
१८ असोज, काभ्रेपलाञ्चोक । शनिबार बिहान ९ बजेदेखि सोमबार रातीसम्म बीपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुण्डेबेशी–सिन्धुली सडक खण्डमा आवतजावत गर्ने सबै सवारी साधनलाई रोक लगाइएको छ ।
जिल्ला सुरक्षा समिति काभ्रेको आकस्मिक बैठकले वर्षात र बाढी पहिरोबाट सवारीसाधन र यात्रुलाई हुनसक्ने जोखिम रोक्न उक्त निर्णय गरेको हो ।
सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधनको आवागमन निषेध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिवार विहान प्रकाशित लामो दूरीका र काठमाण्डौं उपत्यका भित्रिने/बाहिरिने सवारी साधन आवतजावत बन्द गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना अनुसार सवारी साधनको आवागमन निषेध गर्ने जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकले निर्णय गरेको हो ।
बैठकले यात्रामा निस्कनु भएका यात्रुहरु सुरक्षित स्थानमा रहनु हुन, बीपी राजमार्गबाट यात्रा नगरिदिनु हुन र अत्यावश्यक काम बाहेक आफ्नो निबासबाट ननिस्कन समेत अनुरोध गरेको छ ।
विभिन्न खहरेखोलाबाट आएको लेदोको कारण चारसय बेशी, पिन्थली, विरुवाडाँडा, कालढुंगामा राजमार्ग अवरुद्ध छ भने डालावेशी देखि माम्ति सम्म धेरै स्थानमा ढुंगा झरेको कारण राजमार्ग अवरुद्ध छ ।
अहिलेपनि ढुंगा झर्न नरोकिएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक इश्वर कार्कीले जानकारी दिए ।
प्रतिक्रिया 4