+
+
Shares

राष्ट्रपतिविरुद्ध फेसबुकमा लेखेको भन्दै ट्युनिसियामा एक मजदुरलाई मृत्युदण्ड सुनाइयो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते ८:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ट्युनिसियाली नागरिक साबेर चोउचानेलाई राष्ट्रपति विरुद्ध अपमानजनक टिप्पणी गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ।
  • ट्युनिसियन लिग फर ह्युमन राइट्सका अध्यक्ष र उनका वकिलले यो फैसलालाई अचम्मलाग्दो र अभूतपूर्व भनेका छन्।
  • राष्ट्रपति कैस सइदले सन् २०२१ मा अधिकार आफ्नो हातमा लिएपछि अभिव्यक्ति स्वतन्त्रतामा कडाइ बढेको छ।

१८ असोज, काठमाडौं । एक ट्युनिसियाली नागरिकलाई राष्ट्रपति विरुद्ध अपमानजनक टिप्पणी गरेको भन्दै मृत्युदण्डको सजाय सुनाइएको छ । समाचार संस्था रोयटर्सका अनुसार, उनीमाथि सामाजिक सञ्जालमार्फत राज्य सुरक्षामाथि आक्रमण गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको छ ।

ट्युनिसियन लिग फर ह्युमन राइट्सका अध्यक्ष र उनका वकिलले शुक्रबार दिएको जानकारी अनुसार, यो फैसलालाई अचम्मलाग्दो भनिएको छ । राष्ट्रपति कैस सइदले सन् २०२१ मा लगभग सबै अधिकार आफ्नो हातमा लिएपछि अभिव्यक्ति स्वतन्त्रतामाथि कडाइ हुँदै गएको छ ।

मृत्युदण्ड पाउने व्यक्ति ५६ वर्षीय दैनिक ज्यालादार मजदूर साबेर चोउचाने हुन् । उनका वकिल उस्सामा बुथाल्जाले रोयटर्सलाई बताएअनुसार, उनी सामान्य नागरिक हुन् । औपचारिक शिक्षा कम भएका उनले पक्राउ पर्नुअघि केवल राष्ट्रपति विरुद्ध आलोचनात्मक पोस्ट लेख्दै आएका थिए ।

‘नाबेउल अदालतका न्यायाधीशले फेसबुक पोस्टका कारण उनलाई मृत्युदण्ड सुनाए । यो चकित पार्ने र अभूतपूर्व फैसला हो,’ बुथाल्जाले भने ।

फैसला विरुद्ध पुनरावेदन गरिएको छ । त्यहाँको न्याय मन्त्रालयले यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

ट्युनिसियाली अदालतहरूले कहिलेकाहीँ मृत्युदण्ड सुनाए पनि, विगत तीन दशकदेखि कुनै पनि सजाय कार्यान्वयन भएको छैन ।

‘हामी विश्वास गर्न सकिरहेका छैनौँ,’ साबेरका भाई जमाल चोउचानेले रोयटर्सलाई टेलिफोनमा भने, ‘हामी गरिबीले पीडित परिवार हौँ, अब गरिबीसँगै दमन र अन्याय पनि थपिएको छ।’

फैसला सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा कार्यकर्ता र साधारण ट्युनिसियालीबीच आलोचना र व्यंग्यको लहर फैलिएको छ ।

धेरैले यसलाई राष्ट्रपति सइदका आलोचकहरूलाई डराउन खोजिएको कदम भन्दै यस्ता कठोर निर्णयहरूले अभिव्यक्ति स्वतन्त्रता अझै दबाउने र राजनीतिक तनाव बढाउने चेतावनी दिएका छन् ।

सइदले निर्वाचित संसद् विघटन गरी अध्यादेशद्वारा शासन गर्न थालेयता, न्यायपालिकाको स्वतन्त्रता कमजोर भएको भन्दै अधिकारकर्मीहरूले आलोचना गर्दै आएका छन्। विपक्षी दलहरूले सैयदको कदमलाई ‘कू’ भनेका छन् ।

राष्ट्रपतिले ‘देशद्रोही’ भनेका अधिकांश विपक्षी नेताहरू अहिले विभिन्न मुद्दामा जेलमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?