
काठमाडौं । अहिले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । अहिले खासगरी मधेशदेखि कर्णाली प्रदेशसम्मका जिल्लाहरुमा वर्षा भइरहेको छ । पानी पर्ने क्रम कम्तिमा २० गतेसम्म जारी रहने पूर्वानुमान छ ।
हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेकाले पानी परिरहेको हो । भारतको बिहार, उत्तर प्रदेश हुँदै नेपालमा प्रवेश गरेको बादलको बाहिरी घेराको असरले नेपालमा पानी परेको हो ।
मौसमविदले नेपालमा अर्को एउटा मौसमी प्रणाली पनि भित्रिने र त्यसले पनि केही क्षेत्रहरूमा अत्यधिक वर्षा गराउने संकेत देखाएको बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।
त्यसैगरी आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा तथा मधेश प्रदेशलगायत लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
उच्च सतर्कता अपनाउन आह्वान
पानी पार्ने यो बादल लुम्बिनीको पूर्वी भागदेखि कोशी प्रदेशसम्मै पुगेको छ । भारी वर्षा गराउने बादल नेपालको दक्षिणी भागमा केन्द्रित छ । खासगरी हेटौंडादेखि ललितपुर र आसपासमा मध्यम वर्षा जारी रहने पूर्वानुमान छ ।
अविरल वर्षासँगै बाढी पहिरो र डुबानको खतरा रहेको भन्दै सरकारले सबैलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको छ । लामो दुरीको यात्रा सकेसम्म नगर्न भनिएको छ ।
सडक विभागले विशेषगरी मुग्लिङ–नारायणगढ सडक, मुग्लिङ–गोरखा सडक, बिपी राजमार्ग, अरनिको राजमार्ग, त्रिभुवन राजपथ, गल्छी–स्याफ्रुबेसी सडक अवरुद्ध हुन सक्ने भन्दै यी स्थानहरूमा रातिको समयमा यात्रा गर्न रोक लगाएको छ ।
प्रतिक्रिया 4