् । यस्ता कार्यालयहरूमा सामाजिक सुरक्षा र मेडिकेयर सेवाहरू, सेना र संघीय कानून प्रवर्तन, अमेरिकी हुलाक सेवा, हवाई ट्राफिक नियन्त्रण, अमेरिकी राहदानी निकाय लगायत रहेका छन् ।
किन भयो सटडाउन ?
अमेरिकाका दुई प्रमुख दल डेमोक्रेट र रिपब्लिकनबीच ओबामा हेल्थ केयर सब्सिडी कार्यक्रमलाई लिएर विवाद भएको थियो। डेमोक्रेट्स स्वास्थ्य सेवा (स्वास्थ्य बीमा) को सब्सिडी बढाउन चाहन्थे।
प्रतिक्रियामा रिपब्लिकनहरू सब्सिडी बढाइयो भने सरकारलाई खर्च गर्न थप पैसाको आवश्यकता पर्ने र यसले अन्य सरकारी कामहरू प्रभावित हुने डर रहेको बताउँछन् ।
सटडाउन रोक्नका लागि राष्ट्रपति ट्रम्प र डेमोक्रेटिक नेताहरूले सोमबार ह्वाइट हाउसमा बैठक गरेका थिए, तर त्यसबाट कुनै नतिजा निस्किएन।
ट्रम्पले के गर्न सक्छन् ?
सटडाउनको समयमा, ट्रम्प प्रशासनले व्यवस्थापन तथा बजेट कार्यालय (ओएमबी) मार्फत आवश्यक र गैर-आवश्यक सेवाहरूको छुट्याउन सक्छ।
उनले डेमोक्रेट्स समर्थित कार्यक्रमहरू जस्तै शिक्षा, वातावरण, स्वास्थ्य सब्सिडीलाई गैर-आवश्यक बनाउन सक्छन्, जबकि रक्षा र अध्यागमनलाई आवश्यकको दर्जा दिन सक्छन्। ट्रम्पले सटडाउनबाट धेरै राम्रा नतिजाहरू निस्कने बताएका छन् ।
सटडाउनलाई कारण देखाएर ठूलो संख्यामा मानिसहरूलाई जागिरबाट निकाल्न सकिन्छ। सन् २०२५ मा नै संघीय सरकारी निकायहरूमा कार्यरत ३ लाख जनशक्ति कटौती गरिसकिएको छ। यो ट्रम्प नीतिको हिस्सा हो ।
ट्रम्पले यसलाई डेमोक्रेट्समाथि दोष थोपर्नका लागि प्रयोग गरिरहेका छन्।
सानो सटडाउनले ट्रम्पलाई बढी फाइदा हुनेछ, किनकि उनी आफ्नो एजेन्डालाई अगाडि बढाउन सक्छन्, तर लामो समयसम्म लम्बिएमा आर्थिक नोक्सानले उनको छवि खराब हुन सक्छ।
सटडाउनको असर
सटडाउनपछि सरकारसँग खर्चका लागि पैसा हुनेछैन। यसले सरकारी कर्मचारीहरूलाई दिइने तलबदेखि लिएर अन्य सबै खर्च रोकिनेछन्।
सटडाउन हुँदा अमेरिकी सरकारले आफ्नो खर्चमा कटौती गर्नुपर्ने हुन्छ। यद्यपि, आपतकालीन सेवाहरू जस्तै– मेडिकल सेवा, सीमा सुरक्षा र हवाई सेवाहरू जारी रहनेछन्।
सटडाउन कति पटक भएको छ ?
अहिलेको अमेरिकी बजेट प्रक्रिया सन् १९७६ बाट सुरु भएको हो । विगत ५० वर्षमा फन्ड विधेयक अड्किएका कारण २० पटक सटडाउन भएको छ। ट्रम्पको अघिल्लो कार्यकालमा नै ३ पटक सरकारले सटडाउनको सामना गर्नुपरेको थियो।
सन् २०१९ को सटडाउन सबैभन्दा बढी ३५ दिनसम्म चलेको थियो, जसमा अमेरिकी अर्थव्यवस्थालाई ठूलो आर्थिक व्यय भएको थियो ।
ट्रम्प र डेमोक्र्याटिक राजनीतिज्ञहरूबीच मेक्सिको–अमेरिका सीमामा पर्खाल निर्माणका लागि राष्ट्रपतिले मागेको ५ अर्ब डलरको कोष बारे गतिरोध उत्पन्न भएपछि यस्तो भएको थियो, जसलाई डेमोक्र्याटहरूले विरोध गरेका थिए।
सटडाउनको समाधान कसरी हुन्छ ?
यस्ता सटडाउनहरू सामान्यतयाः कांग्रेसले अन्तरिम खर्च विधेयक पारित गरेर समाधान हुन्छन्, जसले दीर्घकालीन बजेटको वार्ता चलिरहँदा छोटो अवधिको लागि कोष उपलब्ध गराउँछ।
सन् १९९० यता, प्रत्येक सटडाउन अन्तरिम खर्च विधेयक पारित गरेर अन्त्य भएको छ।
प्रतिक्रिया 4